Logo
|
Tuesday 15th October 2024
Logo

epaper

सूर्यको प्रकाशको कमीले हाम्रो दिमागलाई कस्तो असर गर्छ ?

के हो वीन्टर ब्लुज, कारण, लक्षण र बच्ने उपाय



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कल्पना गर्नुहोस् त, जहाँ तापक्रम शून्य डिग्रीभन्दा तल छ, बिहानी र घामको किरण देख्न नपाएको महिनौं भइसक्यो । नेपालमा बसेर यस्तो कल्पना गर्दा पनि मन अत्तालिन्छ ।

तर, स्वीडेनको एउटा सानो गाउँ अबिस्कोको अवस्था यस्तै छ । उत्तरी स्वीडेनमा अवस्थित यो गाउँ आर्कटिक सर्कलबाट करिब दुई सय किलोमिटर उत्तरमा छ ।

यहाँका मानिसहरू माइनस डिग्री तापक्रममा लामो समयसम्म अन्धकारमा बस्छन् । यहाँ महिनौंसम्म घाम लाग्दैन । अबिस्कोमा सबैभन्दा लामो जाडो हुन्छ । यहाँ अक्टोबर महिनामा सुर्यास्त भएर एकैचोटी ४ महिनापछि फेब्रुअरीमा सुर्योदय हुन्छ ।

सुर्यको किरण नदेख्दा हाम्रो दिमागलाई कस्तो असर पर्छ ?

स्टकहोम विश्वविद्यालयका निद्रा अनुसन्धानकर्ता अर्नो लाउडेनका अनुसार मानव एक ‘डायूरनल’ प्राणी हो । अर्थात दिनमा बढी सक्रिय हुने र रातमा सुत्ने । उहाँ भन्नुहुन्छ–‘हाम्रो शरीरको आफ्नै ‘बडी क्लक’ छ । शरीरलाई बाहिरी संसारको प्रकाशसँग समायोजन हुन हरेक दिन केही प्रकाश चाहिन्छ ।’

मेलाटोनिन एक प्रकारको हर्मोन हो । यसलाई अँध्यारोको हर्मोन पनि भन्ने गरिन्छ । मेलाटोनिन हर्मोनले निद्रा लाग्न मद्धत गर्छ । सूर्यको किरणले हाम्रो मस्तिष्कलाई मेलाटोनिन हर्मोनको उत्पादन रोक्न सन्देश दिन्छ ।

अन्वेषक अर्नो लाउडेन भन्नुहुन्छ–‘मेलोटोनिन हर्मोन बेलुका आठ बजे सक्रिय भएर रातको एक बजे तिर चरम सीमामा हुन्छ । बिहान उठ्ने बित्तिकै सूर्यको किरणले यस हर्मोन उत्पादन बन्द हुन्छ र निद्रा पूरा हुन्छ ।’ –उहाँ थप्नुहुन्छ–‘यदि बिहान सूर्यको किरण नदेखेमा शरीरको आन्तरिक बडी क्लक बिग्रिएर बाहिरी संसारसँगको समन्वयमा गडबडी आउन सक्छ ।’

के हो वीन्टर ब्लुज ?

द लाइटिङ रिसर्च सेन्टरकी मारियाना फिग्युरोआका अनुसार कतिपय मानिसहरु जाडो मौसमको लामो रात र छोटा दिनसँग एड्जस्ट हुन सक्दैनन् । यसको कारण बताउँदै उहाँ थप्नुहुन्छ–‘दिन छोटो हुँदा शरीरले पर्याप्त घामको किरण पाउन सक्दैन । जसले गर्दा कतिपय मानिसहरु डिप्रेसनको शिकार हुन सक्छन् । कतिपयलाई अत्याधिक कार्बोहाइड्रेट खाने इच्छा हुन्छ । जसले उनीहरुको अश्वभाविक तौल बृद्धि हुन्छ । यसलाई सिजनल इफेक्टिव डिसअर्डर वा वीन्टर ब्लुज भनिन्छ ।’

मानव शरीरका लागि सूर्यको किरण निकै महत्त्वपूर्ण भएको म्याक्स सुपर स्पेशलिटी अस्पताल दिल्लीका मानसिक स्वास्थ्य विभागका निर्देशक डा. समीर मल्होत्रा बताउनुहुन्छ ।

