Logo
|
Wednesday 24th April 2024
Logo

epaper

चीनबाट ‘भेरोसेल’ खोप ल्याउन आजदेखि तीन उडान



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जाने बताउनुभयो ।

सरकारले सरकार-सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो । उहाँका अनुसार आज साँझ निगमको विमान खोप लिनका लागि चीन जाँदै छ । जहाजले भोलि खोप ल्याउने छ ।

यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।

उहाँले पहिलो पटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको एकिन थाहा हुने बताउनुभयो । चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो ।

खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्रथामिकताका आधारमा लगाउने उहाँको भनाइ रहेको छ । यस्तै सरकारलाई कोभ्याक्स सुविधामार्फत समेत छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिवद्धता अनुसार बाँकी खोप दिने तयारी गरिरहेको जानकारी दिनुभयो । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो ।

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्