क्यान्सर मानिसका निम्ति अझ दुर्भाग्य साबित हुँदै
भौतिक पूर्वाधार र मानव संसाधनको विकास पहिलेको तुलनामा सुधारोन्मुख देखिए पनि आवश्यकताअनुरूप अझै नभएको स्थिति
विश्वले यतिखेर क्यान्सरविरुद्धको क्यान्सर दिवस मनाइरहेको छ । क्यान्सर जस्तो खतरनाक रोगबारे चेतना फैलाउन हरेक वर्ष विश्व क्यान्सर दिवस मनाइन्छ । प्रत्येक वर्ष ४ फेबु्रअरीमा मनाईदै आएको यो दिवसलाई आधार मानेर विश्वनै यतिखेर क्यान्सरसम्बन्धी जनचेतानाका कार्यक्रम तय गर्दै दिवस मनाइरहेको छ ।
सन् २०२३ को विश्व क्यान्सर दिवसको नारा ‘क्लोज द केयर ग्याप’ राखेको छ । यही नाराका साथ क्यान्सरविरुद्धको लडाइँमा सबै नागरिकलाई समान हेरचाह र स्वास्थ्य सेवामा उचित पहुँच सुनिश्चित गर्ने अभियान चलाइएको छ ।
यो दिवस मनाउनुको पहिलो उद्देश्य क्यान्सरबाट पीडित हुनेको संख्या घटाउनु र यसबाट हुने क्षति, मृत्युदर कम गर्नु हो । मानिसमा क्यान्सरका लक्षणहरू पहिचान गर्ने, त्यसबारे चेतना अभिवृद्धि गर्ने, विश्वभरका सरकारी तथा गैरसरकारी संस्थाहरूलाई यस रोगविरुद्ध लड्न तयार गर्ने प्रमुख उद्देश्य रहेको छ । यस दिवस मनाउनुको उद्देश्य क्यान्सरबारे फैलिएको गलत धारणालाई कम गरी यससँग सम्बन्धित सही जानकारी धेरैभन्दा धेरैमा पुर्याउनु पनि हो ।
आजको दिन क्यान्सरविरुद्ध फराकिलो क्रियाकलापका माध्यमबाट क्यान्सरका अनेकन रुपबारे जानकारी गराउने र त्यो रोगविरुद्धको जागरण कसरी फैलाउन सकिन्छ ? भनी विश्वस्तरमै छलफल गरिन्छ ।
क्यान्सर एउटा घातक प्रकृतिको रोग हो । जुन शरीरको कुनै अंग वा तन्तुमा कोषिकाहरूको अनियन्त्रित वृद्विले गर्दा उत्पन्न हुन्छ । यो शरीरको अन्य भागमा समेत फैलिएर जान सक्छ ।
क्यान्सरका कारण सन् २०१८ मा विश्वमा करिब ९६ लाखले ज्यान गुमाएको विभिन्न अध्ययनका तथ्यांकहरूले देखाएका छन् । ग्लोबोक्यान–२०२० अनुसार अहिले नेपालमा क्यान्सरको अवस्था प्रतिलाख ८१ जना र मृत्युदर लगभग ५५ जना रहेको छ । यसरी हेर्दा नेपालमा बर्सेनी सरदर २६ देखि ३० हजार मानिस क्यान्सरपीडित हुने र १५ देखि २० हजारको बर्सेनी मृत्यु हुने गरेको देखिन्छ । यो क्रम क्रमशः बढ्दै छ ।
विश्वमा यो रोगको चपेटामा परेका बिरामीको संख्या पनि सबैभन्दा बढी छ । सबै प्रयासका बाबजुद पनि क्यान्सर रोगीको संख्यामा कमी आउन सकेको छैन । यस कारणले गर्दा यो भयानक रोगबाट हुने क्षतिबारे मानिसलाई जानकारी गराउन विश्व स्वास्थ्य संगठनले हरेक वर्ष ४ फेबु्रअरीलाई विश्व क्यान्सर दिवसका रूपमा मनाउने घोषणा गरेको हो ।
सन् २०३० सम्ममा क्यान्सर रोगीको संख्या विश्वमा दुई करोड ४० लाखभन्दा बढी हुने ग्लोबोक्यानको अनुमान छ ।
क्यान्सर नसर्ने जोखिमयुक्त कडा रोग हो । नेपालमा क्यान्सर रोगीका संख्या बढ्दो क्रममै छ । तर, अलिकति आफूले आफैँलाई नियन्त्रणमा राख्ने हो भने यो रोग भित्रिन नदिन र समय–समयमा जाँच–उपचार गरेको खण्डमा भित्रिन लागेको रोग पनि निको पार्न सक्छांै । आधुनिक युगमा क्यान्सर यस्तो रोग बनेको छ, जसका कारण सबैभन्दा बढी मानिसको मृत्यु यसैबाट हुने गरेको छ । हामीले प्रयोग गर्ने तरकारी र फलफूल लगायतका खाद्य पदार्थ उत्पादनकै बेला विषादी प्रयोग हुँदा पनि क्यान्सरको दर बढाएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।
क्यान्सर वास्तवमै मानिसका निम्ति एउटा दुर्भाग्य सावित भएको छ । खर्च, पीडा र यो रोगसँगको लडाइले जीवन संघर्ष बढाएको छ । जीवननै समाप्त पार्ने यो रोगले मानिस लगातार मृत्युको मुखमा पुगिरहेका छन् । आज पनि धेरै मानिस क्यान्सरसँग जुधिरहेका, लडिरहेका छन् । आजको दिन क्यान्सर पीडितहरूमा हौसला प्रदान गर्ने र मृत्यु भएकाहरूको बारे स्मरण गर्ने समय पनि हो ।
क्यान्सर धेरै प्रकारका हुन्छन् । क्यान्सरमा पनि फोक्सोको क्यान्सर, प्रोस्टेट क्यान्सर, आन्द्राको क्यान्सर, पेटको क्यान्सर, कलेजोको क्यान्सर पुरुषमा धेरै देखिएको छ भने महिलामा स्तन क्यान्सर, आन्द्राको क्यान्सर, फोक्सो, पाठेघरको मुखको क्यान्सर र थाइराइडको क्यान्सर प्रमुख रूपमा देखिएको छ । यो रोग विभिन्न कारणले हुने गरेको छ । यदि तपाईं कुनै गम्भीर रोगको औषधि सेवन गर्दै हुनुहुन्छ भने यी औषधिको साइड इफेक्टको कारणले पनि क्यान्सर हुनसक्छ ।
क्यान्सरको कारण अझै खोजीको विषय
क्यान्सर के कारणले हुन्छ ? यो आफैमा खोजीको विषय हो । क्यान्सर रोगका कारक तत्वहरूमा वंशानुगत, जीवनयापनसँग सम्बन्धित, संक्रमणसँग सम्बन्धित कारण मुख्य हुन् । आहारविहार, शारीरिक व्यायाम, मद्यपान र धूम्रपानको प्रयोगले पनि क्यान्सर रोगालई बढाइरहेको छ । अध्ययनहरूका अनुसार, संसारभर क्यान्सरबाट हुने कूल मृत्युको २२ प्रतिशत सूर्तिजन्य पदार्थ सेवनबाट हुने गरेको छ । क्यान्सर यसरी भयावह रूपमा फैलनुमा जनमानसमा स्वास्थ्यसम्बन्धी जानकारीको कमी, स्क्रिनिङका कार्यक्रम नहुनु वा भए पनि ढिलो हुनु, सामाजिक आर्थिक रूपमा स्वास्थ्य सेवा पहुँचबाहिर हुनु, स्वास्थ्य सेवा प्रवाह सामञ्जस्यविहीन हुनुजस्ता कारणले भूमिका खेलेका छन् ।
यस्ता समस्या भए तुरुन्तै परीक्षण गरौं
