Logo
|
Tuesday 24th December 2024
Logo

epaper

कोभिड महामारी फैलिएको बेला अस्पतालबाट निस्किने फोहोर कसरी व्यवस्थापन गर्ने?



Disposable PPEजनस्वास्थ्य सरोकार, काठमाडौं । क्लेअर टेभेस (नाम परिवर्तन) शल्यचिकित्साको विद्वद्‌वृत्तिमा छ महिनाका लागि फिलिपिन्सबाट सिङ्गापुर गइन्। उनलाई त्यहाँ घुलमिल हुन केही समय लाग्छ भन्ने थाहा थियो। उनी एउटा विपन्न समाजको अस्पतालबाट एउटा धनी र सुविधासम्पन्न अस्पतालमा काम गर्न आएकी थिइन्।

विश्वस्तरीय सुविधायुक्त स्थानमा आएर उनी विविध चुनौती सामना गर्दै आफ्नो ज्ञान विस्तार गर्न चाहन्थिन्। तर उनले एकदमै भिन्न “सांस्कृतिक झट्का” खेप्नुपर्‍यो। अस्पतालहरूले कसरी प्लास्टिक प्रयोग गर्छन् भन्ने उनका लागि अत्यन्त नौलो कुरो थियो।

शल्यक्रिया गर्दा प्रयोग गरिने प्लास्टिक रिट्र्याक्टरजस्तो उपकरण एउटा बिरामीमा एक पटक मात्रै प्रयोग गरिन्थ्यो र काम सकिएपछि मिल्काइन्थ्यो। तर फिलिपिन्समा त्यस्तो उपकरण निर्मलीकरण गरेर नबिग्रिँदासम्म प्रयोग हुन्थ्यो। जीवनरक्षार्थ प्रयोग हुने सामग्रीहरू त्यसरी फालिएको देखेर टेभेसले केही गर्ने निधो गरिन्।

“फोहोर देख्दा मलाई एक पटक मात्रै प्रयोग गर्ने उपकरणहरू जोगाउनुपर्छ भन्ने लाग्यो। त्यसो गर्दा तिनलाई फेरि प्रयोग गर्न सकिन्थ्यो,” उनले भनिन्। यदि विवेकपूर्ण ढङ्गले उनले यो काम नगरेको भए र सहकर्मीहरूको साथ नपाएको भए उनको यो निर्णयाबाट सिङ्गापुरको अस्पतालमा विवाद उत्पन्न हुन्थ्यो। तर उनले खेर फालिने “यस्तै एकखेपे” प्लास्टिकका उपकरणहरू सङ्कलन गरिन्।

“सिद्धान्ततः स्वास्थ्यक्षेत्र र वातावरणमा पर्ने असरबारे कुरा गर्नु राम्रो हो, यो असान्दर्भिक हुँदैन,” हङ्‌कङस्थित मुटुरोग विशेषज्ञ रायन कोले भने।

“तर समग्रमा हेर्ने हो भने अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीका लागि यो फरक कुरा हो। चिकित्सकका रूपमा हामीले बिरामीको तत्कालको आवश्यकता र चाहनालाई प्राथमिकतामा राख्नुपर्छ।” यो कुरामा टेभेस पनि सहमत छिन्। फिलिपिन्समा प्रयोग गर्न सामग्री गर्नु उनको उद्देश्य थियो।

एउटा गैरसरकारी संस्था हेल्थ केअर विद्आउट हार्मका अनुसार कार्बन उत्सर्जनको कुरा गर्दा यदि स्वास्थ्यक्षेत्रबाट एउटा देश हुन्थ्यो भने हरित गृह ग्यास उत्सर्जन गर्ने यो पाँचौँ ठूलो देश हुन्थ्यो।

स्वास्थ्यक्षेत्रबाट हुने कार्बन उत्सर्जनले पर्यावरणमा गर्ने असर कोइलाबाट सञ्चालन हुने ५१४ वटा ऊर्जा केन्द्रले गर्ने उत्सर्जनजति हुन्छ। त्यो विश्वव्यापी उत्सर्जनको ४.४ प्रतिशत हो।

“जीवाश्म इन्धनको प्रयोगले वायुप्रदूषणका कारण विश्वभरष ४० लाख भन्दा बढी मानिसको मृत्यु हुन्छ। उक्त सङ्ख्या क्षयरोग, ‍औलो, एड्सबाट हुने कुल मृत्युभन्दा बढी हो,” हेल्थ केअर विद्‌आउट हार्मका सहसंस्थापक तथा अध्यक्ष ग्यारी कोहेनले भने।

Disposable PPE

फोहोरको मूल्य

अग्रपङ्क्तिमा बसेर काम गर्ने स्वास्थ्यकर्मीले आवश्यक स्वास्थ्यसेवा दिने वा पर्यावरणमैत्री बन्ने भन्नेमा एउटा कुरा रोज्नुपर्ने स्थिति छ। तर यदि स्वास्थ्यसेवा प्रणालीमा काम गर्ने चिकित्सकले पर्यावरण वा सुविधा दिने कुरामा कुनै एउटालाई छान्नै परेन भने?

