Logo
|
Sunday 5th May 2024
Logo

epaper

एयरपोर्टमा छोरी, कोमामा पत्नी



राष्ट्रिय ट्रमा सेन्टरको पाँचौं तला। पश्चिमतिरको न्युरो स्पाइनल वार्डको कुनामा बेड नम्बर ५१४ छ। उपचार गर्न या बिरामी भेट्ने उद्देश्यले त्यहाँ जानेहरूले अवश्य देख्छन्— एक जना छटपटाइरहेकी महिला। उनी हुन्— चेली तामाङ (३८)। धेरैजसो समय नजिकै भेटिन्छन्, पत्नी स्याहारिरहेका वसन्त शाही (३५)।

चेलीले स्याहारमा खटिरहेका पतिलाई बेलाबेला भनिरहने वाक्य हो— ‘मलाई मारिदेऊ।’

तर, आफ्नी पत्नीलाई मार्ने कुरा वसन्त सुन्नसम्म पनि सक्दैनन्।

आँखाको चेपबाट आँसु बगाइरहेकी चेलीको अवस्थाले वसन्तको गला अवरुद्ध हुन्छ। बारम्बार। मन त्यसै त्यसै हुँडलिएर आउँछ। सन्चो हुन्छ भन्दै पत्नीलाई उनी ढाडस दिन्छन्। तर पत्नीले नदेख्ने गरी कुनातिर फर्केर आँसु पुच्छन्।

भेन्टिलेटरको भरमा श्वास फेरिरहेकी चेलीले बेड नम्बर ५१४ मा मात्र दुई वर्ष बिताइन्। हरदम उनलाई पतिको सहारा छ।       श्रीमान्ले नै जीउ पुछिदिन्छन्। समयसमयमा मालिस पनि गरिदिन्छन्। खुट्टा मोल्छन्। दिसा पुछिदिन्छन्। तीन वर्ष जेठी पत्नीको स्याहारसुसारमा कुनै कमी हुन दिएका छैनन् उनले।

कमाउन मलेसिया गएका वसन्त चार वर्षपछि घर फर्किने तयारीमा थिए। टेलिफोनमा चेलीले भनेकी थिइन्, ‘मलेसियाबाट लुगा किनेर ल्याउनुपर्दैन। महँगो किन्नुभन्दा यहीँ नै सबै गएर किनौंला।’ मलेसियामा उनी डिमार्टमेन्टल स्टोरमा काम गर्थे। चार वर्षको अवधिमा झन्डै २० लाख कमाए। जम्मै पैसा नयाँ संसार बसाउने भन्दै घर पठाइदिए।

घर फर्किने दिन आउँदै थियो। सात दिनअघि ०७३ चैत १७ गते पत्नीलाई टेलिफोनमा अह्राएको झल्झली सम्झिरहेका छन्, वसन्त। ‘एयरपोर्टमा छोरीलाई लिएर आउनू’, उनले पत्नीलाई भनेका थिए।

तर उनी त्रिभुवन विमानस्थलमा ओर्लंदा छोरी र साली निर्जला घिसिङ ठिंग उभिएका थिए। बुबालाई चिन्नेबित्तिकै आठवर्षीया आलियाले गम्लंग अँगालो हालिन्। उनले छोरीको निधारमा म्वाइ खाए। आँखामा टलपलाएको आँसु पुछे। एक साताअघि मात्र उनले एयरपोर्टमा स्वागतका लागि चेली र छोरीलाई देख्ने चाहना राखेका थिए।

तर दुर्घटनामा परेका कारण पत्नीलाई उनले एयरपोर्टमा देख्न पाएनन्। काठमाडौं एयरपोर्टबाट बाहिरिएका के थिए, ट्याक्सी चढेर सालीको डेरामा पुगे। पानी खाए। दुर्घटनामा परेकी पत्नीको सबै हालखबर बुझे। तत्कालै नर्भिक इन्टरनेसनल अस्पताल पुगे।

अस्पतालको कोमामा रहेकी पत्नी अर्धचेत थिइन्। उनलाई जीउ फुलेकी पत्नी चिन्न सकस भयो। शारीरिकसँगै मानसिक रूपमा पनि पत्नी अस्वस्थ हुने त होइनन् ?       उनको मनमा चिसो पस्यो।

अधुरो सपिङ सपना

पति फर्किएपछि सपरिवार सपिङको योजना बनाएकी थिइन् चेलीले। त्यसैले दिदी शान्ति तामाङसँग उनी आमा समूहमा पुगिन्। आमा समÒहबाट ५० हजार मागिन्। कोटेश्वर, जडिबुटीस्थित डेरा फर्किन लाग्दा नयाँ बानेश्वरको जेब्रा क्रसिङ नजिकै ०७३ चैत २४ गते अपराह्न सवा दुई बजे बा ६५ प ७५४९ नम्बरको मोटरसाइकलले ठक्कर दियो। लडिन्। साथमा रहेको ५० हजार रुपैयाँ पनि हरायो। मोटरसाइकलको पांग्राले उनको घाँटी च्याप्यो। प्रत्यक्षदर्शीले चेलीलाई नर्भिक इन्टरनेसनल अस्पताल लगिदिए।

त्यही बेलाको आसपासतिर मलेसियामा रहेका वसन्तको हातमा स्वदेश फर्कने हवाई टिकट आयो। टिकट हात पर्नेबित्तिकै खुसी साट्न पत्नीलाई फोन गरिहाले। तर फोन स्विच अफ आयो। उनलाई शंका लाग्यो। विदेश गएका श्रीमान्का पत्नीहरू अर्कैसँग भाग्ने गरेको उदाहरण उनले सुनेका थिए। घरमा पठाएको २० लाख लिएर पत्नी अर्कैसँग भागिन् कि ? उनले आशंका गरे। तत्कालै साली निर्जलालाई फोन गरे।

उनले भनिन्, ‘घर आउन लागेको मान्छेलाई नराम्रो खबर भन्ने मन थिएन। दिदी दुर्घटनामा परेर अस्पताल हुनुहुन्छ।’ खबर सुनेलगत्तै सपना चकनाचुर भएको महसुस गरे, वसन्तले। केही बेर रोए। भारी मन गराउँदै स्वदेश फर्किए। एक साताअघि कुरा गरेकी पत्नीलाई अस्पतालको शड्ढयामा गई भेट गरे।

डाइपर धुँदै लगाइदिँदै

चेलीको टाउको, घाँटीलगायत विभिन्न भागमा चोट देखिन्थ्यो। ‘दुर्घटना भएको पाँच दिनपछि भेट्दा नचिनिने भएकी थिइन्’, वसन्तले विगत सम्झिए, ‘हातखुट्टा र जीउ फुलेको थियो। अस्पतालको कुनामा रुनुबाहेक विकल्प थिएन।’

नर्भिकमा चेलीको ४२ दिन उपचार भयो। फुलेको जीउ घट्दै गयो। जीउ सानो हुँदै गयो। दुर्घटना गराएका पीडक पक्षका आफन्त आएर उपचारस्वरूप १५ लाख खर्च दिए। त्यसपछि उनीहरू फर्किएनन्। उपचारमा लागेको बाँकी झन्डै २० लाख आफंै तिरेको वसन्त सुनाउँछन्।

डाक्टरले भनेबमोजिमको औषधि खरिद गर्न नसकेपछि उनी बेखर्ची बने। पत्नीलाई डाइपर फेराइरहनुपर्छ। तर त्यसका लागि उनीसँग पैसा भएन। ‘ डाइपर फेराउने पैसा नहुँदा पहिला लगाइसकेको डाइपर दुई÷तीन पटक धोएर पनि लगाइदिएँ’, उनले भक्कानिँदै सुनाए।

औषधि खरिद गर्ने पैसा पनि भएन। पैसाका लागि जुत्ताचप्पलका बोरा उठाउन थाले। भरिया बनेर काम गर्दा मालिकको मन पग्लियो। १५ सय रुपैयाँ दिए। पत्नीका लागि औषधि पनि थोरैथोरै किन्न थाले। यो दयनीय अवस्था देखेका चिकित्सकले राष्ट्रिय चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ट्रमा सेन्टरमा लैजान सुझाए।

सहारा भेन्टिलेटर

०७४ साल जेठ ८ गते चेलीलाई ट्रमा सेन्टर ल्याइयो। दुई सय आठ दिन आईसीयूमा राखियो। अहिले त्यहाँबाट निकालेर भेन्टिलेटरमा उनको उपचार भइरहेको छ। हरेक दिन घाउ सफा गर्न ड्रेसिङ गर्नुपर्छ। तर उनले नर्सहरूलाई डे«सिङ गर्न दिँदैनन्। आफैं अघि सर्छन्। कोल्टे फेराउँछन्। के कस्तो छ ? पत्नीलाई सोध्छन्।

पत्नीलाई उनले गरेको माया र स्याहार देखेर नर्सहरू अचम्ममा पर्छन्। ‘पत्नी बिरामी हुँदा एकदुई दिन स्याहार गर्ने र पछि हैरान हुने लोग्नेहरू धेरै छन्। तर दुई वर्षसम्म दिनरात नभनी माया र स्याहार गर्ने यस्ता श्रीमान् पनि हुँदा रहेछन्’, एक नर्सले सुनाइन्।

पत्नीलाई हेरविचार गर्नुपर्ने भएकाले उनी मस्तसँग नसुतेको दुई वर्ष पुग्यो। चाडपर्व उनले अस्पतालमै मनाए। यसै वर्ष पत्नीले मेरो जन्मदिन हो भनेपछि केक ल्याएर शड्ढयामै काटे। ‘शिशुझैं ठानेर पत्नीको स्याहार गर्नुपर्छ। बेलाबेखत आफैं जानेर खाना खुवाउनुपर्छ’, वसन्त भन्छन्।

पिसाब फेर्न साइडमा थैली झुन्ड्याइएको छ। दिसा गर्दा कन्न गाह्रो हुने भएकाले वसन्तले पत्नीको मलद्वारमा मल्हम लगाइदिन्छन्। ‘दुर्घटना गराउने व्यक्तिसँग पैसा छैन भने पनि के छ, कस्तो छ भनेर सोध्न त सक्थे नि। एक दिन मात्रै कुरिदिएको भए पनि सुत्न पाउँथें’, वसन्त भन्छन्, ‘मुड फ्रेस त हुन्थ्यो।’

पक्षघात जिन्दगी

चेलीको श्वास फेर्ने नली थिचिएको छ। ‘जहाँबाट श्वास नली आउने हो, त्यहीँ थिचिएको छ। नलीले काम नगरेपछि भेन्टिलेटर राख्नुपरेको हो’, ट्रमा सेन्टरका कन्सल्टेन्ट न्युरो सर्जन डा. राजेन्द्र श्रेष्ठले भने।

उनले भेन्टिलेटरबाट श्वास फेर्छिन्। दुई वर्षदेखि यो सुविधा उनले ट्रमा सेन्टरमा पाएकी छिन्। पत्नी भेन्टिलेटरमा बसिरहँदा अन्य बिरामीलाई मर्का नपरोस् भनेर वसन्त भगवान्सँग पुकारा गर्छन्। ‘भेन्टिलेटरसहितका बेड थोरै छन्।

मेरी पत्नीका कारण अरू बिरामीलाई उपचारमा अप्ठ्यारो नहोस् भनेर वार्डमा सार्न आग्रह गरेको छु’, उनले भने, ‘पत्नी मेरै काखमा मरे पनि ठीकै छ भनेको छु। तर नर्सहरूले अहिले समस्या छैन। यहीँ राखेर उपचार गरौं भन्नुभएको छ।’

चेलीको उपचारमा लागि नेपाल मात्र नभई भारतबाट समेत भारतबाट समेत सर्जनहरू झिकाएर प्रयास गरिएको थियो। ‘उपचारमा सक्ने जति प्रयास गरेका छौं। अझै पनि थप सल्लाह गर्छौं’, डा.श्रेष्ठले भने।

लाखौं मिनाहा

ट्रमा सेन्टरको सामाजिक सेवा इकाइका प्रमुख अर्जुनप्रसाद भेटवालका अनुसार चेलीलाई झन्डै ६ महिनासम्म ट्रमाको आईसीयूमा राखेर उपचार गरिएको थियो। ‘आईसीयूको मात्र शुल्क लिने हो भने ६ लाख २४ हजार पुग्छ। तर अति विपन्न भएकाले मिनाहा भयो’, उनले भने।

अस्पतालले १० प्रतिशत शड्ढया निःशुल्क शड्ढयाका रूपमा छुट्याएको छ। जसमध्येको एउटा शड्ढयामा चेलीको उपचार भइरहेको छ। विपन्न नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत एक लाख रुपैयाँसम्मको उपचार सहुलियत चेलीलाई उपलब्ध गराइएको भेटवालले जानकारी दिए।

‘उपचार गर्दागर्दै सबै सकिएछ। भेन्टिलेटर झिक्ने हो भने उनी बाँच्दिनन्। मानवताका आधारमा पनि भेन्टिलेटरसहित औषधोपचार गरिरहेका छौं’, उनले भने।

अस्पतालमा शल्यक्रिया र औषधोपचार सबै गर्दा चेलीका लागि मात्र झन्डै १० लाख रुपैयाँ खर्च भएको छ। ट्रमा सेन्टरले गरेको आम्दानीको १० प्रतिशत अतिविपन्न बिरामीको उपचार खर्चमा प्रयोग गरिन्छ। सोही प्रावधानअनुसार चेलीका लागि खर्च भएको सबै मिनाहा हुन्छ। अहिले निःशुल्क बेडमा राखेर उपचार भइरहेको छ।

त्यसअघि नर्भिकमा उपचार गराउँदा झण्डै ४० लाख खर्च भएको वसन्तको भनाइ छ। उपचारमा मोटरसाइकल चालक पक्षले १५ लाख दिएको दाबी गरेका छन्। पीडाको आलो अवस्थामा उनले हिसाबकिताब राखेनन। ‘एकमुष्ट रूपमा पाँच लाख दिएका हुन्। अरु बेला ५० हजार, ६० हजार दिएका हुन्। सबै गरेर १५ लाख दिएको भन्दै दाबी गरेका थिए। त्यसपछि आएनन्’, वसन्तले भने।

केही थप रकम जुटाउन सके पत्नीको शल्यक्रिया गर्ने वसन्तको सोच छ। ‘२० लाख रुपैयाँ जुटाउन सके शल्यक्रिया गर्न सकिन्छ भनेर डाक्टरले भन्नुभएको छ’, उनले भने, ‘त्यसपछि पनि पत्नीलाई ठीक होला भन्ने निश्चित त छैन। तैपनि शल्यक्रिया गर्ने मन छ।’

२०६३ साल वैशाख १ गते उनले लभ म्यारिज गरेका हुन्। दुई वर्ष लामो प्रेमपछि आफूभन्दा तीन वर्ष जेठी पत्नीलाई घर भिœयाएका उनलाई छोरी जन्मिएपछि पत्नीले नै डेढ लाख ऋण खोजेर विदेश जान सघाएकी थिइन्।

पत्नीलाई प्रेमपर्ण स्याहार गरेको देखेर वरपरका व्यक्ति पनि चकित छन्। ‘कतिपयले त अब सन्चो हुँदैन। अर्की बिहे गरे हुन्छ। यस्तो दुःख गरेर स्याहार्नु भन्दा त… समेत भने’, वसन्तले भने।

पतिपत्नीको सम्बन्ध नै दुःखका बेला परीक्षण हुने उनको भनाइ छ। ‘पतिलाई पत्नी र पत्नीलाई पति चाहिने भनेको सुखभन्दा पनि दुःखको बेला हो। दुःखको बेला पतिले पत्नीलाई र पत्नीले पतिलाई साथ नदिनुपाप हो’, उनले भने।  छोरी आलिया आमा आउने बाटो कुर्दैै सानिमाको घरमा बसिरहेकी छिन्।

हदम्याद कटाउन प्रहरीको मिलेमतो

लाइसेन्सबिनाका चालकले चलाएको मोटरसाइकलले ठक्कर दिएपछि भएको दुर्घटनामा प्रहरी मूकदर्शक बन्यो। दुर्घटनालगत्तै मुद्दाको कारबाही अघि बढाउन आनाकानी पनि ग¥यो। ‘मुद्दा अघि बढाएर अदालत जाने कि भनेर सोध्दा उल्टै प्रहरीले अहिले अदालत जानुपर्दैन भन्यो। पैसा दिएर सहयोग गर्छन् भन्यो। पछि मात्र थाहा पायौं, ९० दिन कटेपछि अदालतमा मुद्दा चलाउन नपाइने रहेछ’, उनले भने।

९० दिन नपुग्दासम्म कहिले पाँच हजार त कहिले १० हजार गर्दै पीडक पक्षले रकम दिएको उनले बताए। ‘नर्भिक अस्पतालमा हुँदासम्म बेलाबखत आइरहे पनि हदम्याद कटिसकेपछि बेवास्ता भएको उनले गुनासो गरे।

लाइसेन्सबिनाका चालक

आफन्तको मोटरसाइकल कुदाएका चालक सुगम पन्थी लाइसेन्स नभएको पीडितको दाबी छ। ‘एक पटक पनि कस्तो छ अवस्था भनेर सोध्न आएका छैनन्’, वसन्तले भने, ‘पूरै बेवास्ता गरियो। यसमा चित्त दुखेको छ।’

प्युठानका ती चालक परिवार र प्रहरीसँगको मिलेमतोमा मुद्दा अघि नबढाइएको उनको आरोप छ। तैपनि उनले न्याय पाउने आशा मारेका छैनन्। ‘दोषीलाई कारबाही र पत्नीलाई पनि उपचारमा सहयोग हुन्छ कि भन्ने आशा छ’, वसन्तले भने।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा दुर्घटना गराएको मोटरसाइकल छ। त्यसैका आधारमा मोटरसाइकल चालकलाई बोलाएर थप बयान लिई अनुसन्धान गर्ने प्रहरीको आश्वासन छ।अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्