Logo
|
Thursday 18th April 2024
Logo

epaper

गर्भवतीले मुख स्वास्थ्यको हेरचाह कसरी गर्ने ?



गर्भावस्था महिलाका लागि एक रोमाञ्चक समय मानिन्छ । गर्भावस्थामा हर्मोनल परिवर्तनले उनीहरूको मुख स्वास्थ्यमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ । त्यसैले महिलाले गर्भावस्थामा मुख तथा दन्त स्वास्थ्यको बढी ख्याल राख्नुपर्छ ।


गर्भावस्थामा महिलाको शरीरमा प्रोजेस्टेरोन र एस्ट्रोजेन जस्ता सेक्स हार्मोनहरू उत्सर्जन हुन्छन् । यी हर्मोनहरू एकसाथ परिमार्जन हुँदा गिँजामा रगतको प्रवाह बढ्छ । त्यसैले गर्भवस्थामा महिलाले मुख तथा दन्त स्वच्छताको ख्याल नगरे सेवन गरेका खानेकुराका टुक्रा र प्ल्याकले गिँजालाई झन कमजोर बनाउँछ । जसले गर्दा गिँजा सुन्निने, रातो हुने र नरम महसुस हुने हुन्छ ।

महिलामा गर्भावस्थाको दोस्रो वा तेस्रो महिनामा जीन्जिभाइटिस (गिँजाको सुजन) सामान्य तहमा मात्र देखिन्छ तर आठौं महिनामा पुग्दा यसले तीव्र रुप लिनसक्छ । यस्तो अवस्थामा दाँत माझ्दा वा फ्लस गर्दा गिँजाबाट रगत आउने, सुन्निने र रातो हुने जस्ता लक्षण देखिन्छन् ।


त्यसैगरी समयमा जीन्जिभाइटिसको उपचार नगर्दा दाँत वा पिरियडोन्टियम वरपरका क्षेत्र संक्रमण भई पिरीयडोन्टल डिजिज (गिँजा सुन्निने, रातो हुने ) समस्या देखिन सक्छ । यदि विषाक्त इरिटेन्टहरूसँग निरन्तर प्रतिक्रियामा रहे यसले मुखभित्र ठूला गाँठाहरू विकास गर्न सक्छ । यस्ता गाँठालाई प्योजेनिक वा प्रसुति ट्यूमर पनि भनिन्छ । यद्यपि, यी गाँठा घातक नभए पनि आफ्नो दन्तचिकित्सकसँग परामर्श भने लिनुपर्छ ।


गर्भावस्थामा महिलालाई चिनीयुक्त खानेकुरा बढी खान मन लाग्छ । यदि यस्तो अवस्थामा दन्त स्वच्छता ख्याल गरिएन भने दाँत किराले खाने, फोहोर जम्ने जस्ता थुप्रै समस्याको जोखिम बढ्न सक्छ ।


दाँत वा पिरियडोन्टियम वरपरको फोहोर हटाउन दिनको दुईपटक फ्लोराइडयुक्त टुथपेस्टले दाँत माझ्नुहोस् । ब्रस गरिसकेपछि दाँत फ्लस गर्नुहोस् । यसले दाँतको बीचमा अड्किएका खानाका टुक्रा फोहोरहरू हटाउन मद्दत गर्छ । आफ्नो जिब्रोलाई दैनिक ब्रसले सफा गर्नुहोस् । यसका साथै कम चिनीयुक्त पौष्टिक तथा स्वस्थ खानाहरू सेवन गर्नुहोस् । नियमित उपचारका लागि दन्तचिकित्सकसँग परामर्श गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्