Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

कोरोनाको जोखिममा मिर्गौला रोगी



‘कोरोना पोजेटिभ आएकाले घरमा बसेँ । कसैले पनि छुन नहुने टाढाबाट हेर्ने मात्र । त्यही बीचमा डायरिया भयो । हातखुट्टा टेकेर बाथरुम गएँ । न श्रीमती, न छोराछोरी घरका कसैले पनि माया गरेनन् । टाढैबाट अ¥हाउँछन् मात्र । टाढैबाट खाना दिन्छन् । एकातिर रोगले च्यापेको छ अर्कोतिर मानसिक तनाव । यो रोग कस्तो अछुतो रहेछ ।’— कोभिड संक्रमण भएपछि एकजना चिनेका व्यक्तिले वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेलाई गुनासो सुनाएका थिए । यो एक प्रकारको अछुतो रोग जस्तै हो । कोरोनाले मिर्गौला रोगीहरुलाई चाँडै आक्रमण गर्छ । कोरोना र मिर्गौला रोगबारे डा. काफ्लेको भनाइ उहाँको आफ्नै शव्दमा ।

कोरोना भाइरसले मिर्गौला रोगी, क्रोनिक किड्नी डिजिज (सिकेडी), मिर्गौला प्रत्यारोपण गरेका र डायलाईसिसमा रहेका व्यक्तिहरुलाई चाँडै आक्रमण गर्छ र व्यक्तिको ज्यानसमेत लिनसक्छ । यस्ता बिरामीहरुमा रोग सँग लड्ने क्षमता कमजोर हुने भएकाले उनीहरु कोरोनाको जोखिम वर्गमा पर्छन् ।


मिर्गौलाका बिरामीहरुले इम्युनोसप्रेसिभ आदि औषधिहरु सेवन गरिरहेका हुन्छन् । प्रेसर, डायबिटिज, नेफ्राइटिस, औषधिको सेवनलगायत विभिन्न कारण मिर्गौलाको दीर्घ रोग भएकाहरुमा रोगसँग लड्ने क्षमता निकै कमजोर हुन्छ । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुले इम्युनोसप्रेसिभ लगायतका औषधिहरु सेवन गर्नुपर्ने भएकाले उनीहरुमा पनि रोगसँग लड्ने क्षमता कमजोर हुन्छ ।

कोरोना संक्रमणले अझै रोग सँग लड्ने क्षमता कमजोर बनाउने भएकाले शरीरमा डबल इम्युनो सप्रेसन हुँदा कम्लिकेसन आउनसक्ने बढी सम्भावना हुन्छ । प्रत्यारोपण गरेका व्यक्तिहरुले चिकित्सकको सल्लाह बमोजिम ट्याक्रोलोमस ा औषधि तत्काल छोड्नुपर्छ । डायलाईसिस गरिहेका व्यक्तिहरुमा रोगसँग लड्ने क्षमता कममजोर भइरहेको हुन्छ । उनीहरुले बाँच्नकै लागि हप्तामा २ देखि ३ पटकसम्म डायलाईसिस गर्नुपर्छ । कतिपय बिरामीहरु डायलाईसिस गर्दा खाने गर्छन् । तर अहिलेको कोभिड महामारीमा डायलाईसिस गर्दा नखाएकै राम्रो हुन्छ किनभने मास्क झिकेर खानुपर्ने भएकाले अस्पतालका कर्मचारीहरुबाट पनि कोरोना रोग सर्ने अत्यधिक सम्भावना रहन्छ ।

प्रत्यारोपण गरेकाहरुमा कोरोना संक्रमण भएमा मृत्यु हुनसक्ने सम्भावना बढी हुन्छ । कोरोना कालमा डायलाईसिस गरेर बस्दा पनि मृत्यु हुने संभावना अधिक हुन्छ ।

वैज्ञानिहरुले भन्ने गरेका छन्—‘तिमीले राम्रो व्यवस्थापन गरेर प्रत्यारोपण गर्न सक्छौ भने कोरोना कालमा पनि प्रत्यारोपण गरेमा फरक पर्दैन । तर जोखिम बढी भएमा प्रत्यारोपण गर्न हुँदैन । अहिलेको कोरोना कहरमा प्रायः सबै ठाउँमा मिर्गौला प्रत्यारोपण सेवा बन्द छ । गत वर्ष कोरोना महामारीमा पनि ७—८ महिना जति मिर्गौला प्रत्यारोपण सेवा बन्द भएको थियो ।

