Logo
|
Friday 26th April 2024
Logo

epaper

कोरोना भाइरस : विश्वभरका मानिसलाई अस्पताल भर्ना हुन र मृत्युबाट जोगाउन कोभिड खोप जिम्मेवार

कोभिड खोपको परिणाम र साइड इफेक्टबारे के थाहा छ ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । लण्डनमा आयोजित एक विज्ञान सङ्ग्रहालयको नयाँ प्रदर्शनीमा कोभिड-१९ विरुद्ध खोपहरूको विकास र वितरणको विशाल मात्रालाई देखाइएको छ।

त्यहाँ राखिएका दराजमध्ये एउटामा सुइ, भायल र कार्डबोर्डका किस्ती प्रदर्शन गरिएको छ। ती सामग्री सन् २०२०को डिसेम्बर ८ तारिखमा ९० वर्षकी ब्रिटिश महिला मार्गारेट कीननलाई विश्वमै पहिलो पटक कोभिड विरुद्ध खोप दिन प्रयोग गरिएको थियो।

त्यसयता कोरोनाभाइरसको पछिल्लो भेरिअन्टबाट जोगाउने ‘बुस्टर’ मात्रा अनि परिमार्जित ‘इम्युनाइजर’ गरी विश्वभर १३ अर्ब खोपका मात्रा लगाइएका छन्।

हामीले यी दुई वर्षमा के जानेका छौँ? खोपको प्रभावकारिता बारे तथ्याङ्कहरूले के देखाउँछन्? र यसका ‘साइड इफेक्ट’हरू बारे के के पत्ता लागेको छ?

छोटकरीमा भन्नुपर्दा कोभिड विरुद्ध प्रयोगका लागि स्वीकृत भएका खोप विश्वभर मानिसहरूलाई अस्पताल भर्ना हुनबाट अनि मृत्युबाट जोगाउन जिम्मेवार रहेको अध्ययनहरूले देखाएका छन्।

खोप नुहुँदो हो त स्वास्थ्य सङ्कटबाट प्रभावित हुने मानिसहरूको सङ्ख्या निकै धेरै हुने थियो। त्यसमाथि गम्भीर प्रकृतिका साइड इफेक्टहरू निकै कम रहेको जनस्वास्थ्य सम्बन्धी निकायहरूले जनाएका छन्।

ती भनाइको तात्पर्य के हो त?

व्यावहारिक प्रभावहरू

खोप ठूलो स्तरमा सर्वसाधारणहरूमाझ पुगेसँगै कोभिडका कारण विश्वभर अस्पताल भर्ना हुनेहरूको सङ्ख्या अनि मृत्यु दर उल्लेख्य रूपमा घटेको छ।

कोभिडको निकै सङ्क्रामक ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्दा समेत खोपले गर्दा धेरै मानिस गम्भीर बिरामी परेनन् अनि धेरैको मृत्यु भएन।

१३ डिसेम्बरमा प्रकाशित एक अध्ययनका लागि राष्ट्र मण्डल कोषले संयुक्त राज्य अमेरिकाको येल विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थमा वैज्ञानिकहरूलाई एउटा महत्त्वपूर्ण प्रश्नको जवाफ दिन आमन्त्रित गर्‍यो: ”कोभिड-१९ विरुद्ध खोप विकास नभएको भए के हुन्थ्यो?’

उनीहरूका उत्तरले पछिल्लो दुई वर्षमा अमेरिकामा मात्रै १ करोड ८५ लाख मानिसहरू अस्पताल भर्ना हुने र थप ३२ लाखको मृत्यु हुने सङ्केत गर्‍यो।

त्यस्तै अमेरिकामा खोप कार्यक्रमले १.१५ ट्रिलियन डलर जोगाएको बताइएको छ। त्यो रकम थप सङ्क्रमितहरूको उपचारका लागि आवश्यक पर्ने थियो।

”सन् २०२०को डिसेम्बर १२ यता अमेरिकामा ८ करोड २० लाख सङ्क्रमित, ४८ लाख अस्पताल भर्ना अनि ७९८,०००को मृत्यु भएको छ। अर्को भाषामा भन्नुपर्दा खोप नहुँदो हो त अमेरिकामा सङ्क्रमण दर डेढ गुणा बढी हुने थियो, अस्पताल भर्ना हुनेको सङ्ख्या ३.८ गुणा अनि मृत्यु हुनेको सङ्ख्या ४.१ गुणा बढी हुने थियो,” अध्ययनका लेखकहरूले भनेका छन्।

