रक्तपरीक्षणबाट ५० भन्दा बढी प्रकारका क्यान्सर पत्ता लगाउन सकिने
कुनै लक्षण वा सङ्केत देखिनुभन्दा अघि नै रक्तपरीक्षणबाट ५० भन्दा बढी प्रकारका क्यान्सर पत्ता लगाउन सकिने वैज्ञानिकहरूले बताएका छन्। विशेषज्ञहरूले त्यस्तो परीक्षणबाट समयमै रोग निदान भई उपचार गर्न सहयोग पुग्ने अपेक्षा गरेका छन्। वैज्ञानिकहरूको टोलीले ९९ प्रतिशत परिणाम सत्य भएको तर मिथ्या आश्वासन दिने अवस्था नहोस् भनेर निश्चित हुनपर्ने बताएका छन्। अहिले यसलाई बिरामीमा परीक्षणको चरणमा राखिएको र थप अध्ययन आवश्यक भएको अनुसन्धानकर्ताहरूले ‘एनल्ज अफ अङ्कलजी’मा भनेका छन्। तथ्याङ्कले यो परीक्षण क्यान्सरको प्रारम्भिक चरणभन्दा पनि गम्भीर स्थिति पत्ता लगाउन उपयुक्त भएको देखाएको छ। त्यसबाट यसको उपयोगिता सीमित हुन सक्छ।
परीक्षणले कसरी काम गर्छ?
यो परीक्षणले ट्यूमरबाट रक्तप्रवाहमा चुहिने कोषरहित डीएनएमा देखिने रासायनिक परिवर्तन हेर्छ। द फ्र्यान्सिस क्रिक इन्स्टिट्यूट र यूनिभर्सिटी कलेज लन्डनका सहकर्मीसँग मिलेर काम गरेका डेना-फार्बर क्यान्सर इन्स्टिट्यूट र हार्भड मेडिकल स्कूलका अनुसन्धानकर्ताहरूले बिरामीबाट सङ्कलित ४,००० वटा नमुना जाँचेका थिए। तीमध्ये केहीमा क्यान्सर थियो भने केहीमा थिएन।अध्ययनमा आन्द्रा, फोक्सो, डिम्बाशयको सहित ५० भन्दा बढी प्रकारका क्यान्सर समाविष्ट थिए। छयानब्बे प्रतिशत नमुनामा उक्त परीक्षणले क्यान्सरको प्रकार खुट्याउन सक्यो।
विज्ञहरू के भन्छ?
यो अध्ययनलाई ग्रेल नामक कम्पनीले आर्थिक सहायता उपलब्ध गराएको हो। मुख्य अनुसन्धानकर्तामध्येका एक प्राध्यापक जेफ्री अक्स्नार्डका अनुसार सामुदायिक तहमा बहुक्यान्सर स्क्रीनिङका लागि आवश्यक सबै विशेषता यो रक्तपरीक्षणमा देखिएको छ। “सबै जना यस्तो परीक्षण प्रयोगका लागि कहिले उपलब्ध हुन सक्छ भनेर सोध्छन्।” हजारौँ बिरामीमा गरिएको जाँचको प्रमाणका आधारमा यो परीक्षण क्लिनिकल परीक्षणका लागि सीमित मात्रामा सुरु गरिसकिएको उनले बताए। “तर यो रक्तपरीक्षण नियमित प्रयोगमा आउनुभन्दा अघि यसको उपलब्धि राम्ररी बुझ्न हामीले यस्तै क्लिनिकल अध्ययनका परिणाम हेर्नुपर्ने हुन्छ।” “यो क्षेत्रमा चाँडो विकास भइरहेको छ र हामी रगतबाट क्यान्सर पत्ता लगाउने उपाय यथार्थ हुन्छ भन्नेमा आशावादी छौँ।” क्यान्सर रिसर्च यूकेका डा. डेभिड क्रज्बीले भने, “प्रारम्भिक चरणमा जतिबेला क्यान्सर फैलिन थालेको हुँदैन र निको पार्न सकिन्छ त्यतिबेला क्यान्सर पत्ता लगाउँदा मानिसहरूको जीवन रक्षा गर्ने ठूलो सम्भावना हुन्छ।” “अनि हामीलाई यो सम्भावनालाई यथार्थ बनाउने प्राविधिक नवप्रर्वतन टड्कारो रूपमा चाहिएको छ।” “यो परीक्षण विकासको प्रारम्भिक चरणमा भए पनि परिणाम उत्साहप्रद छ।” तर उक्त परीक्षणको क्षमतामा विस्तार गर्न थप अनुसन्धान आवश्यक भएको उनको धारणा छ।