Logo
|
Monday 25th November 2024
Logo

epaper

मिर्गौला रोग लाग्न नदिने बाटो अवलम्बन गर्न जरुरी छ



डा. ऋषिकुमार काफ्ले, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ



नेपालमा मिर्गौला रोगको उपचारमा ३० वर्षको अवधिमा धेरै फड्को मारिसकेको छ । मुलुकमा डायलाईसिस, प्रत्यारोपण, मिर्गौला रोगको विभिन्न उपचारका विधिहरु धेरै भित्र्याइसकिएको भए पनि नेपालबाट बाहिर उपचार गर्न जानेहरुको संख्या घटेको छैन । वर्षेनी हजारौंको संख्यामा गइरहेका छन् ।


उपचार विधि वा उपचार सेवा बृद्धि गरेर देशले कहिल्यै पनि भ्याउँदैन । धेरै मानिस रोगी हुने र रोगीहरुको खर्चिलो उपचारको व्यवस्था गर्नुपर्ने, विशेषज्ञ विशेष सेवा उत्पादनमा खर्चिलो, विशेषज्ञहरु देश छोडेर जानसक्ने परिस्थितिलाई पनि ख्याल गर्दा रोग लागिसकेका व्यक्तिलाई रोगको उपचारको व्यवस्था गर्नु जरुरत छ ।

मिर्गौला बिग्रिसकेका व्यक्तिलाई प्रयाप्त डायलाईसिस, प्रत्यारोपण सेवा, पत्थरी, प्रोस्टेटलगायत विभिन्न मिर्गौलामा भएका रोगहरुको उपचार मुलुकभित्र हुनुपर्छ । तर हामी कुरेर मात्र बसिरहने, अस्पतालमा मात्र बसिरहने, बिरामीको संख्या बृद्धि भइरहँदा डायलाईसिस युनिट मात्र खोलिरहने र प्रत्यारोपण केन्द्र खोल्दै जाँदा हाम्रो देशले यो भ्याउँदैन । रोगीहरु धेरै छन् । उनीहरुलाई सम्हाल्न सकिँदैन । त्यसैले मिर्गौला रोगको रोकथाम जरुरी छ ।


शरीरभित्र रोगको लक्षण नदेखिएपछि उसले आफूलाई स्वत स्वस्थ भन्ने ठान्छ । मिर्गौला रोगीहरु लक्षणको आधारमा चिकित्सककहाँ अन्तिम अवस्थामा पुग्छन् । त्यसैले मिर्गौलाबारे जनचेतना र जानकारी गराउन जरुरी छ । यसलाई सञ्चारमाध्ययबाट बुलन्द गराउनुपर्छ ।


मिर्गौला रोगबारे विद्यालयको पाठ्यक्रममा राख्न जरुरी छ । उच्च रक्तचाप, मधुमेहमा हेलचेक्र्याई गरेमा आँखाको साथै मिर्गौला पनि बिग्रन सक्ने जस्ता कुराहरु विद्यालयस्तरबाट जानकारी गराउन सके रोकथाममा निकै सहयोग पुग्छ । नसर्ने रोगहरुको बारेमा पनि विद्यालयको पाठ्यक्रममा राख्नुपर्छ । जीवनशैली, रहनसहनसँग नसर्ने रोगको सम्बन्ध हुन्छ । यसबारे दैनिक रुपमा चर्चा परिचर्चा र बहस गर्न जरुरी छ ।


स्वास्थ्य मन्त्रालयको सूचना प्रशारण गर्ने शाखाले सरुवा रोगलाई मात्र प्राथमिकता दिएको छ । नसर्ने रोगलाई वास्ता गरेको छैन । आफूलाई केही नभएपनि लक्षणबिहीन रोगी हुन सकिन्छ । त्यसैले समयमै परीक्षण गर्नुपर्छ । रोगलागेपछि उपचार गर्छु भनेर बस्न हुँदैन । रोग पहिचानमा ढिला भएमा लाखौं रुपियाँ खर्च लाग्नसक्छ वा रोग निको नहुन पनि सक्छ । सबैले सोच्ने एउटै कुरा छ—रोग मलाई लाग्दैन, रोग अर्कालाई लाग्छ । वर्षमा एकपटक मिर्गौला परीक्षण गराउनुपर्छ । समयमा पहिचान भएमा अधिकांश रोग निको पार्न सकिन्छ । निको पार्न नसकिने रोगको पनि बृद्धिस्तर कम गर्न सकिन्छ ।


४० वर्ष नाघेको, मधुमेह, उच्चरक्तचाप, पेनकिलरको लगातार सेवन गरिरहेको, वंशाणुमा मिर्गौलाको समस्या, तौल बढी भएका व्यक्तिले वर्षमा एकपटक मिर्गौलाको परीक्षण गराउनुपर्छ ।

२०४५ सालमा वीर अस्पतालमा डायलाईसिस सेवा शुरु गरिएको हो । हरेकले आफ्नो आफ्नो मिर्गाैलाको जिम्मेवारी आफैंले लिनुपर्छ । मिर्गौला फेल भएका व्यक्तिलाई सुविधा दिनुपर्छ । दिनानुदिन मिर्गौला बिग्रिएर आउने बिरामीको संख्या घटाउनेतर्फ हाम्रो ध्यान नगएमा सुविधाको पनि महत्व रहँदैन । सुविधा दिँदै जाने तर बिरामीको संख्या बढ्दै जाँदा राज्यले धान्न सक्ने अवस्था हुँदैन । त्यसैले मिर्गौला परीक्षणका लागि जनचेतना अभिवृद्धि गर्नु राज्यको ठूलो दायित्व हो ।


सन् २००६ सालदेखि विश्व मिर्गौला दिवस मार्च महिनाको दोस्रो बिहीबार मनाउन थालिएको हो । मिर्गौला रोगीहरुले डायलाईसिस, प्रत्यारोपण र औषधिवापत् एक व्यक्तिले पाँच लाख ६० हजार रुपियाँ पाउँछ । तर यस्तै सुविधा दिँदै जाँदा मुलुकमा मिर्गौला रोगीहरुको अवस्था भयावह हुँदै जानेछ । त्यसैले रोग लाग्न नदिने बाटो अवलम्बन गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्