Logo
|
Thursday 28th March 2024
Logo

epaper

विश्व क्यान्सर दिवस २०२२: ‘क्यान्सर उपचारमा विद्यमान विभेद अन्त्य गरौँ ’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ लाई विश्व क्यान्सर दिवसका रुपमा मनाउने गरिन्छ । यसवर्ष ‘क्यान्सर उपचारमा विद्यमान विभेद अन्त्य गरौँ ’(क्लोज द केयर ग्याप) भन्ने मूल नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ ।

संसारमा ज्यान लिने धेरै रोगहरुमध्ये क्यान्सर दोस्रो स्थानमा पर्छ । यो मानव मृत्युको मुख्य कारण पनि हो । यो तब सुरू हुन्छ जब एक कोष आफ्नो स्वरुप परिवर्तन गर्छ, बढ्न लाग्छ र छिटो विभाजन हुन थाल्छ । शुरुमा एउटा कोष दुई कोषमा विभाजित हुन्छ । त्यसपछि चार, आठ र ठूलो संख्यामा सेलहरू गठन गरेर ट्युमरको रुप धारण गर्छ ।

यद्यपि, सबै ट्यूमर क्यान्सर हुँदैनन् । जब यो अनियन्त्रित रूपमा बढ्छ तब प्रायः सम्पूर्ण शरीरमा फैलन थाल्छ । क्यान्सर शरीरको कुनै पनि ठाउँमा असामान्य कोशिकाको अनियन्त्रित वृद्धि हो । स्तन क्यान्सर, छालाको क्यान्सर, फोक्सोको क्यान्सर, पेटको क्यान्सर, प्रोस्टेट क्यान्सर र लिम्फोमा सहित १०० भन्दा बढी प्रकारका क्यान्सरहरू हुन्छन् । क्यान्सरको प्रकार अनुसार लक्षणहरु पनि फरक हुन्छन् ।

यी असामान्य कोशिकाहरुलाई क्यान्सर कोषिका, म्यालिग्नेन्ट ट्यमुर एवं ट्यूमर सेल पनि भनिन्छ । यी कोशिकाहरूले शरीरमा सामान्य टिस्युको रुपमा घुसपैठ गर्न सक्छन् । धेरै क्यान्सरहरू र क्यान्सर टिस्यु रचना गर्ने असामान्य कोशिकाहरुलाई टिस्युको नामबाट पहिचान गरिन्छ जुन असामान्य कोशिकाबाट उत्पन्न भएको हुन्छ (जस्तै—स्तन क्यान्सर, फोक्सोको क्यान्सर, कोलोरेक्टल क्यान्सर) । क्यान्सर उपचारमा केमोथेरापी, विकिरण र शल्यक्रिया समावेश हुन्छन् ।

