व्रत र स्वास्थ्य
-सामान्यत: हामीले खाएको खाना ३ देखि ४ घन्टामा सानो आन्द्रामा गएर पेट खाली हुन्छ ।
-खाना खाँदा खाना पचाउनका लागि बढी मात्रामा निस्कने पाचन रस पेट खाली हुँदाको अवस्थामा पनि निस्किरहन्छ ।
– खानेकुराको अभावमा पाचन रसमा भएको एसिड (अम्ल) ले हाम्रो पेट वा आमाशयको भित्री झिल्लीमा असर गरेर उक्त झिल्ली सुन्निन्छ र ग्यास्ट्राइटिस हुन्छ ।
– पहिलेदेखि नै ग्यास्ट्राइटिसको समस्या भएकाहरूलाई यसले अझ बढी असर गर्न सक्छ ।
-व्रत बस्दा प्रशस्त मात्रामा पानी पिउनुपर्छ, समय–समयमा दूध, फलफूलका साथै चोखा खानेकुरा खाएर व्रत बस्नु उपयुक्त हुन्छ ।
रोग र व्रत
– मुटुरोग तथा उच्च रक्तचाप भएकाहरूमा रक्तचाप घटबढ हुने, मुटुको चालमा घटबढ हुने, मुटुको चालमा अनियमितता आउने तथा कहिलेकाही त हर्ट एट्याक नै हुने सम्भावना हुन्छ ।
-मधुमेहका बिरामीहरू व्रत बस्नु पनि जोखिमपूर्ण हुन्छ ।
– रगतमा रहेको चिनीको मात्रा घटाउन प्रयोग गरिने औषधी खानेहरू, इन्सुलिन लिनेहरू व्रत बस्दा शरीरमा ग्लुकोजका मात्रा घटेर ज्यान नै जाने खतरा हुन्छ ।
– पहिले देखि नै मिर्गौलाको समस्या भएकाहरू व्रत नबसेकै उपयुक्त हुन्छ । रक्तचाप र नुनमा घटबढ हुँदा स्वास्थ्य अवस्था थप जटिल हुन सक्छ ।
– मस्तिष्क र नसासम्बन्धी रोग, माइग्रेन, छारेरोग आदि भएकाहरूले व्रत बस्नु हुँदैन । यस्ता बिरामीले खाना राम्रोसँग नखाँदा ग्लुकोज, नुन, रक्तचाप आदि घटबढ भएर रिंगटा लाग्ने, बेहोस हुने आदि समस्या उत्पन्न हुन सक्छ ।
-थाइराइडका बिरामीले व्रत बस्दा दिनभरमा कम्तीमा ८ गिलास पानी पिउनुपर्छ । सफ्ट ड्रिंक्स, चिया, कफीजस्ता गुलिया पदार्थ भने सेवन गर्नु हुँदैन ।
-गर्भवती महिलाहरूले व्रत बस्नु हुँदैन । गर्भवती महिलाको स्वास्थ्य गर्भमा रहेको शिशुसँग जोडिएको हुन्छ । भोको बस्दा आफूसँगै गर्भमा रहेको शिशुलाई समेत हानि पुग्छ ।