Logo
|
Thursday 21st November 2024
Logo

epaper

कोरोना संक्रमणबाट सिकिस्त भएका बिरामीलाई आईसीयू र भेन्टिलेटर जुटाउन चुनौती



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएर सघन उपचार आवश्यक हुने व्यक्तिहरूको सङ्ख्या बढ्दै जाँदा सङ्क्रमण अझ व्यापक स्तरमा फैलिए आईसीयू र भेन्टिलेटरको अभाव हुने विज्ञहरूले चेतावनी दिएका छन्। अहिले देशभरि २,६०० वटा आईसीयू शय्या र ९०० वटा भेन्टिलेटर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरू बताउँछन्।

गम्भीर अवस्थामा भएका बिरामीको जीवनरक्षाका लागि महत्त्वपूर्ण मानिने ती सघन उपचारसम्बन्धी संरचना अधिकांशतः काठमाण्डू उपत्यकामै सीमित रहेको र राजधानीबाहिरका अस्पतालमा एकदमै कम भएको विज्ञहरूको भनाइ छ। उनीहरूले कतिपय अस्पतालमा सघन उपचार सेवा सञ्चालनका लागि दक्ष प्राविधिक जनशक्ति पनि आवश्यक पर्ने उल्लेख गरेका छन्।

सघन उपचारको जो हो के छ?

साउन २७ गतेसम्मको तथ्याङ्कअनुसार देशभरि उपलब्ध आईसीयू शय्या र भेन्टिलेटरमध्ये १,१३४ वटा शय्या र ५७६ वटा भेन्टिलेटर कोरोनाभाइरस सङ्क्रमितका लागि छुट्याइएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, “कोभिड-१९ का लागि अस्पतालहरूलाई तयार अवस्थामा राख्न आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको छ।” उनका अनुसार गम्भीर प्रकृतिका १,५०० बिरामीहरूको उपचारका लागि औषधि र आईसीयूका सामग्रीहरू मौज्दात छन्।

साउन १४ गते भेन्टिलेटरर आईसीयूमा राखिएका बिरामीको सङ्ख्या २२ रहेकोमा साउन २७ गते अपराह्णसम्म बढेर ८८ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये सर्वाधिक सङ्ख्या प्रदेश नं २ र वाग्मती प्रदेशमा छ। लकडाउन घोषणा गर्नुभन्दा अघि देशभरि भएका अस्पतालका आईसीयूमा १,५५० वटा शय्या र ७७० वटा भेन्टिलेटर थिए।

मन्त्रालयका अनुसार अस्पतालहरूलाई ४०० भन्दा बढी आईसीयू शय्या र १६० वटा भेन्टिलेटर कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि मात्रै छुट्याउन विगतमा निर्देशन दिइएको थियो।

के उपलब्ध स्रोत र साधन पर्याप्त हुन्छ?

सघन उपचारसम्बन्धी स्वास्थ्यकर्मीहरूको समूह ‘नेप्लिज सोसाइटी अफ क्रिटिकल केअर मेडिसिन’का महासचिव डा. हेमराज पनेरू सघन उपचारको क्षेत्र नेपालमा विकास हुने क्रममा रहेको र यसका लागि आवश्यक जनशक्ति, स्रोत तथा साधन अपर्याप्त रहेको बताउँछन्।

उनका अनुसार तीन महिनाअघि गरिएको अध्ययनले काठमाण्डूमा ५३० को हाराहारीमा सघन उपचार शय्या र झन्डै ३०० वटा भेन्टिलेटर रहेको देखाएको थियो।

उनी भन्छन्, “काठमाण्डूमा आईसीयू र भेन्टिलेटर दुवै चाहिने ३०० जति बिरामी भए भने हाम्रो क्षमताले थेग्नै सक्दैन। सरकारी अस्पताल अहिले नै व्यस्त छ। म काम गरिरहेको शिक्षण अस्पतालमा शय्याहरू भरिएका छन्, खाली नभई हामी केही गर्न सक्ने अवस्थामा हुँदैनौँ।”

उनले थपे, “विगत दुई हप्तामा देखिए जस्ता सिकिस्त कोरोनाभाइरस सङ्क्रमितहरूको काठमाण्डूमा रहेका सुविधासम्पन्न निजी अस्पताल र दुई तीनवटा सरकारी अस्पतालबाहेक अरूमा राम्रोसँग उपचार गर्न पनि गाह्रो छ। एकै पटक धेरै सङ्ख्यामा बिरामीहरू उपचार गर्न आए अवस्था निक्कै अप्ठेरो हुने देखिन्छ।”

कोरोनाभाइरस महामारीलाई ध्यान दिँदै जीवनरक्षाका लागि आवश्यक भेन्टिलेटरहरू जुटाउने अभियान चलाइरहेको नेपाल भेन्टिलेटर सर्भिसेजका संस्थापक डा. विशाल ढकाल राजधानीबाहिर त्यस्ता पूर्वाधारको अझ ठूलो अभाव रहेको बताउँछन्।

