Logo
|
Friday 26th April 2024
Logo

epaper

कोभिड—१९ विरुद्धको १ करोड ५० लाख डोज खोपको सुनिश्चिता गर्दै ओली सरकारबाट बाहिरिए

ओलीले भन्नुभयो—‘नयाँ सरकारले आफैंले जादु गरेर ल्याएको भन्ने तमासा भोलिदेखि शुरु गर्नसक्छ’



जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १ करोड ५० लाख डोज खोप आउने प्रक्रिया अघि बढाइसकेको र खोप आउने क्रम जारी रहेको बताउनुभएको छ । उहाँले बालबालिकालाई दिन मिल्ने फाइजरको ६० लाख डोज खरीद प्रक्रिया अघि बढिसकेको जानकारी गराउनुभयो ।

सरकारबाट बहिर्गमन हुनुभन्दा अघि आज राष्ट्रको नाममा गर्नुभएको सन्देशमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनुभएको हो ।

उहाँले—भन्नुभयो—अब हामीलाई खोपको अभाव हुने छैन । मोटामोटी रुपमा सन् २०२१ भित्र ठूलो जनसंख्यालाई खोप लगाइसक्ने छौं र सम्पूर्ण जनतालाई खोप सुविधा उपलब्ध गराउनेछौं । ’

हालसम्म पहिलो डोज खोप प्राप्त गर्नेको संख्या २६ लाख ११ हजार ८ सय ७ पुगेको छ । दोस्रो डोज प्राप्त गर्ने ९ लाख ३२ हजार ८ सय ६८ पुगेको छ ।

हाल खरीद गरिएको ५० लाख मात्रा र अनुदानमा २१ लाख मात्रा गरी १ करोड ३१ लाख मात्रा सुनिश्चित भइसकेको छ । २ करोड भन्दा बढी मात्रा खोप खरीद प्रक्रियाको टुंगो लागेको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो—‘आगामी केही महिनाभित्र सबै नेपालीले खोप लगाउने सुनिश्चितता भइसकेको छ । प्रतिकुल अवस्थामा पनि कोभिड महामारीका विरुद्ध प्रभावकारी लडाई सञ्चालन गरिएको छ ।’

भारतबाट अनुदान १० लाख र १ लाख गरेर ११ लाख डोज प्राप्त भएको छ । चीनबाट १० लाख थप खरीद गरिएको छ । चीनबाट ४० लाख डोज खरीद गरेका छौं—प्रधानमन्त्री ओलीले भन्नुभयो—‘जसमध्ये ८ लाख आइसकेको छ र अरु ३२ लाख क्रमश आउँदै गर्नेछ । थप ६० लाख डोज खरीद प्रक्रिया अघि बढेको छ ।’

अमेरिकाबाट उपहारस्वरुप जोन्सोन एण्ड जोन्सोनको १५ लाख डोज असार २८ गते प्राप्त भइसकेको छ । यो एक डोज लगाए हुन्छ । दोहोर्याएर लगाउनुपर्दैन ।

चीनबाट अनुदान प्राप्त १८ लाख डोज र थप १६ लाख अनुदान दिने नयाँ घोषणा भएको छ । जापानबाट आज मात्रै १६ लाख अस्ट्राजेनिकाको खोप उपलब्ध गराउने प्रतिवद्धता भइसकेको छ । यो कोभिसिल्डको पहिलो डोज लगाइसकेकाहरुलाई दोस्रो डोजका रुपमा प्रयोग गरिनेछ ।

कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज खोप आएको छ र ३ लाख ५० हजार आउँदैछ । कोभ्याक्स सुविधा अन्तर्गत ६० लाख डोज उपलब्ध हुनेछ । जोनसोन एण्ड जोन्सनको ५० लाख, मोडर्नाको ४० लाख, फाइजरको ४० लाख र कोभिसिल्ड एस्ट्राजेनेकाको २० लाख गरी १ करोड ५० लाख सुविधा मूल्यमा प्राप्त भएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

उहाँले अहिलेको मुल प्रश्न भनेकै खोपको आपूर्ति भएको जानकारी गराउँदै भन्नुभयो—‘हामी कोभिड १९ लाई नियन्त्रण गर्ने चरणमा प्रवेश गरेका छौं । हामीले सम्पूर्ण नेपाली जनतालाई खोप लगाउने र खोप उपलब्ध गराउने प्रवन्ध गरेका छौं । देश खोपयुक्त अवस्थामा अघि बढिसकेको छ ।’

खोपको माग र आपूर्तिबीचको ठूलो असन्तुलन, खोपको असमान वितरणबीच पनि नेपालले खोपलाई तिब्रता दिएको छ । हामी खोपका उत्पादक होइनौं तर हामीले छोटो अवधिमा आफ्ना नागरिकलाई खोपको व्यवस्था गरेका छौं ।

‘हुन त मलाई थाहा छ, भरे बेलुका र भोलि बिहानबाट आफूले लगाइरहेको खोपको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरु हुने छ । मानिलिऔं जादु गरेर उनीहरुले आजै ल्याएका हुन् कि जस्तो एउटा प्रचार गर्नेछन् ।–प्रधानमन्त्री ओलीले भन्नुभयो— मलाई प्रचारको कम्पिटिसन गर्नुछैन । मैले देश र जनताको लागि काम गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्