Logo
|
Saturday 27th July 2024
Logo

epaper

डा. गोविन्द केसीको ७२ घण्टे अनसनको अन्त्यः ३०० वेडको अस्पतालबिना गेटा मेडिकल कलेज सञ्चालन हुन नसक्ने जिकिर

अनसन स्थगित गरेर डाक्टर केसी सेति प्रादेशिक अस्पतालमा भर्ना



जनस्वास्थ्य सरोकार, धनगढी । स्वास्थ्य, शिक्षा क्षेत्रको समग्र सुधार र सबैको समान पहुँचको मागसहित धनगढीमा सत्याग्रह थाल्नु भएका डा. गोविन्द केसीले आज अनसन तोड्नुभएको छ ।

धनगढी उपमहानगरपालिका–७ देवहरियाकी रेनुका चौधरी र धनगढी उपमहानगरपालिका –१ की अञ्जली नेपालीको हातबाट जुस पिएर उहाँले अनसन तोड्नु भएको हो । डा.केसीले गएको शुक्रबारबाट तीन दिनका लागि अनसन थाल्नु भएको थियो ।

अनसन तोड्दै उहाँले सुदूरपश्चिमका जनताको सहज स्वास्थ्योपचारका लागि आफूले अनसन बसेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको पढाइ र दक्ष जनशक्ति उत्पादनका लागि आफूले यो लडाइ लडिरहेको स्पष्ट पार्दै उहाँले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनुमा आफ्नो कुनै आपत्ति नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले गेटामा ३ सय वेडको अस्पताल सञ्चालन भएमा मात्र मेडिकल विश्वविद्यालय सञ्चालन गर्न सफलता हाँसिल हुने बताउनुभयो । विशेषज्ञ सेवासहितको ३०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने भनी सरकारले आफूसँग १६ महिनाअघि सहमति गरेको तर अझै रोकेर राखेको उहाँले स्पष्ट पानुभयो ।

“मैले यहाँकै जनताको सुलभ रूपमा स्वास्थ्योपचारका लागि अनसन बसेको हो । यसमा मेरो आफ्नो कुनै स्वार्थ छैन” केसीले भन्नुभयो, “यसका लागि म लडिरहनेछु । कोही कसैसँग डराउने वाला छैन ।”
केसीले विगतमा आफूसँग भएका सहमति कार्यान्वयनलगायतका विभिन्न माग राखेर गत शुक्रबार गेटा अस्पतालमा अनसन बस्न खोज्दा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले अवरोध गरेको थियो ।


त्यसपछि धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बस्नुभएको थियो । विभिन्न माग राखेर आफ्नो ७२ घण्टे अनसन स्थगित गरेर डाक्टर केसी सेति प्रादेशिक अस्पतालमा भर्ना हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्