Logo
|
Saturday 20th April 2024
Logo

epaper

खोप केन्द्र पुगेका नागरिकको गुनासोः लाइनमा राखेर खाली हात फर्काउन भएन नि !



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।

घटना नं. १

पुरानो बानेश्वरका ६० वर्षिय हरि बहादुर श्रेष्ठ खोप लगाउन सोमबार विहान ८ बजे काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल सर्भिस हस्पिटल पुग्छन् । लाइन धेरै लामो हुन्छ । २ घण्टा लाइनमा उभिन्छन् । तर टोकन पाउन सक्दैनन् । हामी हस्पिटलमा पुग्दा टोकन सकिएकाले भोलि आउन सुरक्षाकर्मी श्रेष्ठलाई आग्रह गर्दै थिए । हस्पिटलमा बिहानैदेखि भिड हुन्छ । निरास मुद्रामा श्रेष्ठ भन्छन्—‘ सिमित डोज खोप भएकाले भोलि बिहानै आउन सुरक्षाकर्मीले भनेका छन् ।’

टोकन लिने धेरैजसो भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति र स्वास्थ्यकर्मीहरु थिए । ‘अलि टाठाबाठा र सक्नेहरुले बिहानै आएर टोकन लिए । हामीजस्ता बुढापाका भने दुई घण्टा लाइनमा उभिँदा पनि खाली हात फर्किनुपर्यो । यो त एकदमै अन्याय भयो ।’ उनले जनस्वास्थ्य सरोकारसँग गुनासो पोख्छन् ।

उनी भन्छन्— ‘स्वास्थ्यकर्मीहरुलाई प्राथमिकता दिनुस् । त्यसमा हामीलाई कुनै आपत्ति छैन । तर लक्षित समुहलाई यसरी लाइनमा राखेर खालि हात फर्काउन भएन नि । ’

घटना नं.२

काठमाडौँ पेप्सिकोला निवासी ६१ वर्षिया उर्मिला ज्ञवालीे जसोतसो एउटा ट्याक्सि जोहो गरेर विहान ९ बजे खोप केन्द्र पुग्छिन् । उनी पुग्दा टोकन सकिन्छ । उनी भन्छिन्— ‘अब यो समस्या कसलाई गएर सुनाऊँ । कम्तिमा लक्षित समुहलाई त खोपको व्यवस्था गर्नुपर्ने हो नि । भोलि आउन भनेका छन् । बिहान ६.०० बजे कसरी आऊँ ।’

यी त प्रतिनिधि पात्र मात्र हुन् ।

यसरी धेरै लक्षित समुहका नागरिकहरुले घण्टौँ लाइनमा उभिँदा पनि टोकन पाएका छैनन् । खाली हात फर्किरहेका छन् ।

कारण के हो ?

स्वास्थ्य कार्यालय काठमाडौँले सोमबार सिभिल सर्भिस हस्पिटलमा पाँच सय मात्रा खोप पठायो । धेरै भिडभाड नहोस् भनेर टोकनको व्यवस्था गरियो । भेरोसिल खोप लगाउन हस्पिटलमा आएका अत्यधिक नागरिकहरु बिहान सबेरैदेखि लाइनमा बसे । तर टोकन पाउन सकेनन् । हस्पिटलमा ५ सय डोज खोप मात्र पठाएका कारण ५ सय वटा टोकन मात्र वितरण गरिएको थियो ।

खोप केन्द्रकी सुपरभाइजर सिर्जना जिसी भन्छिन्— धेरै लक्षित समुहले गुनासो गरेकाले खोप मात्रा बढाइदिन आग्रह गरेका त छौँ । तर पठाउला नपठाउला एकिन छैन ।’

खोपको अभाव भएकै कारण लक्षित समुहका व्यक्ति खोप लगाउनबाट बञ्चित भएका छन् ।

काठमाडौं महानगरपालिकाले स्थगित गरेको खोप अभियान सोमबार अर्थात आजदेखि सुरु गरेको छ । भेरोसेल खोप अभाव भएपछि स्थगित गरेको अभियान सोमबारदेखि मंगलबारसम्म सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

दुई दिनको अवधिमा पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका व्यक्ति, यसअघि भेरोसिल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड १९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र पारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीलाई खोप दिइने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

भेरोसेल खोप उपत्यकाका चार स्थानबाट दिन सुरु गरिएको छ । खोप वीर अस्पताल, शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालबाट दिइनेछ । जेठ १ सम्म सञ्चालन हुने खोप अभियान बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्