क्यान्सरका लक्षणमध्ये लामो समयसम्म घाँटी दुखाइ, लगातार खोकी लाग्नु, शरीरमा कुनै पनि भागमा विभिन्न प्रकारको गाँठागुठी देखिनु, शरीरको कुनै पनि भागबाट रगत बग्नु, शरीरमा तिलकोठी वृद्धिहुँदै रंग परिवर्तन हुनु, छालाको रंगमा परिवर्तन हुनु, भोक नलाग्नु, स्तनमा परिवर्तन, दिशा पिसाबबाट रगत निस्किनु, अचानक तौल घट्नु, मुखमा कत्ला आउनु, थकान, रक्तश्राव, पेट फुल्नु, अन्डकोषमा बदलाव, पिसाब फेर्न समस्या, निल्नमा समस्या, भोक नलाग्नु, नङमा परिवर्तन, मुखभित्र वा जिब्रोमा सेतो दाग देखिनु पनि क्यान्सरको संकेत हुन सक्छ । यसैगरी, शरीरमा कुनै पनि प्रकारका असामान्य बदलाव आएमा र सो बदलाव लामो समय कायम रह्यो भने पनि क्यान्सरको लक्षण हुन सक्छ ।
क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई ‘अनकोंलोजी’ भनिन्छ भने नेपालीमा क्यान्सरलाई ‘अर्बुदरोग’ भनिन्छ । नेपालमा २०३९ सालमा क्यान्सर रोग उपचार र निदानको लागि नेपाल अर्बुदरोग निवारण संस्था स्थापना भएको थियो । साथै, नेपालमा क्यान्सर अस्पताल स्थापना गर्ने, पहिलो क्यान्सरसम्बन्धी डाक्टर उत्पादन गर्ने श्रेय यसै संस्थालाई जान्छ । नत्र त्यसभन्दाअघि रोग लागेका पैसा भएकाहरू भारत, बैंकक, सिंगापुरहुँदै अमेरिकासम्म पुग्थे । तर, गरिब नागरिकको विदेश जाने क्षमता हुँदैनथ्यो । उनीहरूमा मृत्यु कुर्नुबाहेक अरू विकल्प हुँदैनथ्यो ।
अब नेपालमै क्यान्सर अस्पताल खुलेका छन्, खुल्दैछन्, असल कुसल विज्ञ डाक्टरहरू छन् । समयमै पहिचान हुन सके धेरै हदसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ ।
क्यान्सरको उपचारमा आवश्यक भौतिक पूर्वाधार र मानव संसाधनको विकास पहिलेको तुलनामा सुधारोन्मुख देखिए पनि आवश्यकताअनुरूप अझै नभएको स्थिति छ ।
देशमा केही राष्ट्रियस्तरका क्यान्सर अस्पताल पनि छन् । केही निजी क्षेत्रका राम्रा क्यान्सर अस्पतालले पनि क्यान्सर उपचारलाई सर्वसुलभ बनाउन सहयोग गरेका छन् । यति हुँदाहुँदै पनि ठूलो संख्यामा सेवाग्राही छिमेकी मुलुक भारतका साथै अन्य मुलुकमा क्यान्सर निदान तथा उपचारका लागि जाने गरेका छन् । बिरामी विदेश जानु भनेको नेपालमा क्यान्सर उपचारको नतिजा कमजोर देखिनु हो । यसर्थ, नेपालमा क्यान्सर नियन्त्रणको बृहत् एवं दीर्घकालीन योजना अत्यावश्यक देखिन्छ । पाँच लाख जनसंख्या बराबर एउटा रेडियोथेरापी मेसिन चाहिने विश्वव्यापी मान्यतालाई हेर्दा नेपालमा हाल यस्ता मेसिनको संख्या चालु अवस्थाका पाँचवटा लिन्याक र दुईवटा कोवाल्ट मात्रै छन् । जुन एकदमै अपर्याप्त हो । फेरि ती मेसिन बिग्रिइ मर्मत सम्भारमा ढिलाइ हुने गरेको छ ।
यसमा प्रयुक्त मानव संसाधन अर्थात् रेडिएसन अनकाेंलोजी डाक्टर, मेडिकल फिजीसिस्ट, रेडियोथेरापी टेक्निसियन, बायोमेडिकल इन्जिनियर सबैको संख्या न्यून रहेको छ । भएको जनशक्तिमा पनि अत्याधुनिक प्रविधि र ज्ञानको कमी छ ।
यसैगरी, थोरै मात्र विशेषज्ञ चिकित्सक, केही मात्र तालिमप्राप्त नर्स यस क्षेत्रमा रहेकाले सामान्य जनरल मेडिसिनका डाक्टर र नर्सबाट यो सेवा दिइरहेको अवस्था छ । यसो हुँदा क्यान्सरको उपचारमा चाहिने अति सघन खालका उपचार हुन नसक्ने र भएको उपचारको नतिजासमेत गुणस्तरीय नभएको गुनासो छ । पेन एन्ड प्यालिएटिभ केयर, फुट एन्ड न्युट्रेसन थेरापी, रिह्याबिलिटेसन सेवासमेत अझै सर्वसुलभ हुन सकेको देखिँदैन ।
सुझाव
क्यान्सर स्क्रिनिङका कार्यक्रम तहगत रूपमा अनिवार्य रूपले लागु गरी क्यान्सरसम्बन्धी सेवा प्रवाहलाई रणनीतिका रूपमा समायोजन गरेर कार्यक्रम अगाडि बढाउन सके क्यान्सरको प्रकोपबाट जोगिन सकिने थियो ।
क्यान्सरको बढ्दो प्रकोपलाई ध्यानमा राखी रोकथाममूलक कार्यक्रमहरू विद्यालय शिक्षा कार्यक्रम, जनस्वास्थ्य कार्यक्रम, स्वास्थ्यकर्मी अभिमुखीकरण कार्यक्रममार्फत सम्पूर्ण जनमानसमा पुर्याउनु पर्ने देखिन्छ ।
त्यसैगरी, क्यान्सर स्क्रिनिङका कार्यक्रम तहगत रूपबाटै उपलब्ध गराउँदै सोको प्रयोगका लागि जनमानस तथा स्वास्थ्यकर्मी दुवैलाई जानकारी तथा अभिमुखीकरण गरी अधिकतम प्रयोग गर्नुपर्ने देखिन्छ । हाल अनुभव संगालेका क्यान्सर अस्पताललाई मानव संसाधन स्रोत केन्द्रका रूपमा विकास गर्न सकिन्छ । यसो गर्न सके विभिन्न तहका क्यान्सर उपचारमा संलग्न हुने प्राविधिक जनशक्तिको उत्पादन देशमै आवश्यकताअनुसार हुनसक्ने र क्यान्सरको गुणस्तरीय सेवा सर्वसुलभ बनाउन सकिने थियो ।
स्वास्थ्य नीतिमै बलियोसँग समेट्न आवश्यक
नयाँ स्वास्थ्य नीतिमा क्यान्सरलगायतका नसर्ने प्रकृतिका रोगहरुको उपचार देशका सबै क्षेत्रमा पुर्याउने लक्ष्य लिए पनि त्यसका लागि गरिनुपर्ने अल्पकालीन र दीर्घकालीन रणनीति तथा कार्यक्रम आउन सकेका छैनन् । आधारभूत सेवामा नै स्वास्थ्य क्षेत्रमा छुट्याइने बजेटको अधिकांश रकम खर्च हुने हुँदा क्यान्सरजस्ता रोगको उपचार सेवा विस्तार गर्न बजेट अपर्याप्त छ । पछिल्लो समय क्यान्सरको प्रकोप बढिरहेकोतर्फ वेलैमा सचेत हुन र उपचार तथा निदान सेवाहरूको विस्तार, सुदृढीकरण गर्न पनि जरुरी छ ।
(यो लेख जानकारीको लागि मात्र हो । यसलाई कुनै पनि डाक्टर वा चिकित्सा पेशेवरको सल्लाहको रूपमा नलिनुहोला । रोग वा संक्रमणको लक्षण देखिए चिकित्सकसँग अनिवार्य परामर्श लिनुहोला । लेखक, विभिन्न संघ, संस्थामा आबद्ध सामाजिक अभियन्ता हुनुहुन्छ ।)