क्यान्सर तथ्य

  • ग्लोबोक्यानको २०१८ को अध्ययनले विश्वमा वर्षेनी १ करोड ८१ लाख व्यक्तिमा क्यान्सर हुने गरेको देखाएको छ । त्यसमध्ये वर्षेनी करिब ९.६ मिलियनको ज्यान ज्यान जाने गरेको छ । यस अध्ययनले मृत्यु हुने ६ जनामध्ये एकजनाको क्यान्सरका कारण मृत्यु हुने गरेको देखाएको छ ।
  • क्यान्सरबाट हुने करिब ७० प्रतिशतको मृत्यु निम्न र मध्यम आम्दानी भएका देशहरु रहेका छन् ।
  • क्यान्सरबाट हुने करिब एक तिहाइको मृत्यु ५ मुख्य व्यवहार र खानपानको जोखिमबाट हुने गरेको पाइएको छ । जसमा हाई वडी मास इन्डेक्स, फलफूल र सागसव्जीको उपभोगमा कमी, शारीरिक अभ्यासको कमी, धुम्रपान र मध्यपान रहेका छन् ।
  • क्यान्सर गराउने मुख्य कारकमा सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवन मानिएको छ । क्यान्सरबाट हुने करिब २२ प्रतिशतको मृत्युको कारक सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवनलाई लिइएको छ ।
  • निम्न र मध्यम आम्दानी भएका देशहरुमा क्यान्सर गराउने २५ प्रतिशत कारकमा हेपाटाइटिस र ह्युमन प्यापिलोमा भाइरस (एचपिभि) को संक्रमणलाई लिइएको छ ।
  • अन्तिम अवस्थामा अस्पताल पुग्ने, भरपर्दो डायग्नोष्टिक र उपचारको अभाव धेरैको समस्या हो । सन् २०१७ मा निम्न तथा कम आम्दानी भएका देशहरुका करिब २६ प्रतिशत व्यक्तिले मात्र प्याथोलोजी सेवा प्राप्त गरेका थिए । ३० प्रतिशत कम आम्दानी भएका देशहरुको तुलनामा ९० प्रतिशत उच्च आम्दानी भएका देशहरुमा उपचार सेवा उपलब्ध भएको थियो ।
  • क्यान्सर उपचारमा आर्थिक प्रभाव महत्वपूर्ण र वढ्दो छ । सन् २०१० मा वार्षिक करिब १.१६ ट्रिलियन डलर क्यान्सर उपचारमा खर्च भएको विश्व स्वास्थ्य संगठनले देखाएको छ ।
  • कम र मध्यम आम्दानी भएका देशहरुमा क्यान्सर नीति अघि बढाउन तथ्यांक आवश्यक छ ।

स्रोतः विश्व स्वास्थ्य संगठन

बालबालिकाहरुमा क्यान्सर

  • विश्वमा बालबालिका र किशोर किशोरीहरुको मृत्युको प्रमुख कारण क्यान्सर देखिएको छ । वर्षेनी जन्मेदेखि १९ वर्ष समूहका ३ लाख बालबालिकाहरुमा क्यान्सर हुने गरेको छ ।
  • ल्यूकेमिया, मस्तिष्क क्यान्सर, लिम्फोमा, ठोस ट्यूमर (जस्तैः न्यूरोब्लास्टोमा, विल्म्स) अधिकांश बालबालिकाहरुमा देखिने क्यान्सर हुन् ।
  • धेरै आम्दानी भएका देशहरुले क्यान्सर ग्रस्त भएका ८० प्रतिशत बालिबालिकाहरुको क्यान्सर निको पारेका छन् । तर निम्न र मध्यम आम्दानी भएका देशहरुले २० प्रतिशत भन्दा बढी बालबालिकाहरुको क्यान्सर निको पार्न सकेका छैनन् ।
  • सामान्यत बाल्यकालको क्यान्सर रोकथाम र स्क्रिनिङ गर्न सकिदैन ।
  • क्यान्सरग्रस्त बालबालिकाहरुको प्रभावकारी उपचारमा चाँडो र सही डायग्नोष्टिकको जरुरत पर्छ ।
  • प्राय बाल्यकालको क्यान्सर जेनेरिक औषधि, सर्जरी र रेडियोथेरापीबाट निको पार्न सकिन्छ । वाल्यवस्थाको क्यान्सर उपचार कष्ट इफेक्टिभ हुन्छ ।
  • कम र मध्यम आय भएका देशहरुमा क्यान्सर मृत्युबाट बालबालिकाहरुलाई बचाउन नसकिने कारणहरुमा सही डायग्नोसिसको अभाव, गलत तथा ढिलो डायग्नोसिस, बीचैमा उपचार छाड्ने, हेरचाहमा कमी आदि रहेका छन् ।
  • बाल्यावस्थाको क्यान्सर डाटा सिस्टमलाई प्रभावकारी बनाउन गुणस्तरीय हेरचाह र नीति निर्णयहरुमा सुधार ल्याउन जरुरी छ ।

स्रोतः विश्व स्वास्थ्य संगठन

ह्यूमन प्यापिलोमा भाइरस (एचपिभी) र सर्भाइकल क्यान्सर

  • ह्यूमन प्यापिलोमा भाइरस भाइरसहरुको समूह हो । जुन विश्वव्यापी रुपमा धेरै महिलाहरुलाई हुने गरेको छ ।
  • एचपिभीका १०० भन्दा बढी प्रकारमध्ये १४ वटाले क्यान्सर जोखिम निम्त्याउने गरेका छन् । जसलाई उच्च जोखिम प्रकार मानिन्छ ।
  • मुख्यत रुपमा यौन सम्पर्कको माध्यमबाट एचपिभी प्रशारित हुन्छ र यौन गतिविधि लगत्तै अधिकांश एचपिभी संक्रमित हुन्छन् ।
  • दुई प्रकार १६ र १८ को एचपिभी सर्भाइकल क्यान्सरको ७० प्रतिशत कारण मानिएको छ । शुरुमा सर्भाइकलमा घाउ बनाउनमा यो बढी जिम्मेवार हुन्छ ।
  • एचपिभिलाई गुद्धार, वोल्भा, योनी, पेनिस, आरोफ्रेक्सको क्यान्सरसँग जोड्ने प्रमाणहरु पनि छन् ।
  • सर्र्भाइकल क्यान्सर धेरै महिलाहरुलाई हुने चौथो नम्बरमा पर्छ । सन् २०१८ मा ५ लाख ७० हजारमा सर्भाइकल क्यान्सर भएको अनुमान गरिएको छ । सन् २०१८ मा एचपिभीबाट विश्वव्यापी मृत्यु भएका ३ लाख ११ हजारमध्ये करिब ९० प्रतिशत निम्न र मध्यम आम्दानी भएका देशका महिला रहेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।
  • सर्भाइकल क्यान्सर नियन्त्रणमा प्राथमिक रोकथामअन्तर्गत एचपिभी विरुद्धको खोप लगाउने, सेकेन्डरी रोकथाममा क्यान्सरग्रस्त घाउहरुको स्क्रिनिङ र उपचार गर्ने, तेस्रो रोकथाममा आक्रामक सर्भाइकल क्यान्सरको निदान, उपचार गर्ने र प्यालियटिभ केयर रहेका छन् ।
  • प्रकार १६ र १८ एचचपिभीबाट जोगिन विश्व स्वास्थ्य संगठनले खोप सिफारिस गरेको छ । धेरै देशहरुमा प्रयोगका लागि अनुमोदन गरिसकिएको छ ।
  • क्लिनिकल परीक्षण र पोष्ट मार्केटिङ सर्भेलेन्सले एचपिभी संक्रमणबाट रोक्न भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको देखाएको छ ।
  • महिलाहरुमा सर्भाइकल क्यान्सर रोकथामका लागि क्यान्सरपूर्व घाउहरुको स्क्रीनिङ र उपचार खर्चको दृष्टिबाट पनि एक प्रभावकारी तरिका हो ।
  • शुरुवाती चरणमा उपचार गरिएमा सर्भाइकल क्यान्सर निको हुनसक्छ ।

स्रोतः विश्व स्वास्थ्य संगठन

नेपाल अर्बुद्ध रोग निवारण संस्थाका अनुसार, नेपालमा हरेक वर्ष करिब २० हजार ५०८ नयाँ बिरामी थपिएको देखिन्छ । करिव १३ हजार ६ सय २९ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।

नेपालमा करिब ५० देखि ६० हजार क्यान्सर रोगीहरु रहेको अनुमान गरिएको छ । विगतको ५ वर्ष भित्र करिब ४३ हजार क्यान्सर बिरामीहरु पूर्ण रुपमा निको भएको तथ्याङ्कले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) का सदस्य सचिव एवं कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार, पुरुषलाई फोक्सो र महिलालाई पाठेघरको क्यान्सर बढी देखिएको छ । मुलुकमा पहिलो पटक जनसंख्यामा आधारित रहेर नौ वटा जिल्लाको तथ्यांक संकलन गर्दा पुरुषमा फोक्सोको क्यान्सर देखियो । शहरी क्षेत्रका महिलामा स्तनको क्यान्सर पहिलो देखिएको डा. ज्ञवालीले जानकारी दिनुभयो । ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर देखापरेको छ । काठमाडौं उपत्यकामा एकलाख पुरुषमा ९५ दशमलव ३ प्रतिशत र महिलामा ९८ दशमलव १ प्रतिशत क्यान्सरको बिरामीको दर पाइएको छ ।

