Logo
|
Friday 17th May 2024
Logo

epaper

नियमित हुँदैनन् चिकित्सक



 मलङ्गवास्थित जिल्ला अस्पतालमा चिकित्सक नियमित आउँदैनन्, आए पनि बस्दैनन् । अस्पताल परिसर फोहरले दुर्गन्धित छ । सरकारले तोकेबमोजिम निःशुल्क औषधिको समेत अभाव छ ।

जिल्ला अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेपछि बिरामीहरू निजी अस्पताललगायत अन्यत्र जान बाध्य छन् । बिरामीहरू उपचारका लागि जनकपुर, वीरगञ्ज र छिमेकी मुलुक भारतको सीतामढीस्थित विभिन्न अस्पताल पुग्ने गरेका छन् ।

स्थानीयबासीका अनुसार अस्पतालमा चिकित्सक मात्रै होइन, अन्य स्वास्थ्यकर्मी पनि प्रायः बस्दैनन् । अस्पताल प्रशासन स्रोतका अनुसार चिकित्सकहरूबीच आन्तरिक द्वन्द्वका कारण यो समस्या आएको हो । आन्तरिक द्वन्द्वका कारण अस्पताल नआएकाले सेवाग्रही मर्कामा परेका छन् ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीलाई अन्यत्र लैजान सिफारिस गरी पठाउने गरिएको छ । अस्पताल परिसर, शौचालयलगायत वरिपरिको वातावरण प्रदूषित रहेको स्थानीय कौशल सिंहले बताए । ‘अस्पताल प्रशासनको भूमिका नै कमजोर छ, कमजोर व्यवस्थापनका कारण सरसफाई अभाव भएको हो,’ उनले भने, ‘चिकित्सक नियमित बस्दैनन् ।’

कमजोर व्यवस्थापन र कुशल नेतृत्व अभावका कारण लामो समयदेखि चिकित्सक अभाव रहेको जिल्ला अस्पताल सुधार गरी गुणस्तरीय सेवा प्रवाह गर्न स्थानीय तहका जनप्रतिनिधिले चासो लिएका छैनन । तर, जनप्रतिनिधिहरू यो कुरा मान्न तयार छैनन् । अस्पतालका चिकित्सकलगायत कर्मचारी जनप्रतिनिधिलाई टेर्दैनन् ।

अस्पतालको सेवा गुणस्तरीय बनाउन जनप्रतिनिधिले पटकपटक चासो राखे पनि कर्मचारीले बेवास्ता गरेकाले समस्या भएको मलंगवा नगरपालिका–८ का वडाध्यक्ष ईश्वरी श्रेष्ठले बताए । उनले अस्पतालका मेडिकल सुपरिडेन्ट लोभलालच छोडेर अपनत्व महसुस गर्दै सक्रिय भएमा गुणस्तरीय सेवा प्रवाह गर्न सकिने बताए ।

चिकित्सक नियमित नआउने, अस्पताल परिसरमा फोहर, मैला दुर्गन्ध र निःशुल्क औषधि अभावको कारण सेवाग्रही हैरान भएको वडाअध्यक्ष श्रेष्ठले बताए । उनले अस्पतालमा प्रसूति गराउन आउने सुत्केरी महिलालाई सरकारले तोकेको यातायात खर्च पनि पाउनबाट वञ्चित रहेको बताए ।

जिल्ला अस्पतालमा आमा सुरक्षा कार्यक्रममा मलंगवा नगरपालिकामा २० लाख बजेट छ । तर अस्पतालले ७० हजार रुपैयाँ मात्र निकासा लिएको नगरपालिकाले जनाएको छ । अन्य रकम खर्च गर्न सकेको छैन । जिल्ला अस्पताल व्यवस्थापनका बारेमा अस्पतालका मेडिकल सुपरिडेन्ट डा. वीरेन्द्र मण्डलले बैठक छ भन्दै बोल्नै चाहेनन् । उनको मोबाइलमा पटक–पटक सम्पर्क गर्दा उठाएनन् । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्