कोरोना पोजेटिभ भएर निको भएका मिर्गौलाका बिरामीहरुको संख्या पनि उल्ल्लेख्य छ । कोरोना संक्रमणले कतिपय बिरामीको स्थिति बिग्रदै गएको अवस्था पनि छ । त्यसैले यो महामारीमा प्रत्यारोपण गरेका व्यक्तिहरुलाई घरबाट नै गाइडेन्स सेवा दिनुपर्छ । आवश्यकताबाहेक अस्पताल भर्ना गर्न हुँदैन । अहिलेको अवस्था जटिल छ । कति व्यक्तिहरुलाई हामीले गुमाएका छौं । अहिले कोरोनाका कारण २० प्रतिशत मिर्गौला बिरामीहरुको मृत्यु भएको छ ।

त्रिशुलमन्त्रको मनन
भगवान शिवले हरेक संकटमा त्रिसुलको प्रयोग गरेर जित्नु भएको हो । शिवजीले त्रिशुललाई अस्त्रको रुपमा लिनुभएको थियो । अहिले पनि हामीलाई कोरोना जित्न ३ वटा मन्त्र आवश्यक छन् । एउटा व्यक्तिदेखि अर्को व्यक्ति बीच सामाजिक दूरी कायम राखेर व्यवहार गर्ने, मास्क नछोड्ने र हातधुने । यसलाई त्रिशुल मन्त्रकै रुपमा लिनुपर्छ । विश्वमा कोरोनाको तेस्रो लहर आइसक्दापनि यो बाहेक अर्को बिकल्प पाइएन । मिर्गौला फेलबाट बच्न हामीले त्रिशुल मन्त्र मनन गर्न जरुरी छ ।

सावधानी
प्रत्यारोपण गरेर इम्युनोसप्रेसिभ औषधि सेवन गरिरहेका व्यक्तिहरुले कोरोना संक्रमण भएमा डोज घटाउने वा रोक्ने भन्नेबारे चिकित्सकसँग सल्लाह लिन आवश्यक हुन्छ । आत्तिएर हामीले झ्याप्पै औषधि रोक्न भन्ने हुँदैन । औषधि छोड्दा हुने असरबारे पनि ख्याल गर्नुपर्छ । कोरोनासँग डराउन हुँदैन । डायलाईसिस गरिरहेका संक्रमितहरु पनि निको भएका छन् । रोग लागिहालेमा पनि नडराउनु पहिलो मन्त्र हो । दोस्रो मन्त्र भनेको रोग लागिसकेपछि चिकित्सकसँग सल्लाह लिन भूल्न हुँदैन । तेस्रो मन्त्र जथाभावी औषधि सेवन गर्नुहुँदैन । अन्त्यमा के तपाईंले साँच्चिकै दूरी कायम गर्नुभएको छ ? साँच्चिकै राम्रोसँग मास्क लगाउनु भएको छ ? साँच्चिकै तपाईंले हात धुनु भएको छ ?

यदि सहि तरिकाले त्रिशुल मन्त्र मनन् गरेमा कोरोना सर्ने सम्भावना निकै कम हुन्छ र हामीलाई खुशी र सुखी जीवनयापन गर्न त्रिशुल मन्त्रले मद्धत गर्छ ।

मास्कको महत्व
हामीले लगाउने मास्कले कोरोनाभाइरस एकव्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न दिँदैन । भाइरस फैलिन नदिन मास्कको महत्वपुर्ण भुमिका रहन्छ । प्रायः सर्जिकल र एन ९५ मास्क प्रभावकारी मानिएको छ । दुई तहको कपडाको मास्कले ६० प्रतिशत जति कोभिड छेकेको पाइएको छ । राम्रोसँग लगाउँदा एन ९५ मास्कले ९५ प्रतिशत, सर्जिकल मास्कले करिब ८५ प्रतिशत कोभिड छेक्ने गरेको अध्ययनहरुले देखाएका छन् । जबकी दुई तहको कपडाको मास्क समुदायमा ६० प्रतिशत व्यक्तिले लगाएको खण्डमा पनि कोभिड महामारी लगभग आफैं नियन्त्रण हुने विभिन्न अध्ययनहरुले गरेको सर्बेक्षणहरुले देखाएका छन् । अस्पताललगायत मानिसहरु भिड हुने स्थलहरुमा मास्कको प्रयोग समुचित तवरले गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्