Logo
|
Thursday 2nd May 2024
Logo

epaper

जन्मनासाथ बच्चा नरोएमा के गर्ने ?



सामान्यतया, जन्मनासाथ शिशु रुन्छ । जन्मनासाथ नरोएमा शिशु मृत जन्मेको हो कि भन्ने सोच आममानिसमा पर्न सक्छ । चिकित्सा शब्दावली जे–जस्तो भए पनि बच्चाको स्वास्थ्य स्थिति ठीक छ भनी पहिचान गर्ने एउटा सूचांक जन्मनासाथ रुनु पनि हो ।

कारण
– नेपालसँगै विश्वभर बालमृत्युदर नियन्त्रणमा उल्लेखनीय प्रगति भएको छ । तथापि, हरेक वर्ष विश्वमा २७ लाख शिशु जन्मेको पहिलो महिना नपुग्दै मर्छन् । जन्मेको १ मिनेटसम्म शिशुले सास फेरेको छैन र कृत्रिम श्वासप्रश्वास पनि दिइएको छैन भने शिशुको मृत्यु हुने सम्भावना सबैभन्दा बढी हुन्छ ।
– जन्मँदा सास फेर्न नसकेकै कारण विश्वमा वार्षिक करिव २० लाख शिशुमा मस्तिष्काघात हुने गरेको तथ्यांक छ । एभ्री न्यु बर्न एक्सन प्लानले नवजात शिशु मृत्युका तीन कारण उल्लेख गरेको छ । यद्यपि, ती रोकथाम गर्न सकिने रहेको उसको कथन छ ।
– जसमा महिना नपुगी जन्मेका कारण आउने विभिन्न समस्या, जन्मँदा सास फेर्न नसक्ने समस्या तथा नवजात शिशुमा हुने गम्भीर संक्रमणलाई विचार राखी काम गर्नुपर्ने कुरा बताएको छ । यसै कुरालाई मध्यनजर गर्दै जन्मेका हरेक शिशुलाई बचाउने विभिन्न प्रयास नेपालमा पनि भइरहेका छन् ।

उपचार
– अस्पतालमा जन्म भएका शिशु जसको मुटुको गति सामान्य छ, तर जन्मनासाथ रोएन भने स्वास्थ्यकर्मीले शिशुलाई जन्मेको एक मिनेट भित्रै ब्याग–मास्कको प्रयोग गरी कृत्रिम श्वास–प्रश्वास गराउँछन् ।
– शिशुले जन्म लिएको पहिलो मिनेटमा आमा तथा नवशिशुको जीवनको सुनौलो अवसर निर्भर रहने हुँदा यो एक मिनेटको समयलाई ‘सुनौलो मिनेट’ भनिन्छ ।
– ब्याग–मास्क विधिले शिशुको फोक्सोमा आवश्यक हावा पु-याउँछ । जसले गर्दा श्वासप्रश्वासमा आवश्यक परिवर्तन ल्याउन मद्दत पुग्छ । यसरी शिशुले सास फेर्न सुरु गर्छ ।
– जन्मनासाथ सास फेर्न नसकेका शिशुलाई कृत्रिम श्वास–प्रश्वास दिनमा ढिलाइ गर्नाले मस्तिष्कमा गम्भीर आघात पुग्न सक्छ । केही समययता नेपालमा जन्मँदा नरोएका शिशुलाई ब्याग–मास्कबाट कृत्रिम श्वास–प्रश्वास गराई बचाउन थालिएको छ । (स्वास्थ्य सञ्चारविज्ञ सिर्जना शर्मा गोल्डेन कम्युनिटीमा कार्यरत हुनुहुन्छ । )

 

प्रतिक्रिया दिनुहोस्