कोभिड-१९ जस्तो सङ्क्रामक रोग नफैलियोस् भनेर स्वास्थ्यकर्मीहरू एक पटक मात्रै प्रयोग गरिने प्लास्टिकको प्रयोगलाई महत्त्व दिन्छन्।

तर कोभिड १९ को उपचार गर्दा भने व्यक्तिगत सुरक्षा सामग्री पीपीईजस्तो वस्तु फाल्नुपर्ने विषयमा सबैको एकमत छ। स्वास्थ्योपचारमा प्रयोग भएको केवल १५ प्रतिशत मात्रै फोहोरलाई घातक मानिन्छ। ती फोहोर सङ्क्रामक जीवाणुयुक्त हुन्छन् वा रेडिओधर्मी वा विषालु हुन्छन्।

अन्य ८५ प्रतिशत फोहोर हाम्रो घर र कार्यालयमा हुनेभन्दा खासै फरक होइन। ती फोहोरमा खानेकुराका डिब्बा, खानेकुरा छोप्न वा राख्न प्रयोग हुने सामग्री आदि पर्छन्। हो, यही घातक नहुने ८५ प्रतिशत फोहोर नै कम गर्न सकिने हो।

झट्ट हेर्दा पटकपटक प्रयोग गरिने सामग्रीको व्यवस्थापन भन्दा एक पटक प्रयोग गर्ने सामग्रीहरू कम खर्चिलो हुने देखिन्छ। तर दीर्घकालमा पटके प्रयोगका सामग्रीहरू नै खर्चिलो हुन्छन्।

क्यानडाको एउटा अस्पतालमा स्नायुशल्यचिकित्सकहरूले फाल्न मिल्ने सामानहरूको प्रयोग घटाएर झन्डै ७.५ लाख क्यानेडियन डलर खर्च कटौती गरे।

Person in PPE holding a bag of medical waste

इङ्ग्ल्यान्डको न्याश्नल हेर्थ सर्भिसको दिगो विकास एकाइकी पूर्वनिर्देशक सोनिया रोश्च्निकका अनुसार नर्सहरूलाई शय्या सार्दा वा नवजात शिशुलाई नुहाइदिँदा सर्जिकल पञ्जा आवश्यक नपर्ने सम्झाइएपछि पञ्जाको प्रयोगमा निकै कमी आएको थियो। परिणामस्वरुप अस्पतालले प्लास्टिकका पञ्जाको प्रयोगमा कटौती गरेपछि २१ टन प्लास्टिकको बचत भएको थियो र ९० हजार पाउन्ड जोगिएको थियो।

सन् २०१८ मा अमेरिकाभरिका चार मायो क्लिनिक क्षेत्रमा गरिएको एउटा सर्वेक्षणमा अमेरिकी अस्पतालबाट जम्मा हुने फोहोरमध्ये कम्तीमा २० प्रतिशत एक पटक प्रयोग गरेर फालिने प्लास्टिकका सामग्री भएको देखियो। त्यस्तै ५७ प्रतिशतलाई शल्यक्रियाका क्रममा प्रयोग भएका कुन सामान पुनः प्रयोगमा ल्याउन सकिन्छ भन्ने थाहा छैन, ३९ प्रतिशतले कहिलेकाहीँ अथवा केहीले कहिल्यै पनि पुनः प्रयोग गरेका छैनन् र ४८ प्रतिशतलाई पुनः प्रयोगबारे पर्याप्त जानकारी छैन।

स्वास्थ्यक्षेत्रबाट निस्किने फोहोर अत्यधिक रूपमा देखा परेको अहिलेको समयमा यसले पर्यावरणलाई पार्ने असरबारे मुद्दा उठाउनुपर्ने भन्दै अनुसन्धानकर्ताहरूले आह्वान गरिरहेका छन्।

“कोरोनाभाइरस एउटा उत्प्रेरक बन्न सक्छ किनभने अहिले सायद मानिसहरूले महसुस गर्न सक्छन् कि पर्यावरण बिग्रिँदै गए नयाँनयाँ रोग देखापर्न सक्नेरहेछ,” रोश्च्निक भन्छिन्।

“के मानिसका रूपमा हामी यसैगरी बाँच्न चाहन्छौँ? अथवा हामी भन्न सक्छौँ: यदि हामी स्वस्थ हुन चाहन्छौँ भने पृथ्वी पनि स्वस्थ हुनुपर्छ – र त्यसका लागि हामी सबैको केही न केही कर्तव्य रहन्छ।”

Hands holding a plastic bag with a vial in it

जलवायुको स्वास्थ्य

कार्बन डाईअक्साईडबाहेक स्वास्थ्यसेवामा बिरामीको उपचारका क्रममा अरू थुप्रै हरित गृह ग्यासको प्रयोग हुन्छ। यी ग्यासमध्ये पाँच प्रतिशतमात्रै बिरामीको प्रणालीमा शल्यक्रियाका क्रममा पस्छ बाँकी सबै फोहोरको रूपमा फालिन्छ। यी ग्यासहरूले विश्वव्यापी तापमान वृद्धिका लागि कार्बनडाइअक्साईडले भन्दा २,००० गुना बढी भूमिका खेल्छन्।

“दिगो तरिकाले चिकित्सा अभ्यास कसरी गर्ने भन्नेबारे प्रत्येक स्वास्थ्यकर्मीले सोच्नुपर्छ,” रोश्च्निकले भनिन्। वायुप्रदूषण, जलवायु परिवर्तन र प्लास्टिकका फोहोरले स्वास्थ्यमा निम्त्याउने खतरामाझ यस क्षेत्रलाई सफा राख्दा त्यसले धेरैको ज्यान जोगाउने अवसर दिन सक्नेछ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्