Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वदेशी औषधि कम्पनिहरुलाई राष्ट्रपतिको आग्रह—‘औषधिको गुणस्तरमा सम्झौता नगर्नुस्’

औषधि सम्बन्धि नीति र कानुनमा समयानुकूल सुधारको खाँचो



जनस्वास्थ्य सरोकार, चितवन । चितवनमा शुरु भएको तीन दिने आठौं नेपाल फर्मा एक्स्पो २०२२ राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्नुभएको छ ।


एक्स्सपोको सफलताको कामना गर्दै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी औषधिको उत्पादन बजारीकरण वितरणलाई सम्बन्धित पक्षले गम्भिरतापूर्वक लिन आग्रह गर्नुभयो ।


मानव जीवनसँग प्रत्यक्ष रुपमा तत्कालै जोडिने भएकाले औषधि उत्पादन सेवामुलक एवं परोपकारी व्यवसाय भएको उल्लेख गर्दै उहाँले मुलुकको सामाजिक एवं आर्थिक जीवनमा औषधि उत्पादन उद्योगले बहुआयामिक प्रभाव पारिरहेको बताउनुभयो ।

सार्वजनिक स्वास्थ्यलाई बलियो बनाउँदै नागरिकको जीवनस्तर माथि उठाउनमा औषधि उद्योगले प्रत्यक्ष भूमिका खेल्न सक्दछ भन्दै राष्ट्रपति भण्डारीले सकेसम्म धेरै किसिमका औषधि देशभित्रै उत्पादन हुन सकेमा हाम्रो संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धि मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने स्पष्ट पार्नुभयो ।


कोभिड १९ को विश्वव्यापी महामारीले औषधि तथा स्वास्थ्य सामाग्रीको क्षेत्रमा गरिएको लगानी उत्पादन र वितरण प्रणालीमा ठूलो चुनौति रहेको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो ।


औषधि तथा स्वास्थ्य सामाग्रीको समतामुलक वितरणका लागि स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने खाँचो रहेको महसुस गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो—‘ जीवनशैलीमा आएको परिवर्तन शुद्ध र स्वस्थ्य खानाको अभाव बढ्दो प्रदूणका कारण नसर्ने रोगहरुको ठूलो जनसंख्यालाई गाँज्दै लगेकाले पनि औषधि विज्ञानका क्षेत्रमा धेरै लगानी आवश्यक देखिएको छ । यस प्रकारका प्रर्दशनीहरुले त्यसतर्फ अगाडि बढ्न राज्य नीजी क्षेत्र र समुदायलाई आदानप्रदान गर्ने विश्वास लिएको छु ।’

निजी क्षेत्रले ठूलो लगानीसहित औषधि उत्पादनमा आत्मनिर्भर बन्ने गरेको संकल्प औषधि उद्योग फस्टाउने वातावरण सृजना गरी सम्बन्धि निकायले आवश्यक संरक्षण र प्रोत्साहन गर्न ध्यान पुर्याउन आग्रह गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो—‘औषधि उत्पादन तथा औषधिको आयात निर्यात सम्बन्धि नीति एवं कानुनहरुमा समयानुकुल सुधारको आवश्यकतालाई आत्मासात् गर्नुपर्छ । ’


विश्वव्यापीकरणको प्रक्रिया तीब्र बनिरहेको वर्तमान परिस्थितिमा महामारीको रोकथाम तथा नियन्त्रण र उपचारमा एउटा देशको प्रयासमात्र प्रयाप्त हुँदैन । रोग नियन्त्रण र उपचारका लागि मुलुकहरुबीच आपसी सहयोग सहकार्य आवश्यक भएजस्तै औषधि उत्पादनको क्षेत्रमा समेत विश्वका राष्ट्रहरुबीच पारस्परिक सहयोग अनुभूति हुनुपर्दछ ।


समग्र मानव स्वास्थ्यका लागि अनुसन्धान, भौतिक पूर्वाधार र विकास तथा उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्यकता रहेको राष्ट्रपति भण्डारीले आग्रह गर्नुभयो ।


राट्रिय अर्थतन्त्रसँग औषधि उत्पादनको गहिरो सम्बन्ध रहेको छ ।


स्वास्थ्य सामाग्री र औषधिको आवश्यकता अत्यधिक हुँदै जाँदा आयात वृद्धि भई मुलुकको व्यापार घाटामा चाप बढिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले औषधि उत्पादनमा लागत घटाउन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लैजान स्वदेशमा रहेको जडिबुटीहरुको व्यवसायिक खेति गरी कतिपय औषधिका लागि आवश्यक पर्ने कच्चापदार्थको आयातलाई पनि प्रतिस्थापन गर्न सकिने स्पष्ट पार्नुभयो ।


औषधि उत्पादनका क्षेत्रमा निरन्तर नयाँ अनुसन्धान, प्रविधिको विकास भइरहेको हन्छ । विज्ञान तथा प्रविधिको गतिसँगै आफूलाई अध्यावधिक राख्न सकेमा मात्र हाम्रा उद्योगहरुको प्रतिस्पर्धी क्षमता सुदृढ हुने भन्दै भण्डारीले मुलुकमा औषधि उद्योगको विकासबाट बर्षेनी हजारौंको संख्यामा उत्पादन हुने प्राविधिक जनशक्तिका लागि स्वदेशमै रोजगार उपलब्ध हुने र प्रतिभा पलायनको समस्यालाईसमेत न्यूनिकरण गर्न सकिने बताउनुभयो ।


‘अन्य उद्योगको सापेक्षतामा औषधि उत्पादन व्यवसायको सामाजिक प्राविधिक एवं राष्ट्रिय दायित्व बहुआयामित तथा संवेदनशील छ ।’—राष्ट्रपति भण्डारीले भन्नुभयो—‘यस यथार्थतलाई मनन् गरी नेपाली औषधि उत्पादकहरुले विभिन्न चुनौतिहरुको सामना गर्दै हाम्रो समग्र उपभोगमध्ये झन्नै आधा औषधि स्वदेशमा नै उत्पादन गरिरहेको र नेपाली औषधिहरुको निर्यातसम्म हुनथालेको जानकारी पाउँदा असाध्यै खुशी लागेको छ ।’


नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले औषधि उद्योगमैत्री नीति नहुनुमा नेपाली औषधि उद्योगलाइ प्रवद्र्धन गर्न सरकारको सहयोग आवश्यक भएको बताउनुभयो ।


संघका पुर्व अध्यक्ष दिपक प्रसाद दाहालले नेपाली औषधि निर्यात हुन थालेकोमा गौरव गर्नुभयो ।

संघका निवर्तमान अध्यक्ष जि नारायण क्षेत्रीले नेपाली औषधि अन्तर्राष्ट्रियस्तरको रहेको बताउनुभयो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योगलाई सहजता प्रदान गरेर कार्यक्षेत्र र क्षमता बढाउन आग्रह गर्नुभयो ।


नेपाल उधोग वाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले औषधि उद्योगमैत्री नीति तर्जुमा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीद्धारा एपोनका संस्थापक अध्यक्ष प्रदिपमान वैद्य, पूर्व अध्यक्षहरु प्रदिपजजङ्ग पाण्डे, महेश गोर्खाली, उमेशलाल श्रेष्ठ, शंकर घिमिरे, दिपक प्रसाद दाहाल र जी नारायण क्षेत्रीलाई सम्मान गरिएको थियो ।

एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले एक्स्पोमा करिव ६० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्