Logo
|
Thursday 28th March 2024
Logo

epaper

कोरोना भाइरस यूके: हजारौँ मानिसलाई अस्पतालमा सङ्क्रमण भएको हुनसक्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  बेलायतमा वैज्ञानिकहरूले गरेको एक अध्ययनमा हजारौँ मानिसहरू अस्पतालबाटै कोरोना भाइरस संक्रमित भएका हुनसक्ने देखिएको छ । किङ्स कलेज लण्डनले यूकेका १० अस्पताल अनि इटलीको एक अस्पतालमा गरेको अध्ययनमा त्यहाँ उपचाररत प्रत्येक आठमध्ये एक बिरामीमा अस्पतालमै संक्रमण भएको बताइएको छ । अनुसन्धानकर्ताहरुकाअनुसार, यो अनुपात तुलनात्मक रूपमा कम नै हो र यसले अस्पतालहरूमा प्रभावकारी संक्रमण नियन्त्रणका उपाय अपनाइएको देखिन्छ।उनीहरूले एप्रिल २८ सम्म १५ सय संक्रमितहरूको आँकडा केलाएका थिए। त्यतिखेर यूकेमा संक्रमण उच्च तहमा पुगेको थियो ।

मुख्य अनुसन्धानकर्ता डा. बेन कार्टरकाअनुसार, ‘यी अधिकांश बिरामी पहिले देखिनै अस्पतालमा थिए। उनीहरू वृद्धवृद्धा, कमजोर र अन्य रोग लागेकाहरू थिए।’ तर उनीहरूको उपचार पनि अरूको तुलनामा बढ्ता सफल रह्यो । शायद उनीहरूको रोग पहिचान र उपचार चाँडै हुन सक्यो ।

अस्पतालमा भर्ना भएको १५ दिन वा त्योभन्दा धेरै दिनपश्चात् संक्रमित भएकाहरूलाई मात्र अस्पतालबाट संक्रमित भएको मानिएको छ । यदि अस्पतालमा भर्ना भएको ५ देखि १४ दिनको अवधिमा संक्रमित भएकालाई पनि स्वीकार्ने हो भने यो अनुपात २३ प्रतिशतमा उक्लन्छ । तर भाइरसको संक्रमणपश्चात् शरीरमा भाइरस सक्रिय हुने वा लक्षण देखापर्ने अवधि लामो हुने भएकाले अस्पतालबाटै संक्रमित भनेर यकिन गर्न असम्भव हुन्छ ।

अक्सफोर्ड विश्वविद्यालयका सघन उपचारसम्बन्धी विज्ञ प्राध्यापक डन्कन यङ्काअनुसार यस्तो अध्ययनले छोटो समयको अस्पताल बसाइमा संक्रमित भएकाहरू समेट्न नसकेको हुनसक्छ । साथै यो अध्ययनले ती बिरामीमात्र समेट्न सक्यो जो थला परेर अस्पतालमा उपचार लिन बाध्य भए ।

जबकि अधिकांश त्यस्ता मानिस जो अस्पतालमा संक्रमित भए तर जसलाई कुनै उल्लेखनीय असर देखिएन र घरमै विनाउपचार निको भए । यो अध्ययनले अस्पतालबाट संक्रमण फैलिने जोखिम तुलनात्मक कम नै रहेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्