Logo
|
Saturday 27th July 2024
Logo

epaper

विश्व मुटु दिवस २०२३ः ‘मुटुबारे जानौं, मुटु बचाऔं’

संसारलाई मुटु रोगबाट मुक्त बनाउन प्रेरित



जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व मुटु दिवस । हरेक वर्ष सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाउने गरिएको छ । यस वर्ष ‘मुटुबारे जानौं, मुटु बचाऔं’ भन्ने मुल नाराका साथ नेपाल लगायत विश्वभर यो दिवस मनाइँदै छ ।
विश्व मुटु दिवस हरेक वर्ष सेप्टेम्बर २९ मा मनाइन्छ । यसको उद्देश्य मुटु रोग र यससँग सम्बन्धित स्वास्थ्य समस्याहरूमा मानिसहरूको ध्यान आकर्षित गर्नु हो । आम जनतामा मुटु रोगबारे चेतना फैलाउन प्रेरित अन्तर्राष्ट्रिय अभियान पनि हो विश्व मुटु दिवस ।

हृदयघात, मस्तिष्कघात र मुटुसँग सम्बन्धित अन्य कुनै पनि रोगबाट बच्न विभिन्न रोकथामका उपाय र जीवनशैलीमा परिवर्तन ल्याउने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । सरल शब्दमा भन्नुपर्दा विश्व मुटु दिवस विश्वभरका आम मानिसमा मुटु स्वास्थ्य बारे सचेतना फैलाउने अभियान हो । सन् १९९९ मा विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवस मनाउने घोषणा गरेका थिए । यो विचार विश्व मुटु महासंघका अध्यक्ष एन्टोइन बेयस डे लुना (१९९७—१९९९) को थियो । यो पहिलो पटक सन् २००० मा मनाइएको थियो ।


शुरुमा विश्व मुटु दिवस हरेक वर्ष सेप्टेम्बरको अन्तिम आइतबार मनाइँदै आएको थियो र यो २०१० सम्म जारी रह्यो । सन् २०११ देखि स्विजरल्याण्डको जेनेभास्थित विश्व मुटु महासंघले हरेक वर्ष सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाउन थालेको हो । (अब यो दिन आइतबार नै होस् भन्ने जरुरी छैन) । पहिलो विश्व मुटु दिवस २४ सेप्टेम्वर २००० मा मनाइएको थियो ।


सन् १९४६ मा स्थापित अन्तर्राष्ट्रिय कार्डियोलोजी सोसाइटी र १९७० मा स्थापित अन्तर्राष्ट्रिय कार्डियोलोजी महासंघलाई १९७८ मा एकीकृत गरी अन्तर्राष्ट्रिय समाज र कार्डियोलोजी महासंघ गठन गरियो । पछि सन् १९९८ मा इन्टरनेशनल सोसाइटी र फेडरेशन अफ कार्डियोलोजीको नाम बदलेर विश्व मुटु महासंघ राखियो ।

विश्वव्यापी रूपमा मुटु रोग विरुद्ध लड्ने यो एक मात्र संस्था हो । मुटुरोगसम्बन्धी जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष विश्वभर मुटु रोगसम्बन्धी विभिन्न कार्यक्रम गरी विश्व मुटु दिवस मनाइन्छ ।

यसको उद्देश्य संसारलाई मुटु रोगबाट मुक्त बनाउन मानिसहरूलाई प्रेरित गर्नु हो । विश्व मुटु महासंघले विश्वका १०० भन्दा बढी देशमा अन्य संघसंस्थासँगको सहकार्यमा विभिन्न किसिमका सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ । यसका साथै यस दिन धेरै ठाउँमा मुटुको जाँच शिविर समेत आयोजना गरी मुटु सम्बन्धी रोगबारे सचेतना गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्