नेपालमै सम्भव छ प्लाज्मा फेरेसिस
मिर्गौलामा समस्या आएपछि गत भदौमा प्रधानमन्त्री केपी शर्मा ओली प्लाज्मा फेरेसिस अर्थात प्लाज्मा एक्स्चेञ्जका लागि सिंगापुर जानुभयो । त्यसपछि यस विषयले निकै चर्चा पायो । कतिपयलाई नेपालमा प्लाज्मा फेरेसिस नहुने भएकाले प्रधानमन्त्री देशबाहिर जानुभयो भन्ने पनि धेरै भ्रमहरु हुन सक्छन् । तर नेपालमा नै अत्याधुनिक उपकरणबाट प्लाज्मा फेरेसिस भइरहेको छ । के हो त प्लाज्मा फेरेसिस ? कस्तो अवस्थामा गरिन्छ ? यसको मूल्य कति पर्छ ? आदि विषयमा जानकारी दिने कोसिस गरेका छौं ।
के हो प्लाज्मा एक्स्चेन्ज ?
प्लाज्मा रगतको कम्पोनेन्ट हो । रगतको कोषिकाहरु बग्ने एकप्रकारको पानीजस्तो तरल पदार्थ प्लाज्मा हो । प्लाज्मामा प्रोटिन, एन्टिबडी, इम्यूनोग्लोबुलिन्स मिसिएर रगतमा बगिरहेको हुन्छ ।
आफ्नो शरीरको रगतबाट प्लाज्मामा भएका हानिकारक प्रोटिनहरुलाई छानेर निकाल्ने र बाँकी रहेको सफा रगत भित्र पठाउने प्रक्रिया प्लाज्मा फेरेसिस अर्थात प्लाज्मा एक्सचेञ्ज हो । यो एक प्रकारको डायलाईसिस जस्तै प्रक्रिया हो । डायलाईसिसमा शरीरको एक ठाउँबाट रगत निकालेर त्यसमा भएका शरीरलाई हानी गर्ने क्रियाटिनिन, युरिया फिल्टर गरेर निकाल्ने र बाँकी रहेको रगत शरीरभित्र फिर्ता पठाएजस्तै हो प्लाज्मा एक्सचेञ्ज पनि ।
के उद्देश्यका लागि फेरेसिस गरिन्छ ?
रगतमा मिसिएर रहेको आरबिसी, डब्लूबिसी, प्लेटलेट, प्लाज्मा आदि कम्पोनेन्ट मध्ये फेरेसिसबाट कुनै एउटा आवश्यक कम्पोनेन्ट छुट्याएर आवश्यक परेको व्यक्तिको शरीरमा दिने गरिन्छ । जस्तैः कुनै व्यक्तिलाई रगतमा प्लेटलेटको मात्रा कम भएमा प्लेटलेट मात्र छुट्याएर दिन मिल्छ । बोनम्यारो प्रत्यारोपण, ल्युकेमिया आदि समस्यामा प्लाज्माको जरुरत पर्छ । बाथलगायतका अटो इम्युन रोग, क्रोनिक किड्नी रोगहरुमा प्लाज्मा फेरेसिस गरेर हानिकारक प्रोटिनहरु छानेर निकाल्न सकिन्छ । कोलेस्टेरोल धेरै भएर हुने प्याँक्रियाटाईसिसमा कोलेस्टेरोल छान्न पनि प्लाज्मा फेरेसिसको मद्धत लिन सकिन्छ । बोनम्यारोको समस्या, ए प्लाष्टिक एनिमिया, औलोको समस्या आदिमा प्लाज्मा फेरेसिस गरेर हानिकारक वस्तुहरु निकाल्ने गरिन्छ ।
सयौं रोगका लागि प्लाज्मा फेरेसिस गर्न सकिन्छ । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिरुमा पुनः मिर्गौला विफल हुन थालेको अवस्थामा मिर्गौला बचाउन प्लाज्मा फेरेसिस गरिन्छ । प्लाज्मा फेरेसिसबाट मिर्गौला विफल गराउने हानिकारक प्रोटिन निकालेर मिर्गौलाको आयु बढाइन्छ । प्रधानमन्त्री ओलीको पनि सिंगापुरमा प्लाज्मा फेरेसिस गरिएको थियो । यसरी प्रत्यारोपण गरिएको मिर्गौला शरीरले बिस्तारै रिजेक्ट गर्दै गएपछि प्लाज्मा फेरेसिसबाट जोगाउन वा लम्ब्याउन सकिन्छ ।
फोक्सो र मिर्गौलामा एकैपटक असर गर्ने रोगमा पनि प्लाज्मा एक्सचेञ्ज गरिन्छ । यस प्रकारको समस्यामा मिर्गौला विफल गराउने र फोक्सोमा रक्तश्राब गराइरहेको हुन्छ । यसरी फोक्सोमा जमेको रगतको समस्या समाधानका लागि पनि प्लाज्मा एक्सेञ्ज एक विकल्प हो । यसले रक्तश्राव रोक्न मात्र नभई रि—कभर गर्न पनि मद्धत गर्छ ।
प्लाज्मा फेरेसिस कसरी गरिन्छ ?