उनले भने, “हाल सङ्क्रमणको केन्द्र बनिरहेको नारायणी अस्पतालमा मशीनहरू नभएको भएर हामीले स्थानीय गैरसरकारी संस्थासँग समन्वय गरेर पठाएका छौँ। जनकपुरमा अघिल्लो हप्ता त्यहाँ रहेको भेन्टिलेटर खाली नहुँदा उपचारका लागि आएका दुई जनाले ज्यान गुमाएको कुरा आएको छ। यस्ता सुरक्षा उपकरणहरूको आवश्यकता टड्कारो छ।”

उनले सङ्क्रमणको दर २० देखि ३० प्रतिशतले बढ्ने हो भने पनि आईसीयूमा शय्या र भेन्टिलेटरको अभाव हुने औल्याउँदै भने, “चल्ने अवस्थामा रहेका ८० प्रतिशतभन्दा बढी उपकरण निजी अस्पतालसँग छन् र उनीहरूलाई पूर्ण रूपमा आईसीयू चलाउन अनुमति छैन। यसले पनि केही व्यवस्थापकीय विषयहरू सम्बोधन गर्नुपर्ने देखिन्छ।”

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारी सरकारले निजी अस्पताललाई पनि २० प्रतिशत आईसीयू शय्या कोभिड-१९ का विरामीको उपचारमा छुट्याउन निर्देशन दिइएको बताउँछन्।

कस्ता छन् व्यस्थापनमा चुनौती?

अहिले बढी सङ्क्रमित देखिएको प्रदेश नं २ मा ४५ वटा आईसीयू शय्या छुट्याइएको र काम गर्ने अवस्थामा १७ वटा भेन्टिलेटर रहेको स्वास्थ्य मन्त्रालयको अद्यावधिक विवरणले देखाउँछ। नेपाल भेन्टिलेटर सर्भिसेजले आफूले प्रदेश नं २ मा सातवटा भेन्टिलेटर उपलब्ध गराएको जनाएको छ।

नेपालका १९४ अस्पतालमा आईसीयू सेवा उपलब्ध रहेको र देशभरिका १०४ सरकारी अस्पतालमध्ये २५ वटासँगमात्रै भेन्टिलेटर रहेको उक्त संस्थाले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारी आवश्यकताअनुसार सरकारी र निजी दुवै अस्पतालका उपलब्ध भएसम्मका पूर्वाधार कोभिड-१९ को उपचारका लागि प्रयोग हुने बताउँछन्।

उनले भने, “हामीले देशभरि ९०० वटा भेन्टिलेटर र २,६०० आईसीयू बेड छन् भनिरहेका छौँ। आवश्यक पर्दा ती सबै हामीले कोभिड १९ को उच्च जोखिम भएका व्यक्तिलाई जोगाउन प्रयोग गर्दै जान्छौँ।”

कस्तो जनशक्ति चाहिन्छ?

नेप्लिज सोसाइटी अफ क्रिटिकल केअर मेडिसिनका महासचिव डा. पनेरूले सरकारले ‘लेभल तीन’ भनेर वर्गीकरण गरेका अस्पतालमा कुल शय्या सङ्ख्यामध्ये १० प्रतिशत आईसीयू हुने भनिएपनि अवस्था त्यस्तो नरहेको बताउँछन्।

उनका अनुसार सघन उपचारमा खटिने नर्स र प्राविधिकहरू छरिएर रहेकाले उनीहरूलाई आवश्यक परे तुरुन्तै खटाउन मिल्ने सरकारले व्यवस्था गर्नुपर्छ। त्यसबाहेक तत्कालै आईसीयू र भेन्टिलेटरको प्रबन्ध गर्न नसकिने स्थानहरूमा अक्सिजन आपूर्ति र मनिटरयुक्त शय्याको व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारी आईसीयू र भेन्टिलेटर जोहो गर्नेसँगै कोरोनाभाइरस महामारी फैलिन नदिन सचेतना जगाउने सहितका सबै उपाय अपनाइएको बताउँछन्।

मन्त्रालयका अनुसार तीन तहका अस्पताल र क्लिनिकहरूमा सघन उपचारमा खटिन सक्ने ४०० जनाभन्दा बढी तालिमप्राप्त प्राविधिक जनशक्ति अहिले महामारीको उपचारमा खटिरहेका छन्।

कोभिड-१९ का कारण लकडाउन गरिएपछि विश्व स्वास्थ्य सङ्गठनसँग मिलेर सरकारले बनाएको आपत्कालीन प्रतिकार्य योजनामा पनि भेन्टिलेटर, प्रयोगशालाका सामग्री, आईसीयूमा आवश्यक औषधि लगायतको भण्डारण गर्ने प्रतिबद्धता जनाइएको थियो।

त्यसयता कतिपय सामग्री खरिद गरिएको थियो भने छिमेकी भारत र चीन दुवैले नेपाललाई कोरोनाभाइरससँग सङ्घर्ष गर्न थप उपकरणहरू उपलब्ध गराएका थिए। बीबीसी

प्रतिक्रिया दिनुहोस्