Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

सानै उमेरमा औषधि र मेडिकल उपकरण आपूर्तिमा छुट्टै पहिचान बनाउन सफल



होमप्रसाद गौतम (मुुकुन्द) जीएच मेडिहेल्थ कन्सर्न प्रा.लि.का प्रवन्ध निर्देशक हुनुहुन्छ । मेडिगोल्ड इन्टरनेशनल प्रा.लि. र सेतिदेवी मेडिसिन सप्लायर्सका सञ्चालक समेत रहनुभएका गौतमको करियरमा संघर्षका कथा निकै रोमाञ्चकारी छ । काभ्रेपलाञ्चोकको पोखरीचौरी गा.वि.स. (हाल चौरी देउराली गाउँपालिका वडा नं ५ पोखरी) मा जन्मनुभएका गौतम हाल ३५ औं वसन्तमा हुनुहुन्छ । सानै उमेरमा औषधि र मेडिकल उपकरण आपूर्ति व्यवसायमा छुट्टै पहिचान बनाउन सफल मुकुन्द धैर्य एवं इमान्दारितामा विश्वास गर्नुहुन्छ ।

साइकल संघर्ष
मध्यमवर्गीय परिवारमा जन्मनुभएका गौतमले गाउँकै विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभयो । काम गर्दैै उच्च शिक्षा अध्ययन गर्ने सुन्दर सपना बोकेर वि.सं २०६० सालमा काठमाडौँ प्रवेश गरेपछि कामको खोजी गर्दै जाँदा क्षेत्रपाटीस्थित एक औषधि सप्लायर्स कम्पनिमा ‘डेलिभरी ब्वाई’ को काम पाउनुभयो । काठमाडौँमा टिक्न भएपनि जस्तोसुकै जागिर गर्नुपर्ने बाद्यता थियो उहाँसँग ।

गौतम विगत सम्झिँदै भन्नुहुन्छ–‘सुरुवाती चरण अधिकांशको ‘लो लेवल’ बाटै सुरु हुन्छ । मैले पनि साइकलमा औषधि डेलिभरी गर्थेँ ।’ दुई वर्षपछि मार्केटिङको जिम्मेवारी पाएपछि बजारमा विश्वास जित्न सफल हुनुभयो ।

भन्नुहुन्छ—–‘कम्पनीका अन्य कर्मचारीहरुले मलाई साहु जत्तिकै ठान्थे ।’

जागिर छोड्दाको क्षण
सात वर्षजति काम गर्नुभयो । यसमा आफ्नो भविष्य देख्नुभएन । जागिर छाड्ने निधो गर्नुभयो । ‘भावनामा वहकिएर काममा नआउने भनिहालेँ । जागिर छाडेपछि त जीवन नै सकिएजस्तो अनुभूति पो भयो ।’–उहाँले भन्नुभयो ।

व्यवसायको सुरुवात्
आफ्नै व्यवसाय शुरु गर्ने निधो भएपनि गौतमसँग लगानी गर्न पर्याप्त रकम थिएन । ‘म गाउँले मान्छे । कुनै सम्पत्ति थिएन ।’—भन्नुहुन्छ—‘बैंक खातामा रू.दुइलाख जति थियो । साथीभाइहरूसँग सापटी लिएर बि.सं २०६७ सालमा औषधि आपूर्ती व्यवसाय सुरु गरेँ ।’

औषधि कम्पनिले पत्याएनन्…
गौतमसँग लगानी गर्ने ठूलो पूँजी नभएकाले शुरुमा कमैले मात्र विश्वास गरे । विश्वास दिलाउन करिब ६ वर्ष लाग्यो । सम्बन्धित व्यक्तिहरुसँग फोनमै डील हुन्थ्यो । भुक्तानी दिएपछि औषधि पठाउँथे । समयमा भुक्तानी गर्ने, सहज रुपमा सामान डेलिभरि दिने कारण बजारमा विश्वास बढ्दै गयो ।

दुबईले सिकायो
४ वर्षको अवधिमा व्यवसाय राम्रोसँग फस्टायो । वि.सं २०७१ सालतिर गौतमलाई दुवई भ्रमण जाने अवसर मिल्यो । ‘वास्तवमा व्यवसायको बारेमा दुवई भ्रमण गएपछि थाहा पाएँ । त्यसपछि देशविदेशमा हुने विभिन्न प्रदर्शनीहरुमा निरन्तर सहभागी हुन थालेँ ।’—भन्नुहुन्छ– ‘विश्व बजारमा व्यापार गर्ने शैली, नाफाको अनुपात, सम्मानलगायतका कुरा अनुभूति हुन थाल्यो ।’