यसरी दुई तरिकाबाट प्लाज्मा एक्स्चेञ्ज गर्न सकिन्छ । डायलाइसिसको जस्तै घाँटी वा तीघ्रामा भएका रगतका नशामा क्याथरेटर राखिन्छ । मेसिन र बिरामीलाई जोड्ने पाइप (सर्किट) को प्रयोग गरिएको हुन्छ । कुनै मेसिनमा घुम्ने चक्काहरु हुन्छन् भने कुनैमा डायलाईसिस मेसिनको जस्तो मेम्ब्रेन फिल्टर हुन्छन् पहिलो, सिधै मेम्ब्रेनबाट छानेर गर्न सकिन्छ । यसलाई मेम्ब्रेन फिल्ट्रेसन भनिन्छ । दोस्रो, प्लाज्मालाई मेसिनभित्र हालेर घुमाएर गरिन्छ । घुमाउँदै गएपछि प्रोटिन छुट्टिन थाल्छन् । यसलाई सेन्ट्रिफ्यूगल भनिन्छ । सेन्ट्रिफ्यूगल प्रविधिबाट गरिएको प्लाज्मा एक्स्चेञ्ज अझ बढी प्रभावकारी हुन्छ । बिरामीको रगतबाट प्लाज्मा निकालिसकेपछि त्यसको ठाउँमा एल्बोमिन, एफएफपी र सामान्य स्लाइनहरु दिनुपर्छ । संक्रमणबाट जोगाउन निकै होसियारीका साथ मोनिटर राखेर गर्नुपर्छ ।
प्लाज्मा एक्सचेञ्जमा खानपानको कुनै भूमिका हुन्छ ?
यसमा बिरामीको अवस्था हेरेर हुन्छ । सिकिस्त बिरामीको आईसियूमा राखेर उपचार हुन्छ । वार्ड वा ओपिडीमा राखेर पनि प्लाज्मा एक्सचेञ्ज गर्न सकिने हुनाले यस्ता व्यक्तिहरुले प्रशस्त मात्रामा झोलिलो खानेकुरा, फलफूल सेवन गर्ने र प्रशस्त पानी पिउनुपर्छ ।
प्लाज्मा फेरेसिसका फाइदाहरु के के छन् ?
क्राईसिस अवस्थामा प्लाज्मा फेरेसिस गरेमा सम्बन्धित रोग चाँडै रिकभर हुने सम्भावना बढी हुने र थप कम्प्लिकेसन हुनबाट जोगाउन सकिन्छ । त्यसैले प्लाज्मा फेरेसिस गर्न ढिला गर्न हुँदैन । यो जीवन बचाउने प्रक्रिया (लाइभ सेभिङ प्रोस्यूडर) हो ।
प्लाज्मा फेरेसिसमा कतिको जोखिम हुन्छ ?
