Logo
|
Thursday 18th April 2024
Logo

epaper

कपाल झर्ने समस्या : रोकथाम र उपचार



कपाल झर्ने समस्या पुरुष, महिला, बालबालिका र बृद्धा सबैलाई हुनसक्छ । डिफ्युज हेयर लस कपाल पातलो हुँदै जाने समस्या हो । ठाउँ ठाउँमा कपाल चक्का भएर झर्ने समस्यालाई एलोपेसिया एरियटा भनिन्छ ।

यो प्याची हेयर लस हो जुन ठाउँ ठाउँबाट कपाल झर्छ । प्याटर्न हेयर लस पुरुष र महिला दुवैमा हुनसक्छ । यो हर्मोनले गर्दा हुने समस्या हो । टेस्टेस्टेरोन हर्मोनका कारण कपाल पातलिँदै जाने यस प्रकारको समस्यामा तालुपना आउँछ । यसबाहेक कपाल झर्नुमा अन्य कारण हुनसक्छ । कपाल झर्ने अन्य कारणहरुमा केमिकल मिसिएका नयाँ सामानहरुको प्रयोग, धेरै कसेर कपाल बाँध्ने, कपाललाई राम्रोसँग पोषण नपुगेर पनि कपाल झर्नसक्छ । कपाललाई आइरन, जिंक, भिटामिन, मिनरल्सजस्ता तत्वहरु आवश्यक पर्छ । कपालमा आउने चाँयालगायतका विभिन्न रोगले पनि कपाल पातलिन सक्छ । सामान्य प्रकारका समस्याहरुहरुमा उपचारपछि पुनः कपाल पलाउने गर्छ भने खतहरु बनेको ठाउँहरुमा पुन कपाल नआउन सक्छ ।
कपाल झर्ने कारण

स्कारिङ (खतहरु बस्ने) र नन स्कारिङ (खतहरु नबस्ने) गरी दुई किसिमबाट कपाल झर्ने गर्छ । स्कारिङमा कपालको उपचार गर्न निकै जटिल हुन्छ । कतिपय अवस्थामा त उपचार नै हुँदैन । नन स्कारिङ समस्यामा कपालको उपचारपछि निको हुनसक्छ ।

कपाल झर्नुमा वंशाणुगत, हर्मोनल परिवर्तन, शरीरको मेडिकल अवस्था, मेडिकेसन आदि कारण हुनसक्छ । थायराइडको कारणले पनि कपाल झर्नसक्छ । लामो समयसम्म औषधि सेवन गरिरहेका व्यक्तिहरुको पनि कपाल पातलिँदै जानसक्छ । उमेर पुगेका व्यक्तिहरुको कपालको चमकता घट्ने, बाक्लो कपाल पातलिँदै जाने, कपालको जरा कमलो हुनसक्छ । महिनावारी सुक्ने बेला र गर्भवती अवस्थामा कपाल झर्न सक्छ । रेडिएसन थेरापीले पनि कपाल झर्नसक्छ । कडा औषधिहरुले पनि कपाल झर्नसक्छ । कपाल झर्नमा तनाव एउटा कारक तत्व हो । त्यसैले स्वास्थ्यमा ध्यान दिनुका साथै खुशी हुनुपर्छ । यसका साथै यौन रोग, भिरिङ्गी एउटा तहमा पुगेपछि पनि प्याची हेयर लस हुनसक्छ । बायोटिन, जिंक, आइरन, मिनरल्सलगायतका भिटामिनको कमीले पनि कपाल झर्नसक्छ ।

प्याची हेयर लस (एलोपेसिया एरिएटा)

प्याची हेयर लस वा एलोपेसिया एरियटा थायराइडलगायत अटो इम्युनका कारण कपाल झर्ने समस्या हो । यो कुनै ठोस कारण र कुनै किटाणुले हुने समस्या होइन । यसमा ठाउँ ठाउँमा चिल्लो भएर कपाल झर्छ । उपचारपछि कपाल पलाउन सक्छ ।

तर कतिपय व्यक्तिहरुमा औषधोपचार गर्दा गर्दै पनि बिस्तारै पुरै टाउकाको कपाल झरेर पुरै तक्लु हुनसक्छ । यसलाई फूल एलोपेसिया टोटालिस भनिन्छ । यस प्रकारको समस्यामा पछि दाह«ी जुँगा, आँखी भौं, परेला, काखुमुनीको रौं, योनाङ्गको रौं, शरीरको सबै रौंहरु झर्नसक्छ । यसलाई एलोपेसिया युनिभर्सालिस भनिन्छ । धेरै कपाल लस भइसकेपछि रिकभर गर्न गाह्रो हुने भएकाले समयमा उपचार गर्न जरुरी हुन्छ ।