मेडिकल उपकरणतिर फड्को
दुबईबाट फर्किएपछि गौतमले मेडिकल उपकरण आपूर्तिमा पनि फड्को मार्नुभयो । शुरुका दिनहरुमा चाइनिज कम्पनिको हेमोडायलाइसिस मेसिन सप्लाई गर्नुभयो । उहाँको काम गर्ने उत्कृष्ट शैली देखेर जापानको निप्रो कर्पोरेसन कम्पनिले गौतमलाई नेपालको एक्जुकेटिभ डिस्ट्रिव्युटर्सको जिम्मेवारी दियो । सो कम्पनिले हेमोडाइलाइसिस मेसिन, डायलाइजरलगायतका सामाग्री उत्पादन गर्छ ।

निप्रो कर्पोरेसनले एजेन्सी दिएकै वर्ष उहाँले एक सय वटा डायलाइसिस मेसिन बिक्री गर्न सफल हुनुभयो । सन् २०२२ मा निप्रो कर्पोरेसनको बिजनेस ग्रोथमा नेपाल एसियाकै पहिलो नम्बरमा पर्न सफल भएको छ ।

सफलताको राज
सफलताका लागि समयको सदुपयोग र कामप्रतिको प्रतिबद्धता महत्वपूर्ण हुन्छ । समयमा जिम्मेवारी पूरा गर्नुपर्छ । गौतम भन्नुहुन्छ—‘यो विषयमा निकै सजक छु ।’ समयमै सेवा दिने, मेसिन जडान गरिसकेपछि समयमा सर्भिसिङ गरिदिने, मेसिनको वारेन्टी –ग्यारेन्टी अनुसार काम गरेमा सफलता नजिक पुग्न धेरै समय नलाग्ने उहाँको बुझाइ छ ।

लगानी
गौतमसँग जीएच मेडिहेल्थ कन्र्सन प्रा.लि, मेडिगोल्ड इन्टरनेशनल प्रा.लि. र सेतिदेवी मेडिसिन सप्लायर्स गरी ३ ओटा कम्पनि छन् ।

शुरुमा रू.दुई लाखबाट सुरु भएको व्यवसायको मूल्याङ्कन अहिले झण्डै रू.दुई अर्ब पुगेको छ । कम्पनिमा बायोमेडिकल इन्जिनियर, डायलाइसिस टेक्निसियन, कार्यालय कर्मचारीलगायत ३३ जना भन्दा बढीले रोजगारी पाएका छन् । देशभर करिब ४० वटा सवडीलर छन् ।

उत्कृष्ट करदाता
गौतम राज्यप्रति निकै वफादार हुनुहुन्छ । राज्यलाई कर तिर्न उहाँ कहिल्यै हिच्किचाउनुहुन्न । यसको ज्वलन्त उदाहरण आन्तरिक राजस्व कार्यालय भक्तपुरले गौतमलाई विगत ३ वर्षदेखि लगातार उत्कृष्ट करदाताका रूपमा गरेको सम्मान पनि हो । उहाँले २०७६, ०७७ र ०७८ सालमा अन्तरिक राजश्व कार्यालय भक्तपुरबाट लगातार उत्कृष्ट करदाताका रुपमा सम्मान प्राप्त गर्नुभएको छ ।

अवसरको ढोका
व्यवसायमा इमान्दारिता, झुकाव र प्रतिवद्धता महत्वपूर्ण हतियार हुन् । इमान्दारितापूर्वक काम गर्नेका लागि अवसरका ढोकाहरु खुला रहन्छन् । सफलता प्राप्त गरेका व्यक्तिहरुको प्रेरणादायी पुस्तकहरुको अध्ययनले सफल व्यवसायी बन्न प्रेरणा मिल्छ ।

जीवनको लक्ष
नेपालको प्रतिष्ठित उद्योगपतिको रुपमा आफूलाई स्थापित गराउने गौतमको लक्ष्य छ । गौतम भन्नुहुन्छ—‘पर्यटन र होटल व्यवसायमा समेत अवसर देखेको छु ।’

प्रतिक्रिया दिनुहोस्