Logo
|
Friday 19th April 2024
Logo

epaper

हेड एण्ड नेक क्यान्सर कसरी हुन्छ ? शंका लागेमा ढिलाइ नगर्न चिकित्सकहरुको आग्रह



समयमा पहिचान गरी भरपर्दो उपचार सेवा पाएमा हेड एण्ड नेक क्यान्सरको उपचारमा राम्रो सफलता प्राप्त हुने चिकित्सकहरुले बताएका छन् । विश्व हेड एण्ड नेक क्यान्सर दिवस २०१९ को अवसरमा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलले आयोजना गरेको ‘हेड एण्ड नेक क्यान्सर सर्भाइभर्स मिट एण्ड प्रेस कन्फरेन्स’ मा आफूलाई क्यान्सरको शंका लागेमा एकछिन पनि ढिलाई नगरी रोग डायग्नोसिसका लागि सम्बन्धित चिकित्सकलाई देखाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।

हरेक वर्ष जुलाई २७ तारेखमा विश्व हेड एण्ड नेक क्यान्सर मनाउने गरिएको छ ।
हस्पिटलका नाक कान घाँटी सर्जन एवं हेड एण्ड नेक क्यान्सर युनिट प्रमुख डा. प्रभात चन्द्र ठाकुरले भन्नुभयो—‘ हाम्रो लक्ष्य यी क्यान्सरबारे जानकारी प्रदान गर्ने र बिरामीले राम्रो उपचार हुने अस्पताल छनौट गर्न सकोस् भन्ने हो ।’ सुर्ति तथा सुर्तिजन्य पदार्थ र अत्यधिक अल्कोहल अत्यधिक सेवन हुने नेपाललगायतका देशहरुमा हेड एण्ड नेक क्यान्सरको समस्या उच्च रहेको पाइन्छ । समयमा पहिचान गरेर भरपर्दो उपचार गरेमा हेड एण्ड नेक क्यान्सर निको अस्पतालका वरिष्ठ क्यान्सर विशेषज्ञ एवं मेडिकल डाइरेक्टर डाक्टर विजेश राज घिमिरेले जानकारी दिनुभयो । समयमा क्यान्सर स्क्रिनिङ प्रोत्साहित गर्न सकेमा क्यान्सरको समयमा पहिचान गरी सफल उपचार सेवा प्रदान गर्न सकिने भन्दै नेपाल क्यान्सर हस्पिटलले हेड हेण्ड नेक क्यान्सरबारे बिहीबार अस्पतालमा निःशुल्क परामर्श सेवा प्रदान गरेको थियो ।
हेड एण्ड नेक क्यान्सरबिरुद्ध लड्न आगामी सेप्टेम्भरमा नेपालमा हेड एण्ड नेक क्यान्सर सम्मेलन हुने भएको छ । नेपाल क्यान्सर हस्पिटलको सक्रियतामा नेपाल लगायत अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका हेड एण्ड नेक क्यान्सर विशेषज्ञहरुको सहभागिता रहने छ । सो अवसरमा हेड एण्ड नेक क्यान्सरको अनुसन्धान, उपचार प्रक्रिया र उपचारमा हालको प्रगतिबारे एक आपसमा चर्चा र छलफल हुनेछ । यो सम्मेलनले अंकोलोजिष्टहरुलाई आफ्नो ज्ञान अपग्रेड गर्ने सुवर्ण अवसर प्राप्त हुने डा. ठाकुले स्पष्ट पार्नुभयो ।

हेड हेण्ड नेक क्यान्सर हुने कारण
सुर्ति तथा सुर्तिजन्य पदार्थ र अत्यधिक धुम्रपान गर्ने व्यक्तिहरुलाई हेड एण्ड नेक क्यान्सर हुने संभावना उच्च रहेको हुन्छ । वास्तवमा करिब ८५ प्रतिशत हेड एण्ड नेकको क्यान्सर सुर्तिको अत्यधिक सेवनका कारण हुने गर्छ । अन्य कारणहरुमा ओरल हाइजिनको अभाव, ह्युमन प्यापिलोमा भाइरस (एचपीवी) संक्रमण, पोषण एवं भिटामिनको कमी, वंशाणुगत, उमेर आदि रहेको छ ।

लक्षण
नाक, घाँटीमा दुखाई, गाँठा देखिने, वंगारा दुख्ने, थकाइ महसुस हुने, श्वासप्रश्वासमा कठिनाइ, मुखबाट रगत आउने, टाउको दुख्ने, लगातार कफ आउने, स्वरमा परिवर्तन आउने, वजन कम हुँदै जाने, खाना निल्न गारो हुने, ओठ र मुखमा घाउ हुने आदि हेड एण्ड नेक क्यान्सरको लक्षण हुन ।

कति समयमा देखिन्छ ?
शरीरमा बृद्धि हुने कोष नियन्त्रण गर्ने निश्चित सिमा कटेपछि क्यान्सर हुने गर्छ । मुखमा निरन्तर सुर्तिका कारण इरिटेसन भइरहन्छ र कोष नियन्त्रण गर्ने सीमा नाघेर क्यान्सर कोषहरु बृद्धि हुँदै जान्छन् । यसरी एकपटक क्यान्सर कोष बृद्धि भइसकेपछि रोक्न सकिदैन । खैनी खाँदा शुरुमा हल्का बाहिरी नशाहरु फुलेर आउँछन् । त्यसपछि सब क्युटानिएस फाइब्रोसिस (घाउ पनि हुने सँगै शरीरले त्यसलाई रिकभर गर्दै जाने) हुन्छ । यो क्यान्सर नभएपनि यसले मुखमा असर गरिरहेको हुन्छ । सूर्ति तथा धुम्रपान गर्ने बित्तिकै सबैलाई यस किसिमको समस्या हुन्छ भन्ने हुँदैन । तर सेवन गर्न थालेको ५–७ वर्षमा क्यान्सर भएको पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्