पेडियाट्रिक पल्मोनोलोजी एण्ड इन्टेन्सिभ केयरमा डीएम गर्ने पहिलो सरकारी डाक्टर
जनस्वास्थ्य सरोकार, काठमाडौँ । डा. जगत जीवन घिमिरे कान्ति बाल अस्पतालमा पेडियाट्रिक पल्मोनोलोजिष्ट एण्ड इन्टेन्सिभिष्ट हुनुहन्छ । उहाँले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पेडियाट्रिय पल्मोनोलोजी एण्ड इन्टेन्सिभ केयरमा डिएम गर्नुभएको छ । घिमिरे पेडियाट्रिक पल्मोनोलोजी एण्ड इन्टेन्सिभ केयरमा डीएम गर्ने पहिलो सरकारी डाक्टर हुनुहुन्छ । यो विषयमा डीएम गर्ने भारतमा पनि न्युन डाक्टर रहेका छन् । यस विषयमा डीएम गर्ने डा. घिमिरे एम्सको तेस्रो व्याच हुनुहुन्थ्यो ।
विशेषता
आईसियूमा सिकिस्त रुपमा भर्ना भएका बालबालिकाहरुको सम्पूर्ण रुपमा प्रभावकारी व्यवस्थापन, बालबालिकाको श्वासप्रश्वाससम्बन्धि अक्युट र क्रोनिक समस्याको समाधान गर्नु पेडियाट्रिक पल्मोनोलोजिष्ट एण्ड इन्टेन्सिभिष्टको मुख्य उद्देश्य हो ।
डा. घिमिरे भन्नुहुन्छ—‘यसैको समाधानका लागि विशेषज्ञता हाँसिल गरेको हो’ । बालबालिकाको निद्राका कारण विभिन्न समस्याहरु हुने गर्छन् । यसबारे प्रभावकारी उपचार सेवा उपलब्ध भइरहेको घिमिरे बताउनुहुन्छ ।
बालबालिकाको समस्या
के कस्ता समस्या लिएर उपचारका लागि बालबालिकाहरु आउने गर्छन् ? भन्ने प्रश्नमा डा. घिमिरे भन्नुहुन्छ—श्वासप्रश्वाससम्बन्धि स्याँ स्याँ र घ्यार घ्यार, निमोनिया, रुघाखोकी, कोखा हान्ने, सोचेजस्तो नबढ्ने, दूध खुवाउँदा सर्किने, खोक्ने, सास फेर्न गाह्रो, रातको समयमा अनावश्यक घुरिरहने, रातमा मुख खोलेर सास फेर्ने, सुतेको बेलामा मुर्छा परेजस्तो सास फेर्न गाह्रो पर्ने, आमाको पेटमा सुत्ने, रातमा पिसाब फेर्ने, झिङझिङ्गीरहने, अरुसँग घुलमिल हुन नसक्ने र अध्ययन राम्रो नहुने जस्ता बालबालिकाहरु आउने गर्दछन् ।’ यसबाहेक कतिपय बालबालिकाहरुमा खकार भरिएजस्तो खोकी रहने, पातलो पिसाब गर्ने, रुघा लागिरहने, कान पाक्ने, छाला पाक्ने, हड्डीमा संक्रमण पनि हुनसक्छ ।
ब्रोन्कोस्कोपी
क्रिटिकल र इन्टेन्सिभ केयरमा पुगेका सिकिस्त बालबालिकाहरुको समस्या पहिचान गर्नुपर्छ । लक्षणका आधारमा समस्याको कारण पत्ता लगाउनुपर्छ । समस्याको कारण पत्ता लगाउन विभिन्न जाँचको जरुरत पर्छ ।
ब्रोन्कोस्कोपी रोग डायग्नोसिसमा सहयोग गर्ने विधि हो । यसलाई डायग्नोष्टिक र थेरापेटिक दुवैमा प्रयोग गर्न सकिन्छ । खासगरी अस्पतालमा बालबालिकाको सास नली, दूध खुवाउँदा सर्किने लगायतका समस्या पत्ता लगाउन ब्रोन्कोस्कोपी गर्दै आएको डा. घिमिरेले जानकारी गराउनुभयो ।
यसका साथै थेरापेटिक अन्तर्गत फोक्सोमा अड्किएको कुरा निकाल्न ब्रोन्कोस्कोपीको प्रयोग हुने गरेको छ । अस्पतालमा प्रायः रिफर भएर आउने बिरामीहरुको संख्या धेरै छ ।
रिफरबाट आउने धेरै
डा. घिमिरेले त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्जबाट एमडी सकेपछि कान्ति बाल अस्पतालको आईसियू वार्डमा सेवा गर्ने अवसर पाउनुभयो । ‘सो वार्डमा विज्ञको अभाव थियो । मलाई पनि यो विषयमा रुचि भएकाले डिएम गर्न इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) गएँ ।’—डा. घिमिरे भन्नुहुन्छ—‘अहिले इमर्जेन्सी वार्डमा रिफर भएर आउने बिरामीहरुको संख्या धेरै छ । पिआईसियूमा रहेका १२ वेड भरिभराउ हुन्छन् । पिआईसियू आफैंमा चुनौतिपूर्ण विभाग हो । अस्पतालमा ५२ वेडको आईसियू सुविधा छ ।’
बिरामीहरु के लागि आउने ?
अस्पतालमा हप्तामा २ दिन डेडिकेटेड पेडियाट्रिक पल्मोनोलोजी चेष्ट क्लिनिक शुरु गरेका छौं । हरेक हप्ता सोमबार र बिहीबार ९ बजेदेखि १ बजेसम्म सेवा प्राप्त गर्न सकिन्छ ।
डा. घिमिरे भन्नुहुन्छ—‘हामीले स्पाइरोमेट्री सेवा पनि शुरु गरेका छौं ।’ यो श्वास लिने र फेर्ने प्रक्रियाको अध्ययन गरेर रोग पत्ता लगाउने विधि हो यसका साथै पेडियाट्रिक ब्रोन्कोस्कोपी सेवा पनि उपलब्ध छ ।