एक्युट मिर्गौला फेल के हो ?
मिर्गौलाको काम गर्ने क्षमतामा एकाएक कमी आउनुलाई तीब्र मिर्गौला खराबी (एक्युट किड्नी इन्जुरी) भनिन्छ । यस किसिमको अवस्था स्वस्थ मिर्गौला वा पहिलेदेखि समस्याग्रस्त मिर्गौला दुवैमा हुनसक्छ । साधारणतया विभिन्न कारणबाट मिर्गौलालाई आघात परेको २४ घण्टाभित्र यस किसिमको समस्या हुनसक्छ ।
झाडाबान्ता, अत्यधिक पसिना, शरीरको कुनै पनि महत्वपूर्ण भागमा संक्रमण जस्तो—फोक्सो, पिसाब संक्रमण आदि, प्रचुर रक्तश्राब र दुर्घटना आदि कारणले रक्तचापमा कमी आउनसक्छ । यसलाई मिर्गौला खराबीको कारण मान्न सकिन्छ । यसका साथै अधिक पोलेको घाउका कारण पनि मिर्गौलामा खराबी आउनसक्छ ।
मिर्गाैलालाई नकारात्मक असर पर्ने औषधिको प्रयोग जस्तै—एण्टीबायोटिकलगायतका दुखाई कम गर्ने औषधि, एक्सरेका लागि प्रयोग गरिने औषधि, मिर्गौलाको सङक्रमण, मिर्गौलाको जालो सुन्निने रोग, सर्प, वारुला एवं अन्य किराहरुको टोकाईले मिर्गौला खराब हुनसक्छ ।
मिर्गौलामा पत्थरी, ट्यूमर, पिसाब नली साँगुरिने, पिसाबको थैलीले काम नगरेमा पिसाब नलीमा अवरोध आएर मिर्गौला खराब हुनसक्छ ।
रगतमा क्रिएटिनिन परीक्षण गरेमा मिर्गौलाको अवस्था पहिचान हुन्छ । मिर्गाैलाको भिडियो एक्सरे गरेमा पिसाब निस्कने बाटोमा अवरोध भएनभएको, पिसाब थुनिए नथुनिएको, पत्थरी एवं टयूमर भएनभएको र मिर्गौला सुन्निएनसुन्निएको पत्ता लगाउन सकिन्छ । यथाशक्य चाँडो पहिचान गरी उपचार शुरु गर्नुपर्छ । झाडाबान्ता भएमा नशाको माध्यमबाट नर्मल स्लाइन पानी दिनुपर्छ । यसकासाथै मुखबाट जीवन जल पानी पनि खुवाउन सकिन्छ । शरीरमा रगत कमी भएमा रगत दिनुपर्छ । खानामा माछा मासु दिन हुँदैन । गेडागुडी कम गर्ने, फलफूल नदिने र संक्रमणको सही उपचार गर्न आवश्यक हुन्छ । पिसाबको अवरोध हटाउने प्रयास गर्नुपर्छ । जस्तो—पिसाब नलीमा पाइप राख्ने, पत्थरी फुटाउने वा शल्यक्रिया आदि ।
आफूले प्रयोग गरिरहेका औषधिले समस्या सिर्जना गरेको पाइएमा यसलाई बन्द गर्नुपर्छ । बिरामीको रक्तचाप नियन्त्रण गर्नुपर्छ । आफूले पिइएको पानीको आधारमा पिसाब भएनभएको कुराको सही जानकारी राख्नुपर्छ । उल्लेखित उपायले काम नगरे डाइलाईसिसमा जानुपर्छ ।
वर्षमा एकपटक नियमित मिर्गौला परीक्षण गर्नुपर्छ । साथै प्रशस्त मात्रामा पानी पिउन आवश्यक हुन्छ । काठमाडौंको वातावरणमा एक दिनमा दैनिक ३—४ लिटर र तराईको गर्मी वातावरणमा दैनिक ५—६ लिटर पानी पिउनुपर्छ । अत्यधिक माछामासु नखाने, रंग लगाएका र रसायनिक पदार्थ प्रयोग गरिएका खाद्यान एवं तरकारी बन्द गर्ने र शाकाहारीमा जोड दिनुपर्छ । नियमित व्यायाम गरी शरीर हृष्टपुष्ट एवं स्वस्थ्य राख्ने, चिकित्सकको सल्लाह विना औषधि प्रयोग गर्न हुँदैन ।
परीक्षण नभएका जडिबुटी औषधिहरु विकल्पका रुपमा प्रयोग नगर्ने, एन्टीवायोटिक र दुःखाइ कम गर्ने औषधि सावधानीका साथ प्रयोग गर्नुपर्छ । नशाको माध्यमबाट औषधि दिई गरिने उपचारमा मिर्गाैलाको अवस्था जाँच र परीक्षण गर्नुपर्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, इन्टरनेटबाट मिर्गाैला रोगसम्बन्धि जानकारी लिएमा धेरै हदसम्म मिर्गौला रोग लाग्नबाट बच्न सकिन्छ ।