Logo
|
Saturday 20th April 2024
Logo

epaper

आठौं फर्मा एक्स्पो चितवनमा शुरु, बिहान प्रभातफेरि



जनस्वास्थ्य सरोकार, चितवन । नेपाल औषधि उत्पादक संघद्धारा चितवनमा आयोजित तीनदिने आठौं ‘नेपाल फर्मा एक्स्पो २०२२’ आजदेखि शुरु भएको छ । शुभारम्भको पूर्व सन्ध्यामा आज बिहान प्रभातफेरि कार्यक्रम गरिएको छ ।

सो प्रभातफेरि एक्स्पो सेन्टर भरतपुर, चितवनबाट शुरु भएर हस्पिटल रोडहुँदै चौबीसकोटी, पुरानो मेडिकल कलेज रोड हुँदै प्रदर्शनीस्थलमा पुगेर समापन भएको थियो ।


सो अवसरमा औषधि उत्पादक, औषधि व्यवसायी, फर्मासिष्ट, बजार प्रतिनिधि लगायतका सयौंको उपस्थिति रहेको थियो ।
एक्स्पो बिहान १० बजेबाट शुरु भएको छ । एक्स्पोको समुद्घाटन अपरान्ह एक बजे राष्ट्रपति विद्यादेवि भण्डारीबाट हुने कार्यक्रम रहेको छ । दोस्रो दिन उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडु र तेस्रो दिन स्वास्थ्यमन्त्री बिरोध खतिवडाले एक्स्पोको अवलोकन गर्ने तालिका तय भएको छ ।


उत्पादक संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले बिरामीहरुले सँधै उपयोग गर्ने औषधि उत्पादनको प्रविधि र विकास सम्बन्धि एक्स्पो भएकाले एक्स्पो अवलोकन गरिदिन आग्रह गर्नुभयो । एक्स्पोमा प्रवेश निशुल्क गरिएको छ ।


एक्स्पोमा करिव ३० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने संघको विश्वास छ । एक्स्पोमा बिभिन्न ठाउँबाट आवतजावत गर्न सटल बस, फुड कोर्ट, पार्किङ लगायतको व्यवस्था मिलाइएको उपाध्यक्ष एक्स्पोका मिडिया कोअर्डिनेटर एवं नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले बताउनुभयो ।


हाल एक्स्पोमा १ सय ६० वटा स्टल राखिएको छ । त्यसमा नेपाली, वंगलादेशी, चाइनिज र भारतीय कम्पनिहरुले भाग लिएका छन् ।

एक्स्पोका संयोजक एवं औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष जी नारायण क्षेत्री भन्नुहुन्छ— ‘हामीहरुले उत्पादन गर्दै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याव, मेसिनहरु, कच्चापदार्थ, प्याकेजिङ मेटेरियल लगायतहरुमा भएका बिकासहरुको प्रदर्शनी प्रत्येक दुई बर्षमा नेपाल फर्मा एक्स्पो मार्फत गर्दै आएका छौ ।’


२०२१ मा हुनुपर्ने नेपाल फर्मा एक्स्पो बिश्वब्यापी रुपमा फैलिएको कोभिड—१९ कोरोना भाइरस संक्रमणको कारणले गर्दा रोकिएको थियो ।

नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने,नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्र्रिय स्तरसम्म पु¥याउन अझ प्रविधी मैत्री र दक्षता प्रदान गर्ने, औषधी प्राविधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्र्रियस्तरको नविन प्राविधिक ज्ञान दिने उद्धेश्य एक्स्पोको रहेको संघका महासचिव विप्लभ अधिकारीले जानकारी दिनुभयो ।

एक्स्पोमा १६० स्टल रहेका छन् । औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२३ वटा बहुराष्ट्रिय कम्पनी, र ३७ वटा नेपाली औषधी उद्योगहरु समेत एक्स्पोमा भाग लिएका छन्। एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार भएका छन् भने सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको व्यवस्था गरिएको छ ।


एक्सपोको प्लाटिनियम स्पोन्सरमा इल्म्याच प्याकेजिङ प्राइभेट लिमिटेड रहेको छ । त्यसै गरि डायमन्ड स्पोन्सरमा सन्साइ फर्मा रहेको छ । एक्स्पोको गोल्ड स्पोन्सरमा एन पी एम मेसिनरी,एस भि ए एम प्याकेजिङ, एच भि एक्स मेसिनेरी र एम्बिएन्ट टेक्नोलोजी रहेकाछन् । यसैगरी सिल्भरमा ग्याटफोसे इन्डिया, कर्णावति इन्जिनियरीङ, बम्बे इन्जिनियरीङ र क्लिमा फार्म टेक्नोलोजीज रहेका छन् ।

नेपाल फर्मा एक्स्पोको आवद्ध संस्थाहरुमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,औषधी व्यवस्था विभाग,नेपाल फार्मेसी काउन्सिल,नेपाल औषधी व्यवसायिक संघ, नेपाल औषधी थोक ब्यबसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसियसन र नेपाल फार्मेसी संघ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्