Logo
|
Sunday 19th May 2024
Logo

epaper

साउनको अन्तिमसम्म डेंगु संक्रमितहरुको संख्या ३ हजार पाँच सय पुग्यो, १ नम्बर प्रदेश बढी प्रभावित



यस वर्ष साउनको अन्तिम सातासम्म मुलुकभर डेंगु संक्रमितहरुको संख्या ३ हजार ५ सय पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, सुुनसरी जिल्लामा सबैभन्दा धेरै ३ हजार २५ जनामा डेंगु संक्रमण देखिएको छ । त्यस्तै मकवानपुर जिल्लामा ८३, मोरङमा ८१, रुपन्देहीमा ५५, झापामा २९, चितवनामा २३, कास्कीमा २१, नवलपरासीमा ११ र पाल्पामा ७ जनालाई डेंगु संक्रमण भेटिएको छ ।
डेंगुको संक्रमण हुने प्रदेशहरुमध्ये प्रदेश नम्बर १ धेरै प्रभावित छ । साउनको अन्तिम सातासम्म प्रदेश नम्बर १ मा ३ हजार १ सय ५२ जनामा डेंगु संक्रमण भइसकेको छ । यसैगरी प्रदेश नम्बर ३ मा १ सय २६, प्रदेश नम्बर ५ मा ९६, गण्डकी प्रदेशमा २६, सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर २ मा १२÷१२ र कर्णाली प्रदेशमा सवैभन्दा कम १ जनामा डेंगु संक्रमण भेटिएको छ । इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्धारा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । शाखाका निर्देशक डाक्टर बिवेककुमार लालले डेंगु संक्रमण न्युनिकरणका लागि गाउँघरमा खोज तथा नष्ट गर्ने कार्य तिब्र रुपमा भइरहेको बताउनुभयो । मनसुन अझै बाँकी रहेकाले असोजसम्म संक्रमितहरुको संख्या बढ्दै जाने आँकलन गरिएको छ । नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा देखापरेको डेंगु संक्रमणले बर्षेनी हजारौं प्रभावित हुँदै आएका छन् ।
विश्वका आधा जनसंख्या डेंगुको जोखिम
विश्व स्वास्थ्य संगठन भन्छ— ‘विश्वका आधा जनसंख्या डेंगुको जोखिममा छन् ।’ जलवायु परिवर्तनका कारण उच्च पहाडी र हिमाली भागमा डेंगुको संक्रमण बढ्दै गएको अध्ययनले देखाएको छ । सन् १९७० को दशकमा डेंगु ९ देशमा मात्र सिमित थियो । तर अहिले झण्डै १२८ देशमा डेंगुको संक्रमण फैलिसकेको छ । विश्वभर ३९ करोड मानिसलाई डेंगुको संक्रमण देखिएको छ । विश्वभर अहिलेसम्म डेंगुबाट ज्यान गुमाउनेको संख्या २० हजार छ । संगठनको सन् २०१८ को तथ्यांकअनुसार भारतमा एक लाख नागरिक डेंगुको संक्रमणबाट प्रभावित छन् । अमेरिकामा प्रतिवर्ष चार सय जना डेंगु संक्रमित हुने गरेका छन । श्रीलंकामा ५१ हजार ५ सय ९५, म्यानमारमा २३ हजार २ सय ७३ र इन्डोनेसियामा ५६ हजार ५ सय ८७ जनामा डेंगु संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्