Logo
|
Friday 19th April 2024
Logo

epaper

मौरीलाई रोगबाट जोगाउन खोप

अमेरिकाद्धारा मौरीका लागि विश्वको पहिलो खोप प्रयोग गर्न स्वीकृति



जनस्वास्थ्य सरोकार, काठमाडौँ । संयुक्त राज्य अमेरिकामा सरकारले मौरीमा फैलिने रोग नियन्त्रण गर्न एउटा खोप प्रयोग गर्नका लागि स्वीकृति दिएको छ। यो खोप मौरीका लागि विश्वकै पहिलो खोप हो।

मौरीका बच्चा (लार्भा) लाई आक्रमण गरी गोलोलाई कमजोर बनाउने ‘अमेरिकन फाउलब्रूड’ भनिने ब्याक्टेरियाबाट लाग्ने रोगबाट हुने क्षति रोक्न यो खोप निर्माण गरिएको हो।

अमेरिकाको कृषि मन्त्रालय, यूएस डिपार्टमन्ट अफ एग्रिकल्चर, ले उक्त खोपलाई प्रयोगका निम्ति ससर्त अनुमति दिएको खोप निर्माता कम्पनीले बताएको छ।

वनस्पतिहरूमा परागसेचन गराउने हुनाले मौरीको पारिस्थितिक पर्यावरण प्रणालीका विभिन्न पक्षमा विशेष भूमिका छ।

ड्यालन एनिमल हेल्थकी प्रमुख एनेट क्लाइजरले एउटा विज्ञप्ति प्रकाशित गर्दै “मौरी संरक्षणमा यो खोप ठूलो उपलब्धि” भएको बताएकी छन्।

यो खोपले कसरी काम गर्छ ?
यो खोपबाट रानी अर्थात् रानू मौरीलाई खुवाइने ‘रोयल जेली’ (शाही खुराक) मा निष्क्रिय ब्याक्टेरिया हालिन्छ। रानूले पार्ने फुलबाट निस्किने लार्भामा अन्ततः ब्याक्टेरियाविरुद्ध प्रतिरोध क्षमता विकसित हुन्छ।

यूएसडीएका अनुसार संयुक्त राज्य अमेरिकामा सन् २००६ देखि प्रत्येक वर्ष मौरीको गोलोको सङ्ख्या घटिरहेको छ।

मौरीको विनाशका लागि विभिन्न कारक र कहिलेकाहीँ एकअर्कासँग सम्बन्ध भएका कारकहरू भएको यूएसडीएले जनाएको छ। ती कारकमा परजीवी, कीरा र रोग तथा ‘कोलनी कोल्याप्स डिस्अर्डर’ भनिने समस्या आदि पर्छन्।

कामदार मौरीहरू घार र रानू मौरी छोडेर अन्यत्र जाने घटनालाई कोलनी कोल्याप्स डिस्अर्डर भनिन्छ।

ड्यालन एनिमलका अनुसार यो खोपमा ‘पेनिब्यासिलस लार्भी’ अर्थात् अमेरिकन फाउलबर्ड रोग गराउने सूक्ष्मजीवलाई निष्क्रिय अवस्थामा राखिएको हुन्छ।

कामदार मौरीले रानूलाई खुवाउने विशेष खुराकमा उक्त ब्याक्टेरिया मिसाइएको हुन्छ। खोपमा प्रयोग गरिएको ब्याक्टेरियाको केही अंश रानूको डिम्बाशयमा रहने उक्त बायोटेक कम्पनीले जनाएको छ।

रानू मौरीले पार्ने फुलबाट बच्चा निस्किँदा तिनमा रोगप्रतिरोध गर्ने क्षमता विकसित भएको हुन्छ र त्यसबाट अन्ततः रोगका कारण हुने मृत्यु घट्छ।

मौरीको महत्त्व कस्तो ?
विश्वमा उत्पादन हुने अन्नको एकतिहाइ भाग मौरी, चराचुरुङ्गी र चमेराहरूबाट परागसेचन भएर हुने संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन एफएओले जनाएको छ।

अमेरिकन फाउलब्रूड रोग अतिसङ्क्रामक हुन्छ र यसको कुनै उपचार छैन।

मौरीमा उक्त रोग लागेको छ भने सङ्क्रमित घार पूरै जलाएर तथा नजिकै रहेका उपकरण र चिजबिज र घारमा एन्टिबायोटिक छरेर उपचार गरिन्छ।

यो खोपबाट निकै राहत पुग्न सक्ने अपेक्षा अमेरिकाको क्यालिफोर्निया राज्यस्थित मौरीपालकहरूको सङ्गठनले व्यक्त गरेको छ।

ड्यालनले यो खोप “सीमित मात्रामा” व्यावसायिक मौरीपालकहरूलाई उपलब्ध गराउने योजना बनाएको छ।

मौरीको खोप यही वर्ष नै किनबेचका लागि तयार हुन सक्ने उसले जनाएको छ। बीबीसीबाट साभार

प्रतिक्रिया दिनुहोस्