Logo
|
Sunday 5th May 2024
Logo

epaper

परिवारमै पनि खुल्दैनन् एचआइभी संक्रमित



सिरहाको धनगढीमाई नगरपालिकाको एक गाउँका करिब ३१ वर्षीय युवक वैदेशिक रोजगारीमा मलेसियामा रहँदा एचआइभी संक्रमित भएर घर फर्किए  । तर, उनले श्रीमतीलाई बताएनन् । एक छोरा र एक छोरीका अभिभावकसमेत रहेका उनले आफू संक्रमित रहेको कुरा श्रीमतीलाई नबताउँदा श्रीमतीमा सर्ने जोखिम बढेको भए पनि खुल्न र एआरटी सेन्टरसमेत जान नमानिरहेको यौनिक अल्पसंख्यकको अधिकार तथा एचआइभीविरुद्ध काम गरिरहेको जीवनज्योति समाजको भनाइ छ ।

यस्तै, सिरहाको नरहा गाउँपालिका क्षेत्रका करिब ४५ वर्षीय एक पुरुष रोजगारीको क्रममा भारतको पञ्जावबाट फर्किंदा संक्रमित भएर घर फर्किए । घरमा रहेकी श्रीमतीलाई आफू संक्रमित भएको कुरा ढाँटेर सँगै रहँदा एक छोरी जन्मिइन्, तर संक्रमित । छोरी जन्मिएको केही दिनमै महिलाको मृत्यु भयो । त्यसलगत्तै उनले पुनः अर्की महिलासँग विवाह गरेर पुनः संक्रमित बनाए । केहीअघि ती पुरुषको मृत्यु भयो । जेठी पत्नीबाट जन्मिएकी संक्रमित छोरी पछिल्लो समय एचआइभी एड्सविरुद्धको एआरटी सेवन गरिरहेकी छिन् ।

यी त्यस्ता घटना हुन् जसले समाजको पछिल्लो अवस्था बताउँछ । संक्रमित व्यक्तिसँगको असुरक्षित यौन सम्पर्क, रगत तथा रगतजन्य पदार्थको सम्पर्क तथा संक्रमित गर्भवती आमाबाट संक्रमित भएका सकेसम्म खुल्नै नचाहने उदाहरण पनि यी हुन् । कुनै माध्यमले सम्पर्कमा आए एआरटी सेवनका लागि भने सकेसम्म आफू बसेको ठाउँबाहिर जाने स्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य अधिकृत सरोज कर्ण बताउँछन् ।

‘एचआइभी संक्रमितप्रति गरिने व्यवहारका कारणले सिरहाका संक्रमित प्रायः जनकपुर र सप्तरी, उदयपुरका संक्रमितहरू लहानबाट एआरटी सेवन गरिरहेका छन्,’ उनले भने, ‘सिरहा जिल्लाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मात्र रहेको एआरटी सेन्टरमा आउने बहुसंख्यक संक्रमित सप्तरी र उदयपुरका एचआइभी संक्रमित छन् ।’

स्वास्थ्य संस्थामा पिएमटिसिटी सेवा
संक्रमित आमाबाट जन्मिने बच्चामा एचआइभी संक्रमण हुने जोखिम घटाउन जिल्लाका दुई अस्पताल, चार प्राथमिक स्वास्थ्य केन्द्र र एक सय ६ स्वास्थ्य चौकीमा पिएमटिसिटी सेवा लागू गरिएको छ । ‘सम्बन्धित स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई संक्रमित आमाबाट सर्न सक्ने एचआइभीको संक्रमण रोक्न जाँच पड्तालका लागि तालिमसहित जाँच किट दिएका छौँ,’ उनले भने, ‘गर्भवतीको नियमित जाँचका वेलामा संक्रमित रहेको पत्ता लागे तत्काल एआरटी सेवन थाल्दा जोखिम दुई प्रतिशतभन्दा तल झार्न सकिन्छ ।’ शरीरमा विभिन्न रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता कमी भएपछि सामान्य रोगले पनि एचआइभी संक्रमितको मृत्यु हुन सक्छ ।

अभिलेखमा एक सय ८७ संक्रमित
स्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य अधिकृत कर्णका अनुसार जिल्लामा एक सय ८७ जना एचआइभी संक्रमितको अभिलेख छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा अभिलेख कायम गरिएका ९७ पुरुष, ७१ महिला, १४ वर्षमुनिका १३ बालक, चार बालिका र दुईजना तेस्रो लिंगी संक्रमितमध्ये एक सय ६३ जना मात्र एआरटी सेन्टरको सम्पर्कमा रहेको कर्णले बताए ।

सेन्टरको सम्पर्कमा रहेर ८३ पुरुष, ६४ महिला, १२ बालक र चार बालिका गरी एक सय ६३ जनाले एआरटी सेवन गरिरहेको कर्ण बताउँछन् । ‘भेदभाव र दुव्र्यवहारको त्रासले २४ जना संक्रमित पहिलोपटक सेन्टरमा आएपछि फेरि फर्किएनन्,’ उनले भने, ‘त्यसमध्ये धेरैको मृत्यु भइसकेको हुन सक्छ ।’ जिल्लाकै मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको लहान नगर क्षेत्रमा मात्र एचआइभी संक्रमितको संख्या २० रहेको नगर स्वास्थ्य शाखा संयोजक रतनकुमार दासको भनाइ छ । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्