”कोभिड विरुद्धको खोपले धेरै मानिस मर्नु र बाँच्नुमा भिन्नता ल्यायो,” ब्रजिलियन सोसाइटी अफ इम्युनाइजेसन (एसबीआइएम)की उपाध्यक्ष डा. इजाबेला बल्लाइले भनिन्।

कोभिडले व्यापक प्रभाव पारेको उनको देश ब्रजिल खोपले कसरी काम गर्छ भन्ने कुराको राम्रो उदाहरण हो। सन् २०२१ को ज्यानुअरीमा पहिलो खोप स्वीकृत हुँदै गर्दा महामारी सुरु भएयताको सबैभन्दा गम्भीर मोडमा ब्रजिल पुग्दै थियो।

न्याशनल काउन्सिल अफ हेल्थ सेक्रेटरीजका अनुसार गत वर्ष मार्च महिनाको अन्त्य र एप्रिल महिनाको सुरुवाततिर कोभिडबाट भएका मृत्युको दैनिक औसत ३,००० नाघेको थियो भने नयाँ सङ्क्रमितको सङ्ख्या प्रति दिन ७२,००० पुगेको थियो।

खोप र भायल
तस्बिरको क्याप्शन,कोभिडविरुद्ध पहिलो खोपका लागि प्रयोग गरिएका सामग्री लण्डनको साइन्स म्युजियममा

तर खोप प्राप्त गर्ने मानिसहरूको सङ्ख्या बढ्दै जाँदा ब्रजिलमा कोभिडका कारण मृत्यु हुनेहरूको सङ्ख्या नाटकीय रूपमा कम हुन थाल्यो।

ओमिक्रोन भेरिअन्ट आएपछि सन् २०२२को ज्यानुअरीमा फेरि उक्त सङ्ख्या बढ्न थाल्यो।

तर कोभिडको उक्त नयाँ लहर उच्च विन्दुमा पुग्दा दैनिक ९५० जनाको मृत्यु भएको पाइयो जुन त्यसअघिको उस्तै समयसँग तुलना गर्दा एक तिहाइ भन्दा कम हो।

साइड इफेक्ट

”समय बित्दै जाँदा, कोभिड खोपका धेरै मात्राहरू दिइएपछि हामी तिनको सुरक्षा प्रभावबारे झन् निश्चित हुनेछौँ,” डा बल्लाइले भनिन्।

पछिल्ला दुई वर्षमा, नियामक निकायहरू र सार्वजनिक स्वास्थ्य संस्थाहरूले खोप लगाए पछि उत्पन्न भएका सबै प्रतिकूल घटनाहरूको निगरानी र अनुसन्धान गर्ने व्यापक प्रयास गरिरहेका छन्।

यूकेको न्याशनल हेल्थ सर्भिसेस (एनएचएस)ले ”गम्भीर ‘साइड इफेक्ट’ निकै दुर्लभ रहेको” औँल्याएको छ।

खोप लगाएपछि हुनसक्ने केही सामान्य समस्या यस्ता छन्:

  • सुई लगाएको ठाउँमा दुखाइ
  • थकान
  • टाउको दुख्नु
  • शरीर दुख्नु
  • ज्वरो
  • अस्वस्थ महसुस गर्नु वा बिरामी हुनु
खोपको गम्भीर साइड इफेक्ट अत्यन्त दुर्लभ भएको अधिकारीहरूले बताएका छन्

”यी साइड इफेक्ट मध्ये धेरै मन्द प्रकृतिका हुन्छन् र एक हप्ता भन्दा कम समयमा निको हुन्छ,” ब्रिटिश सरकारले थपेको छ।

तर गम्भीर अवस्थाबारे के भनिएको छ त? पछिल्ला आँकडाले के देखाउँछ?

यस विषयबारे पछिल्लो पटक अद्यावधिक गरिएको तथ्याङ्क अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन् (सीडीसी)ले प्रकाशन गरेको छ।

सीडीसीका अनुसार हालसम्म पाइएका सबैभन्दा गम्भीर ‘साइड इफेक्टहरूको’ समानुपातिक सङ्ख्या निम्नलिखित छन्:

  • एनाफाइल्याक्सिस (खोप लगाएपछि हुने गम्भीर एलर्जी): प्रत्येक १० लाख खोपका मात्रामा पाँचवटा घटना
  • जोनसन एन्ड जोनसनको ज्यानसेन खोपसँग सम्बन्धित थ्रोम्बोसीस (गम्भीर किसिमको रगत जम्ने क्रिया): प्रत्येक १० लाख खोपका मात्रामा चारवटा घटना
  • ज्यानसेन खोपसँग सम्बन्धित गियान बरे सिनड्रोम: यसको आधिकारिक सङ्ख्या छैन तर फाइजर खोप प्राप्त गर्नेहरूको तुलनामा यो खोप लगाइएका ५० वर्षभन्दा माथिका पुरुषहरूमा उक्त समस्याको “थोरै वृद्धि” भएको पाइएको थियो
  • फाइजर खोप लगाएका १२ देखि १५ वर्षका बालबालिकामा मायोकारडाइटीस र पेरिकारडाइटीस (मुटुमा सुजन): लगाइएका प्रत्येक १० लाख खोपका मात्रामध्ये १२ देखि १५ वर्षका किशोरकिशोरीमा ७०.७ घटना; १६ देखि १७ वर्षका युवायुवतीहरूमा १०५.९ घटना; अनि १८ देखि २४ वर्षका युवायुवतीहरूमा ५२.४ घटना।

सीडीसीले ”मायोकारडाइटीस र पेरिकारडाइटीसबाट बिरामी भएका धेरैले औषधि सेवन र आराम गरेपछि छिट्टै आराम महसुस गरेको” जनाएको छ।

उसले थपेको छ: “कैयौँ अध्ययन र सुरक्षा निगरानी प्रणालीबाट लिइएको तथ्याङ्कको समीक्षाहरूले खोपहरू सुरक्षित भएको देखाएका छन्।”

मृत्युको कुरा गर्दा अमेरिकामा सन् २०२२को डिसेम्बर महिनाको पहिलो सातासम्ममा ६५ करोड ७० लाख खोपका मात्रा लगाइएको छ। हालसम्म खोप लगाएपछि १७,८०० को मृत्यु भएको पहिचान गरिएको छ जुन कुल सङ्ख्याको ०.००२७ प्रतिशत हो। त्यसमा पनि खोप लगाउनु नै मृत्युको प्रमुख कारण रहेको भनेर भनिएको भने छैन।

मेडिकल रेकर्ड र पोस्टमार्टमको विश्लेषण मार्फत् यी सबै घटनाहरूको अनुसन्धान गर्दा जोनसन एन्ड जोनसन खोपको प्रयोगपछि नौ जनाको मात्रै मृत्यु भएको पाइएको छ।

तर कुनै पनि औषधि, खोप वा चिकित्सकीय विधि जोखिम रहित नहुने डा. बल्लाइ बताउँछिन्।

अबको बाटो के हो?

कोभिड-१९ विरुद्धको पहिलो खोप उपलब्ध भएको दुई वर्षपछि पनि कोरोनाभाइरस प्रभावकारी रूपमा नियन्त्रण हुन नसक्दासम्म थुप्रै चुनौतीहरू छन्।

”विश्वव्यापी रूपमा हेर्दा यस्ता देशहरू पनि छन् जहाँ निकै कम मानिसले खोप प्राप्त गरेका छन्,” इपिडिमियोलोजिस्ट आन्द्रे रीबास फ्रेइतास भन्छन्।

उदाहरणका लागि हेइटीमा जनसङ्ख्याको दुई प्रतिशतले मात्रै खोपको सुरुवाती दुई मात्रा लगाएका छन्। आल्जेरिया (१५ प्रतिशत), माली (१२ प्रतिशत), कङ्गो (चार प्रतिशत) अनि यमन (दुई प्रतिशत)लगायतका देशमा पनि खोपको दर निकै कम छ। ”यो निकै ठूलो चिन्ताको विषय हो,” उनले थपे।

उनी भन्छन् – भाइरसको सघन सङ्क्रमण हुनसक्ने सम्भावनाले थप सङ्क्रामक वा थप गम्भीर बनाउन सक्ने भेरिअन्टको उदय हुनसक्ने जोखिम बढाउँछ।

प्रतिक्रिया दिनुहोस्