Logo
|
Thursday 24th October 2024
Logo

epaper

भूकम्पका कारण टर्की र सिरियामा झण्डै ४० हजार मानिसको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । साता गएको भूकम्पका कारण टर्की र सिरियामा झन्डै ४० हजार मानिसको मृत्यु भएको छ । टर्कीको विपद् व्यवस्थापन आयोगका अनुसार अहिलेसम्म मृत्यु हुने मानिसको सङ्ख्या ३२ हजार जति पुगेको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सिरियामा कम्तीमा ५ हजार ७ सय जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। राष्ट्रसङ्घले विपद्‌मा परेर मृत्यु हुने मानिसको सङ्ख्या बढेर दोबर हुनसक्ने चेतावनी दिएको छ।

राष्ट्रसङ्घका अनुसार टर्की र सिरियामा उद्धार गर्ने चरण लगभग सकिने क्रममा छ र त्यहाँ अब उक्त ज्यान जोगिएका मानिसहरूको हेरचाह र पुनर्स्थापनामा ध्यान केन्द्रित गरिने छ।

राष्ट्रसङ्घका अनुसार अधिकारीहरूले आवास, खाद्यान्न अनि स्वास्थ्य सेवामा ध्यान केन्द्रित गर्न थालेका छन्। यद्यपि त्यहाँ अझै केहीको जीवितै उद्धार भइरहेको छ।

आइतवार भूकम्प गएको १३९ घण्टापछि हाटाई प्रान्तको एक भवनको भग्नावशेषबाट सात महिनाका बालकलाई जीवितै उद्धार गरिएको थियो।

त्यस्तै १४७ घण्टा पछि हाटाई मै १२ वर्षकी बालिका र १५० घण्टापछि एक जना ६४ वर्षकी महिलाको सफल उद्धार गरिएको विवरण प्राप्त भएको छ।

त्यहाँ राहत सामग्री र अन्य सहायता वितरण गर्न दिन सिरिया सरकार थप दुईवटा नाका खोल्न सहमत भएको छ।

‘यसबाट ठूलो फरक पर्नेछ। अहिले हामी केवल एउटा नाका प्रयोग गरिरहेका छौँ,’ संयुक्त राष्ट्रसङ्घका महासचिवका एक प्रवक्ताले बीबीसीलाई बताउनुभयो।

गृहयुद्धका कारण यसअघि ठूलो क्षति बेहोरेको सिरियामा भूकम्पपीडित मानिसहरू सहायता नपाएकाले निकै आक्रोशित भएका छन्।

बशर अल(असद नेतृत्वको सरकारले पश्चिमा देशले सिरियामाथि लगाएका प्रतिबन्धहरूका कारण उद्धारकार्य राम्ररी गर्न नसकिएको दाबी गरेको छ।

यद्यपि अन्तर्राष्ट्रिय सहयोग संस्थाहरूले सिरिया सरकारमा विद्यमान अव्यवस्था र देशका सबै क्षेत्रमा काम गर्न उसको अनिच्छाका कारण समस्याहरू देखा परेको बताएका छन्। विभिन्न देशले सिरियालाई सहयोग पठाउन थालेका छन्

चुनौती
टर्की र सिरियामा यो साता तापमान कम हुने अनुमान गरिएको छ जसले उद्धार कार्यमा जुटेका अनि घरबारविहीन अवस्थामा पुगेका सर्वसाधारणहरूको कठिनाइ बढाउने छ।

यसैबीच अमेरिकी सरकारले सिरियाका राष्ट्रपति बसर अल असदलाई विद्रोहीहरूको नियन्त्रणमा रहेको उत्तरी सिरियामा थप सहायता पुर्‍याउन दिन आग्रह गरेको छ।

सिरियाको गृहयुद्धको क्रममा एक दशकभन्दा बढी समयदेखि मानिसहरूलाई भग्नावशेषबाट बाहिर निकाल्ने कुरामा पोख्त ह्वाइट हेल्मेट सङ्गठनका अनुसार त्यहाँका सर्वसाधारणहरूले निराश अनि आफूहरूलाई बेवास्ता गरिएको महसुस गरेका छन्।

टर्कीका अधिकारीहरूका अनुसार सोमवार भत्किएका भवन निर्माणको सम्बन्धमा ११३ जनालाई पक्राउपुर्जी जारी गरिएको छ।

यसैबीच भूकम्पबाट प्रभावित क्षेत्रमा नेपालले २२ टनभन्दा बढी अत्यावश्यक सामग्री पठाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालले सोमवार औषधि, चिकित्सकीय सामग्री, न्यानो कपडा र अन्य अत्यावश्यक सामग्री पठाएको हो।

टर्किश एअरलाइन्सको उडानमार्फत् राहत सामग्री पठाइएको हो।

गत साता प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको एक आकस्मिक बैठकले टर्कीलाई सहयोग गर्ने निर्णय गरेको थियो।

सन् २०१५ मा नेपालमा भूकम्प जाँदा टर्कीले नेपाललाई सहयोग गरेको थियो।

टर्कीको गाजियान्टेप प्रान्तमा आएको पहिलो भूकम्प ७।८ म्याग्निट्यूडको थियो। नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्प पनि ७।८ म्याग्निट्यूडकै थियो।

टर्कीमा परकम्पका रूपमा आएको दोस्रो भुइँचालो ७।५ म्याग्निट्यूडको थियो। यस्तो भुइँचालोलाई ठूलो मानिन्छ।

टर्कीमा आएको पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा केवल १८ किलोमिटर मुनि थियो। त्यसैले भवनहरू र अन्य भौतिक संरचनामा ठूलो क्षति पुग्यो।

लन्डनस्थित यूनिभर्सिटी कलेजका जोखिम तथा विपद् न्यूनीकरण विभाग प्रमुख प्राध्यापक जोआना फोरे(वाकर भन्छिन्,ूविगत १० वर्षमा दुई वटा मात्रै त्यति म्याग्निच्युडका र त्यसभन्दा अघिल्लो दशकमा चार वटा त्यस्ता विनाशकारी भूकम्प गएका छन्।ू

तर भूकम्पको शक्तिका कारण मात्रै विनाश निम्तिने होइन। यो भूकम्प बिहान सबेरै आएका बेलामा मानिसहरू घरभित्रै सुतिरहेका थिए। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्