Logo
|
Thursday 25th April 2024
Logo

epaper

एचपिभी भाइरस पहिचानमा पिसिआर प्रविधि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पाठेघरको मुखको क्यान्सर महिलाहरुमा क्यान्सरबाट हुने मुत्युको प्रमुख कारक मानिएको छ । सबै उमेरकालाई हुने भएपनि प्रायः यो ३० देखि ५० वर्ष उमेर समुहका महिलामा बढी देखिएको छ । ह्युमन प्यापिलोमा भाइरसको धेरै प्रकारमध्ये १६ र १८ ले क्यान्सर गराउने उच्च जोखिम हुन्छ ।

कम उमेरमा शारीरिक सम्पर्क, धेरै पुरुषसँगको शारीरिक सम्बन्ध राख्नेहरुमा पनि पाठेघरको मुखको क्यान्सर हुनसक्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ७० देखि ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) ले गराउनसक्ने उल्लेख गरेको छ । पाठेघरको मुखको क्यान्सर स्क्वामस सेल कार्सिनोमा (पाठेघरको मुखको लाइनको मांशपेशी ) मा हुने गर्दछ ।

ह्युमन प्यापिलोमा भाइरसको धेरै प्रकारमध्ये १६ र १८ ले क्यान्सर गराउने उच्च जोखिम हुन्छ । पाठेघरको मुखको लाइनिङमा मात्र सिमित भएको अवस्थामा क्यान्सर पत्ता लगाउन सकिएमा शल्यक्रिया, रेडिएसन आदिबाट उपचार गर्न सकिन्छ । यसरी प्रारम्भिक चरणमा क्यान्सरको उपचार भएमा ५ वर्ष भन्दा धेरै बाँच्ने सम्भावना ७०—८० प्रतिशत भन्दा बढी हुन्छ । फैलिएको अवस्थामा पत्ता लागेमा यो प्रतिशत घट्दै जान्छ ।

पाठेघरको मुखको क्यान्सर प्रारम्भिक पहिचान गर्ने एक प्रविधि प्याप स्मियर परीक्षण हो । यो कन्भेन्सनल प्याप र तरलतामा आधारित साइटोलोजी (एलबीसी) गरी दुई प्रकारबाट गर्न सकिन्छ । कन्भेन्सनल प्यापअन्तर्गत पुरानो कोल्पोस्कोपी विधिबाट पाठेघरको मुखबाट स्क्रयाब निकालेर स्लाइडमा फैलाएर परीक्षण गरिन्छ भने नयाँ प्रविधि तरलतामा आधारित साइटोलोजी (एलबीसी) मा पाठेघरको मुखबाट निकालिएको नमुनालाई संरक्षणात्मक ठाउँमा राखेर सेन्ट्रिफ्युज गरी आवश्यक सेललाई सानो सर्कलमा डिपोजिट गरिन्छ ।

यसले पाठेघरको मुखमा भएका अनावश्यक ब्याक्टेरिया, इन्फ्लामेटरी छुट्याएर क्यान्सर कोषहरु देख्न मद्धत गर्छ । एलबीसीबाट लिइएको नमुना ह्युमन प्यापीलोमा भाइरस परीक्षणका लागि पीसीआर टेक्नोलोजीमा प्रयोग गर्न मिल्छ । ह्युमन प्यापिलोमा भाइरस एकिन गर्न अहिलेको गोल्ड स्टैन्डर्ड प्रविधि पिसिआर नै हो । पिसिआर प्रविधिमा कम जोखिम र उच्च जोखिम गरी दुई किसिममा वर्गिकरण गरिएको हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ३० देखि ५५ वर्षका महिलाहरुलाई ३ वर्षको अवधिमा एलबीसी जाँच गर्न सिफारिस गरेको छ । युरोपियन देशहरुमा पाठेघरको मुखको क्यान्सरबाट जोगिन यौन सक्रिय हुने १५—१६ वर्षको उमेरदेखि एचपिभी खोप दिने गरिन्छ । अहिले विश्व स्वास्थ्य संगठनले साइटोलोजी भन्दा पनि एचपिभी परीक्षणलाई नै पाठेघरको मुखको क्यान्सरको मुख्य स्क्रिनिङ टुल मान्ने गरेको छ ।

(डा. हिमांशु भक्तपुरको गठ्ठाघरस्थित युनिल्याव डायग्नोष्टिक सेन्टर प्रा.लि.को प्रवन्ध निर्देशक हुनुहुन्छ । उहाँ स्वयम्भूस्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालमा लेक्चरर हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्