क्लिनिकल प्याथोलोजिष्टहरुको १० औं राष्ट्रिय सम्मेलन ललितपुरमा सम्पन्न
देशभरका २६० जना प्याथोलोजिष्ट सहभागी, क्यान्सरको एड्भान्सड् परीक्षणबारे ३ दिनसम्म छलफल
जनस्वास्थ्य सरोकार, ललितपुर । क्लिनिकल प्याथोलोजिष्टहरुको १० औं राष्ट्रिय सम्मेलन ललितपुरमा सम्पन्न भएको छ । एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपाल (एसिपिएन) को आयोजनामा ललितपुरको हिमायलन होटलमा बिहीबारदेखि ३ दिनसम्म भएको सो सम्मेलन शनिवार सम्पन्न भएको हो ।

प्याथोलोजीमा भएको नयाँ एड्भान्सेस परीक्षणहरुले क्यान्सरको उपचारमा कसरी सहयोग पुर्याइरहेको छ ? क्यान्सर व्यवस्थापनमा यो किन आवश्यकताछ ? भन्ने उद्देश्यले तीन दिनको राष्ट्रिय सम्मेलन आयोजना गरिएको एसिपिएनकी अध्यक्ष एवं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक वरिष्ठ प्याथोलोजिष्ट डा. रुना झाले बताउनुभयो ।

क्यान्सर पहिचानमा माइक्रोस्पिक परीक्षण मात्र नभएर जेनेटिक्स मोलिक्युलरलगायत धेरै एड्भान्स्ड परीक्षणहरु आइसकेका छन् । एउटै क्यान्सरमा पनि सबै व्यक्तिको उपचार एउटै हुँदैन । क्यान्सरको उपचार व्यक्तिपिच्छे फरक हुन्छ । अन्तर्राष्ट्रिय जगतमा एड्भान्सड परीक्षण गरिरहँदा हाम्रो देश भने अझै पछि छ । डा. झा भन्नुहुन्छ— ‘मुलुकमा क्यान्सरको एड्भान्सड परीक्षण नहुँदा देशका क्यान्सर बिरामीहरुको राम्रोसँग उपचार हुन सकेको छैन ।’

हरेक क्यान्सर फोरमहरुमा कुरा हुँदा औषधि एवं थेरापीको पाटोबाट मात्र कुरा हुने गरेको पाइन्छ । एड्भान्सड परीक्षण नहुँदा क्यान्सरका बिरामीहरुको अधुरो उपचार भइरहेको डा. झाले स्पष्ट पार्नुभयो ।

यसरबारे जानकारी लिन सम्मेलनमा देशभरका करिब २६० प्याथालोजिष्टहरुको सहभागिता रहेको थियो । यसमा ९३ कार्यपत्र र ५७ वटा प्रोष्टर प्रस्तुत गरिएको थियो । सम्मेलनमा प्यानल डिस्कसन पनि गरिएको थियो ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रा.डा. चन्दा कार्कीले प्याथोलोजी क्षेत्रमा भएका विकृति र विसंगतीबारे संसदमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हरेक राष्ट्रिय सम्मेलनमा एकजना सिनियर प्याथोलोजिष्टलाई सम्मान गरिदै आएकोमा यसपाली वरिष्ठ प्याथोलोजिष्ट प्रा.डा. इश्वर लाल श्रेष्ठले सम्मान प्राप्त गर्नुभएको छ । डा. श्रेष्ठले ४३ वर्षदेखि प्याथोलोजीमा सेवा गर्दै आउनुभएको छ ।