नेपाल क्यान्सर सर्जन समाजका अध्यक्ष डा. प्रकाशराज न्यौपानेका अनुसार, कतिपयलाई क्यान्सर भएको थाहै छैन । क्यान्सर भएपनि उपचार नपाएका छन् । क्यान्सरको उपचार गर्न पर्खिरहेका बिरामीको संख्या पनि उल्लेख्य छ ।

उहाँ भन्नुहुन्छ—‘क्यान्सर लागेको शंका भएका र क्यान्सरको पुष्टि भइसकेका बिरामीलाई कोभिड भएको छ भने पनि घरमा नबस्नुस् । कुनै क्यान्सर छिटो र कुनै ढिलो बढ्ने गर्छ । उपचारमा ढिलाई नगरौं ।’

महिलाहरुलाई स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. आरती शाह बेलैमा सजग भए यी दुवै क्यान्सरबाट जोगिन सकिने बताउनुहुन्छ । एचपीभी भ्याक्सिन लगाएको अवस्थामा पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिन्छ । अस्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेशन र नेपाल नेटवर्क फर क्यान्सर ट्रिटमेन्ट एण्ड रिसर्च (एनएनसीटीआर) बनेपाको तत्वावधानमा पहिलो पटक नेपालमा सन् २००८ मा पहिलो लगाइएको थियो । १० वर्षदेखि २६ वर्ष उमेर समूहका किशोरीहरुमा तीन डोज खोप लगाइएको डा. शाह बताउनुहुन्छ । त्यो बेला १ हजार १९ जना किशोरीलाई खोप लगाइएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०१४ देखि विकाशशील मुलुकमा दुई डोज खोप लगाउन सकेमा पनि प्रभावकारी हुने उल्लेख गरेको छ । डा. शाह भन्नुहुन्छ—‘बालिकाहरुलाई बेलैमा एचपीभी खोप उपलब्ध गराउन सके भविष्यमा पाठेघरको मुखकोे क्यान्सरको जोखिम हुँदैन । नियमित राष्ट्रिय खोप अभियान अन्तर्गत एचपीभी खोपलाई पनि समावेश गर्नु जरुरी छ । ’

भक्तपुर क्यान्सर अस्पतालको बहिरङ्ग विभागमा कार्यरत डा. एलिजा श्रेष्ठ निकै ढीलो भइसकेपछि बिरामी उपचार गर्न आउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ—‘कतिपय बिरामीलाई त क्यान्सर भएको थाहा नै छैन । दोस्रो र तेस्रो अवस्थामा पुगिसकेपछि बल्ल उपचार गर्न आउँछन् । बिरामीको अवस्थाले मन छुन्छ ।’

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ क्यान्सर विरुद्ध सरकारले भन्दा सामाजिक संघ संस्था र निजी क्षेत्रबाट क्यान्सर विरुद्ध जनचेतना फैलाउनुपर्ने कार्य भइरहेको बताउनुहुन्छ ।

सार्क फेडेरेशन अफ अंकोलोजिष्ट, नेपालका अध्यक्ष डा. राजेन्द्रप्रसाद बरालका अनुसार, क्यान्सर जनुसुकै लिङ्ग, उमेर र पेशाकर्मी जो सुकैलाई हुनसक्छ । समयमै पहिचान गरी उपचार शुरु गर्ने हो भने निको हुन्छ । क्यान्सरसँग जुध्न दृढ आत्मविश्वास चाहिन्छ ।’— डा. बरालले भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्