यो सुरक्षित प्रक्रिया हो । यसमा धेरै जोखिम छैन । तर कहिलेकाँही डायलाईसिसको जस्तै क्याथेटर हालेको ठाउँमा रक्तश्राब, संक्रमण आदि हुनसक्छ । रगत बाहिर निकाल्दा रक्तचाप कम भएर बिरामी बेहोस हुनसक्ने, आँखाले धमिलो देख्ने, रिंगटा लाग्ने, काम ज्वरो आउने, पेट बटारिने जस्ता समस्या हुनसक्छ । तर यी सबै समस्यालाई मोनिटर गरेर रोकथाम गर्न सकिन्छ ।
यस प्रकारको सेवा कहाँ कहाँ उपलब्ध हुन्छ ?
मैले थाहा पाएअनुसार, शिक्षण अस्पताल, सिभिल हस्पिटल र नेपाल मेडिसिटी अस्पतालमा प्लाज्मा फेरेसिसको सुविधा छ । प्लाज्मा फेरेसिस आईसियू र आईसियू बाहिरका आवश्यक बिरामीलाई गर्न सकिन्छ ।
स्वदेशमा नै सेवा लिन उपाय के हुनसक्छ ?
नेपालमा यस प्रकारको सुविधा भएकोबारे कतिलाई थाहा नभएर हुनसक्छ भने कतिको विदेशमा जाने मनस्थिति हुन्छ । हेल्थकेयर प्रोफेस्नलहरुले राम्रोसँग सुचना प्रवाह गरेर देशमा भएका साधन श्रोतहरु प्रयोगमा ल्याउन सकिन्छ । यस्ता मेसिनहरु पोर्टेबल हुने भएकाले अर्को ठाउँमा मेसिन सजिलै लगेर पनि गर्न सकिन्छ । सबै अस्पतालमा यो मेसिन राख्न पनि जरुरत हुँदैन ।
डायलाईसिस मेसिनबाट पनि एक्सचेञ्ज गर्न सकिन्छ ?
डायलाइसिस मेसिनलाई पनि प्लाज्मा एक्स्चेञ्जको रुपमा प्रयोग गर्न सकिन्छ । तर यसका लागि थप उपकरणको जरुरत पर्छ । यो ट्रान्सफ्यूजन मेडिसिन, ब्लड बैंकमा काम गर्ने मानिस, इन्टेन्सिभिस्ट र नेफ्रोलोजिष्टहरुले पनि गर्न सक्छन् । डायलाइसिसका लागि कयौं दिनदेखि बिरामीहरु पालो कुरेर बसिरहने कारण डायलाईसिस मेसिनबाट गर्न पनि निकै गाह्रो छ । त्यसैले यदि मेसीन खाली छ भने चाहिएको अवस्थामा गर्न सकिन्छ ।
कुन कम्पनिको मेसिनबाट सेवा उपलब्ध गराइरहनुभएको छ ?
हामीले जर्मन कम्पनि फ्रेसिनेस काबी को मेसिनबाट प्लाज्मा फेरेसिस गर्दै आएका छौं । यो लेटेष्ट टेक्नोलोजीको मेसिन हो ।
प्लाज्मा फेरेसिस कति समय लाग्छ ?
एउटा बिरामीलाई प्लाज्मा फेरेसिसको ३ देखि ५ वटा चरण पूरा गर्नुपर्छ । यो दैनिक या दिन बिराएर गर्न सकिन्छ । यसरी कम्तिमा पनि ७ देखि १० दिनसम्मको उपचार अवधि हुन्छ । एकजना बिरामीलाई एक चरणमा २ देखि ३ घण्टा समय लाग्न सक्छ । प्रत्येक दिन ४ देखि ५ जनासम्मलाई प्लाज्मा एक्स्चेञ्ज गर्न सकिन्छ ।
प्लाज्मा एक्सचेञ्ज गर्न कति खर्च लाग्छ ?
एकपटक प्लाज्मा एक्स्चेञ्ज गर्न ५० देखि ६० हजार रुपियाँ लाग्दछ । एउटा बिरामीको पाँच चरण पूरा गर्दा लगभग ३ देखि ४ लाख रुपैयाँसम्म खर्च हुन्छ ।
(डा. दिप्तेश अर्याल क्रिटिकल केयर मेडिसिन विशेषज्ञ (इन्टेन्सिभिस्ट) हुनुहुन्छ । उहाँ हाल नेपाल मेडिसिटी हस्पिटलमा आईसियू को—अर्डिनेटर हुुनुहुन्छ ।)