बीबीसी हिन्दीका लागि फातिमा फरहीनसँग कुरा गर्दै डा. मल्होत्रा भन्नुहुन्छ–‘हाम्रो मस्तिष्क भित्र एउटा भाग हुन्छ जसलाई हामी हाइपोथ्यालेमस भन्छौं । यो हाम्रो शरीर भित्रको घडी हो यसले शरीरको समयलाई बाहिरी समयसँग मिलाउन मद्धत पुर्याउँछ । यदि बाहिर धेरै अँध्यारो भए शरीरले चाहेजति प्रकाश प्राप्त गर्न सक्दैन । यस्तो अवस्थामा कतिपय संवेदनशील व्यक्तिहरूलाई मुड डिसअर्डर हुने सम्भावना हुन्छ । यसलाई सिजनल एफेक्टिभ डिसअर्डर नाम दिइएको छ ।’

यस्ता केसहरू उत्तरी युरोप र अमेरिकामा बढी देखिने दिल्लीका वरिष्ठ डाक्टर शेख अब्दुल बशीर बताउनुहुन्छ । बीबीसीसँग कुरा गर्दै डा. बशीर भन्नुहुन्छ–‘भारतमा वीन्टर ब्लुजका केस विरलै देखिन्छन् । कहिलेकाही वर्षातको मौसमका केही केसहरु देखिन सक्छन ।

उहाँका अनुसार सिजनल एफेक्टिभ डिसअर्डरका लक्षणहरु डिप्रेसनसँग मिल्दाजुल्दा हुन्छन् । डा. बशीर भन्नुहुन्छ–‘सजनल एफेक्टिभ डिसअर्डर भएका मानिसलाई डिप्रेसन हुनथाल्छ, काम गर्न मन लाग्दैन, मानिसहरु खुसी हुन बिर्सन्छ। साथै भोक र यौनको चाहना पनि कम हुन्छ ।’

हामीलाई कति सुर्यको किरण चाहिन्छ ?

प्रोफेसर लोडेनका अनुसार यो व्यक्ति पिच्छे फरक हुन्छ । सामान्यतया हाम्रो शरीरले हरेक दिन कम्तिमा २० मिनेटसम्म चहकिलो घाम पाउनुपर्छ भन्ने मान्यता छ । र त्यो बिहानको उज्यालो हुनुपर्छ । मारियाना भन्नुहुन्छ–‘हामीले हरेक दिन एक दुई घण्टा घर बाहिर निस्कनुपर्छ । यदि त्यो सम्भव छैन भने घरको झ्यालको छेउमा बस्नुपर्छ । त्यो पनि सम्भव नभए घरमा बस्ने ठाउँ नजिकै टेबल ल्याम्प बालेर सकेसम्म धेरै प्रकाश लिन सकिन्छ ।’

महिनौंसम्म घाम नलाग्ने ठाउँका मानिसहरुले के गर्ने?

डा. बशीर भन्नुहुन्छ–‘एक सजिलो उपाय भनेको मौसम परिवर्तन हुने समयको प्रतिक्षा गर्नु हो । तर, कतिपय देशमा ६ महिनासम्म घाम लाग्दैन । यस्तो अवस्थामा सकेसम्म धेरै व्यायाम, सन्तुलित आहार, राम्रो निद्रा र मेडिटेसन गर्नुपर्छ । साथै पर्याप्त पानी पिउनुपर्छ।’

उहाँका अनुसार वीन्टर ब्लुजबाट प्रभावित व्यक्तिहरुले आफ्नो हबी (शौक) मा समय दिनुपर्छ । र, साथीहरूसँग धेरै समय बिताउनुपर्छ ।

स्क्यान्डिनेभियाली देशका मानिसहरूले यसको उपचार पत्ता लगाएका छन् । त्यहाँ मानिसलाई ‘लाइट थेरापी’ दिइन्छ । घर भित्र कृत्रिम सूर्य कोठा बनाइन्छ । यसले ‘वीन्टर ब्लूज’सँग लड्न मद्दत गर्दछ ।

तर, अहिलेसम्म कृत्रिम प्रकाश थेरापी प्रभावकारी भएको कुनै वैज्ञानिक आधार छैन । सायद, यही कारणले गर्दा वीडेनको अबिस्को गाउँका मानिसहरू फेब्रुअरी महिनामा पुनः सूर्य उदाउँदा प्रकाशलाई स्वागत गर्न र उत्सव मनाउन पहाड तिर जान्छन् । बीबीसीहिन्दीबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस्