Logo
|
Sunday 5th May 2024
Logo

epaper

आयुर्वेद केन्द्र बजेट अभाव झेल्दै



बजेटको अभावमा सिरहास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रभावहीन बन्दै गएको छ । दक्ष जनशक्ति र भौतिक संरचना भए पनि बजेट अभाव हुँदा केन्द्रले प्रभावकारी सेवा दिन नसकेको हो ।केन्द्रका प्रमुख डा. सन्तोषकुमार ठाकुरका अनुसार योग र आयुर्वेदिक औषधिको प्रचार प्रसारले आयुर्वेदिक उपचार पद्धतिमा रुचि बढेको छ । तर, केन्द्रमा औषधिका लागि वार्षिक रूपमा सरकारले दिने बजेट न्यून हुँदा समस्या परिरहेको छ । ‘केन्द्रमा कार्यरत एक चिकित्सक, चार कविराज वैद्य र एक कार्यालय सहायकसहित पाँचजनाको तलब भत्ता नगरपालिकाले खुवाउँछ,’ डा. ठाकुरले भने, ‘त्यसबाहेक वार्षिक रूपमा आउने तीन लाख रुपैयाँको औषधिले धान्दैन ।’केन्द्रमा दैनिक २० जनासम्म बिरामी जँचाउन आउने गरेको कविराज निरीक्षक दामोदर झाले बताए । ‘केन्द्रका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद विभागबाट आउने औषधि पुग्दैन,’ उनले भने, ‘बिरामीको संख्याअनुसार केन्द्रलाई कम्तीमा वार्षिक १५ लाखबराबरको औषधि चाहिन्छ । तर, तीन लाख मात्र आउने हुँदा अभाव हुने गरेको छ ।’ज्येष्ठ नागरिक र महिलाका लागि छुट्टै बजेट
केन्द्रमा दम, श्वासप्रश्वास, मधुमेह, अम्लपित्तजस्ता रोगले थलिएर एलोपेथिक उपचार पद्धतिबाट दिक्क भएका ज्येष्ठ नागरिक र बच्चालाई दूध चुसाउने महिलाका लागि छुट्टै बजेट र कार्यक्रम रहेको कविराज निरीक्षक झाले बताए । ज्येष्ठ नागरिक र महिलासहित केन्द्रमा उपचार गर्न आउने नाम दर्ताको १० रुपैयाँबाहेक सबै उपचार निःशुल्क हुने र उपचार पनि प्रभावकारी हुने भएकाले दिनहुँ बिरामीको संख्या बढिरहेको उनले जानकारी दिए ।

‘औषधिका लागि बजेट बढाउन पटक–पटक विभागलाई गुहार्‍यौँ, तर सुनुवाई हुन सकेन,’ प्रमुख डा. ठाकुरले भने । केन्द्रमा थप बजेट नहुँदा प्रयोगशाला, शरीर शुद्धीकरणका लागि पञ्चकर्म र बिरामीको संख्याअनुसार १० शय्याको अन्तरंग विभाग सञ्चालन गर्न नसकेको उनले गुनासो गरे । ‘दैनिक आउने अम्लपित्त, बाथ, पाइल्स, महिलाको सेतो पानी बग्ने, श्वासप्रश्वासका बिरामीको जाँच गरी न्यूनतम औषधि दिएर पठाउने गरेका छौँ,’ उनले भने । केन्द्रमा सिरहा सदरमुकाम र वरिपरिका गाउँसहित पूर्वी धनुषा र छिमेकी मुलुक भारतको सीमावर्ती बजार जयनगर, कमलावाडीबाट पनि बिरामी आउने गरेका छन् । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्