Logo
|
Monday 20th May 2024
Logo

epaper

ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान सञ्चालन हुने



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान सुरु हुने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको पहलमा आज बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकको निर्णयअनुसार नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकाका लागि दुई दिन विशेष खोप कार्यक्रम गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यसअघि विभिन्न कारणले खोप लगाउन छुटेका सबै बालबालिकालाई दुई दिनको विशेष अभियानमा समेट्न जिल्लाका सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।

विशेष खोप कार्यक्रमका लागि पाटन अस्पतालले दुई दिन नै विशेष बुथ राख्ने स्वास्थ्य कार्यालयका अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिनुभयो ।

“बैठकले पूर्ण खोप कार्यक्रममा कोही छुट्न नदिन पोष्टर, ब्यानर सवारी साधनमा राखेर प्रचार गर्ने व्यवस्था मिलाइएको छ, पालिकाका वार्ड स्वयंसेविकालाई प्रभावकारी ढङ्गले परिचालन गरेर पूर्ण खोप अभियान सम्पन्न गर्ने निर्णयअनुसार हामी अगाडि बढेका छौँ”, अधिकृत न्यौपानेले भन्नुभयो, “विगतमा खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाउन सबैको सहयोगको अपेक्षा राखेका छौँ, नयाँ ढङ्गले व्यवस्थित रूपमा कार्यक्रम गर्छौँ ।”

ललितपुर २०७४ वैशाख १४ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । जिल्लामा पूर्ण खोप कार्यक्रमका लागि प्रत्येक वर्षको चैतभित्र स्वास्थ्यकर्मीले घरधुरी सर्वेक्षण गरेको न्यौपानेले जनाउनुभयो । खोप अभियान सफलतापूर्वक सम्पन्न गर्न जनप्रतिनिधि, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सेना, प्रहरी, बुद्धिजीवी लगायत सबै तहका व्यक्तिको साथ लिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्