प्याटर्न हेयर लस

प्याटर्न हेयर लसमा एन्ड्रोजीन हर्मोनसँग सम्बन्ध हुन्छ । यस प्रकारको समस्यामा पुरुषमा बढी तर महिलामा पनि कपाल झर्न सक्छ ।

महिलाहरुमा सिउँदो भएको भागबाट कपाल पातलिँदै जान्छ । उनीहरुको पनि पुरुषहरुको जस्तो तालु चिन्नै देखिनसक्छ । यस प्रकारको समस्या फिमेल प्याटर्न हेयर लस हो । मेल प्याटर्न बालनेस भनेको केटा मान्छेमा आउने तालुपना हो । यो वंशाणुगत र हर्मोनल कारण दुवै हुनसक्छ ।

यस प्रकारको समस्यामा कपाल पातलो र टाउकोबाट कपाल खस्दै जाने हुनसक्छ । कपालको हेयर फोलिकलहरुले डाय हाइड्रोटेस्टेस्टेरोन भन्ने हर्मोनलाई रेस्पोन्स गरेर कपाल सानो साइजमा परिणत हुँदै जाने र कपाल पातलिँदै जान्छ ।

ट्र्याक्सन एलोपेसिया
ट्रयाक्सन एलोपेसियाअन्तर्गत तानिने गरी कडा किसिमले कपाल बाँध्ने महिलाहरुमा निधारमाथिको भागबाट कपाल झर्ने र पातलो हुँदै जान्छ ।

सडेन लुजिङ हेयर लस
यो प्राय गर्भवती पछि बच्चा जन्माएका महिलाहरुमा हुनसक्छ । यसका साथै मेजर अपरेशन गरेका पुरुष तथा महिलाहरुमा केही महिनासम्म कपाल झर्नसक्छ । तर पछि बिस्तारै कपाल पलाउँछ ।

चिकित्सकलाई कहिले भेट्ने ?

दैनिक करिब १००—१५० वटासम्म कपाल झर्नुलाई सामान्य मान्न सकिन्छ । तर त्यो भन्दा धेरै कपाल झरेको अनुभव भएमा समयमा चिकित्सकलाई देखाउन जरुरी हुन्छ ।

कपालमा विभिन्न रसायनिकको प्रयोग, हेयर पम्प, कपाल स्टे«ट आदि गर्नाले कमलो भई कपाल पातलिन सक्छ । यसरी टाउको वा शरीरका विभिन्न भागबाट धेरै कपाल झरेको अवस्थामा आफैंले विभिन्न उपचार गर्नुभन्दा उचित ठाउँमा गएर चर्म तथा यौन रोग विशेषज्ञलाई देखाउन उचित हुन्छ ।
रोकथाम र उपचार
कपाल झर्ने कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । पोषण र खाना स्वस्थ्य हुनुपर्छ । सन्तुलित आहार सेवन गर्नुपर्छ । यसका साथै कपालको हेरचाह गर्नुपर्छ । बेलाबेलामा तेल लगाउने, हल्का मसाज गर्ने, राम्रो खालको स्याम्पुहरु प्रयोग गर्ने, धेरै तातोपानीले कपाल नधुने, कपालमा धेरै रसायनहरु मिसिएका चिजहरु प्रयोग नगर्ने, हेयर डाइङ, हाइलाइटर आदिको निरन्तर प्रयोगले पनि कपालको गुणस्तर कम हुँदै जान्छ ।

प्याची हेयर लस अर्थात ठाउँ ठाउँमा कपाल झरेको अवस्थामा तुरुन्त चिकित्कसलाई देखाउनुपर्छ । यसमा खाने सप्लिमेन्टरी र लगाउने औषधिको प्रयोग गर्न सकिन्छ । कतिपय प्याची हेयर लसमा इन्जेक्सन पनि लगाउन पर्ने हुनसक्छ । यसले धेरैजनाको कपाल आउँछ ।

वंशाणुगत वा प्याटर्न हेयर लसमा उपचार गर्न गाह«ो छ । समयमा उपचार पाएको अवस्थामा कपाल झर्न कम हुने र भएको कपाल बचाउन सकिन्छ । यसो गर्दा पनि कपाल झरिरहेको अवस्थामा पिआरपी थेरापी पनि गर्न सकिन्छ । अन्त्यमा केही नलागेमा कपाल प्रत्यारोपण नै एउटा विकल्प हो ।
( डा. कार्की बीर अस्पतालको चर्म तथा यौन रोग विभागको प्रमुख एवं चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानको एसोसिएट प्रोफेसर हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्