Logo
|
Wednesday 8th May 2024
Logo

epaper

कोभिड नेपाल: कोरोनाविरुद्ध खोप लगाएकाहरु कति सुरक्षित, के चौथो डोज खोप आवश्यक छ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा केही सातादेखि कोरोनाभाइरस सङ्क्रमण दर बढिरहेको र आगामी दुई सातासम्म त्यो क्रम जारी रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टको उपप्रकार बीए फाइभ फेला परेको पुष्टि भएयता सङ्क्रमण दर निरन्तर उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ।

बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले भिडभाड कम गर्न र सार्वजनिक स्थलमा अनिवार्य मास्कको प्रयोग गर्न सचेत गराएको छ।

सङ्क्रमण थप बढ्दै जाँदा रोकथामका लागि यसअघि जस्तै प्रतिबन्धहरू लाग्न सक्ने चिन्ता पनि मानिसहरूले व्यक्त गरिरहेका छन्।

तर स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारी नेपालमा यस अघिजस्तो लकडाउन हुने सम्भावना भने नरहेको बताउनुहुन्छ ।

‘अबको दुई सातासम्म हामी सङ्क्रमणको उच्च अवस्थाबाट गुज्रिन्छौँ। त्यसपछि सङ्क्रमण ओरालो लाग्ने चरणबाट गुज्रिन्छौँ,–उहाँले भन्नुभयो ।

सङ्क्रमण बढे पनि खोप लगाएका मानिसहरूमा जटिलता कम देखिएको स्वास्थ्य अधिकारी र विज्ञहरूले बताएका छन्।

नेपालमा ७० प्रतिशत मानिसहरूले कोभिड खोपको पूर्ण मात्रा लगाएका छन् भने कतिपय खोप नै नलगाउनेहरू पनि छन्। यसअघि मन्त्रालयले कोभिड सङ्क्रमणबाट साउन महिनामा ज्यान गुमाउने मानिसमध्ये ७० प्रतिशत खोप नलगाएका व्यक्ति र दीर्घरोगी रहेको जनाएको थियो।

महामारी सुरु भएयता नेपालमा झन्डै १२,००० जनाले कोभिडका कारण ज्यान गुमाएको सरकारको औपचारिक तथ्याङ्क छ।

अहिले नेपालमा कोभिड भएका मानिसलाई एक सातासम्म आइसोलेशनमा बस्न भनिएको छ।

खोप लगाएकाहरू कति सुरक्षित ?

विज्ञहरूले कोभिड खोप लगाएका मानिसहरू खोप नलगाएका मानिसको तुलनामा सुरक्षित हुने भए पनि खतरामुक्त भने नहुने बताएका छन्।

‘अहिलेको सङ्क्रमणबाट तेस्रो लहरमा सङ्क्रमित भएका र आस्ट्राजेनेका, फाइजर र मोडर्ना खोप लगाएकाहरू कम जोखिममा छन् तर खतरामुक्त चाहिँ छैनन्,’ सङ्क्रामक रोग विशेषज्ञ डा अनूप सुवेदी भन्नुहुन्छ ।

पूर्ण मात्रामा खोप लगाएका मानिसले पनि अरूलाई सङ्क्रमण सार्ने सम्भावना रहने भएकाले मास्कको प्रयोग र सरसफाइमा ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्।

‘खोप लगाएका व्यक्तिहरूले मास्क प्रयोग नगर्दा उनीहरूबाट सङ्क्रमण फैलिन सक्ने खतरा अझ बढी हुन्छ,’ अर्का विशेषज्ञ डा. शेरबहादुर पुनले भन्नुभयो ।

फोटो खिच्नलाई भिडभाडमा मास्क खोल्दा र मास्कको उचित प्रयोग नगर्दा पनि सङ्क्रमण सर्ने जोखिम हुने डा. सुवेदी बताउनुहुन्छ ।

‘मास्क लगाउँदा पनि छेउकुनाबाट हावा छिर्ने गरी लगाउन भएन। कमसल मास्कले पनि सङ्क्रमण नरोक्ने जोखिम हुन्छ,’ उहाँले भन्नुभयो ।

के कोभिड खोपको चौथो मात्रा पनि आवश्यक छ ?
विश्वका कतिपय देशहरूमा कोभिड खोपको चौथो मात्रा दिन सुरु गरिसकिएको छ। नेपालमा पनि स्वास्थ्यकर्मीसहित अग्रपङ्क्तिमा कार्यरत पेसाकर्मीहरूले अतिरिक्त मात्रा खोप लगाएको आठ महिनाभन्दा बढी भइसकेको छ।

सरकारले अतिरिक्त मात्रा खोप दिने नीति तत्काल नभएको बताए पनि सङ्क्रामक रोग विशेषज्ञ सुवेदी ५० वर्षमाथि उमेर भएका, दीर्घरोगी र रोग प्रतिरोध क्षमता कम भएका मानिसहरूलाई चौथो मात्रा खोप दिन उपयुक्त हुने बताउनुहुन्छ ।

‘उच्च जोखिम समूहको मानिसले चाहिँ पछिल्लो छ महिनायता खोप लगाएका छैनन् भने चौथो डोज पनि लगाउनु राम्रो हो,’ उहाँले भन्नुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च यूनिटका प्रमुख डा पुन भने चौथो मात्रा बूस्टर खोपको प्रभावकारिताबारे विस्तृत अध्ययन भइनसकेका कारण यसका लागि हतार गर्न नपर्ने बताउनुहुन्छ ।

‘केही देशहरूले चौथो मात्रा दिन सुरु गरे पनि यो साँच्चिकै आवश्यक हो वा होइन भन्नेबारे बलियो प्रमाण अझै आइसकेको छैन, उहाँले भन्नुभयो ।

के छ सरकारको तयारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता अधिकारीले सङ्क्रमण बढ्ने प्रक्षेपणसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्ने र खोपको पहुँच थप विस्तार गरिने बताउनुभयो।

‘हामी यसअघिको जस्तो प्रतिबन्धहरू लगाउने पक्षमा छैनौँ। भिडभाड कम गर्ने र स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गर्ने कुरामा हामीले जोड दिँदै आएका छौँ,’ अधिकारीले भन्नुभयो ।

तर सङ्क्रामक रोग विशेषज्ञ सुवेदी अनलाइनबाट सञ्चालन गर्न मिल्ने कामहरू भौतिक उपस्थितिमा नगर्दा सङ्क्रमण फैलिनबाट रोक्न सकिने बताउनुहुन्छ ।

‘हाम्रोमा धेरै बालबालिकाले अझैसम्म पूर्ण मात्रामा खोप लगाएका छैनन्। त्यसैले अब केही समय विद्यालयहरूको कक्षा अनलाइनबाटै सञ्चालन गरे पनि हुन्छ,’ उहाँले भन्नुभयो ।

स्वास्थ्यमन्त्री भवानी खापुङको गृहजिल्लास्थित मेन्छ्यायेम गाउँपालिकाले कोभिडका कारण विद्यालयहरू चार दिनका लागि बन्द गरेको छ। तर मन्त्रालयले विद्यालयहरूमा भौतिक कक्षा बन्द गर्ने कुनै योजना तत्काल नबनाएको डा अधिकारीले बताउनुभयो । अहिले सङ्क्रमण दरमा भएको वृद्धिलाई सरकारले नयाँ लहर भनिसकेको छैन। तथापि कतिपय जनस्वास्थ्यविद्हरूले भने यसलाई अर्को लहर भन्न थालिसकेका छन्। बीबीसीबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस्