Logo
|
Saturday 27th July 2024
Logo

epaper

डायलाईसिस सेन्टरमा खेलवाडः मृत्युको मुखमा बिरामी

एउटै डायलाइजर र ट्युव धेरैपटक प्रयोग



होमप्रसाद गौतम (मुकुन्द) जीएच मेडिहेल्थ कन्सर्न प्रा.लि.का प्रबन्ध निर्देशक हुनुहुन्छ । मेडिगोल्ड इन्टरनेशनल प्रा.लि. र सेतिदेवी मेडिसिन सप्लायर्सका सञ्चालक समेत रहनुभएका गौतम औषधि र मेडिकल उपकरण आपूर्ति व्यवसायमा चिरपरिचित नाम हो । उहाँले नेपालमा विगत ७ वर्षदेखि जापानिज कम्पनी निप्रो कर्पोरेसनको हेमोडायलाइसिस मेसिन, डायलाइजरलगायतका सामान आपूर्ति गर्दै आउनुभएको छ । यसै सिलसिलामा देशका डायलाईसिस सेन्टरहरुको अवस्थाबारे उहाँको आफ्नै शव्दमा ।

देशमा करिब ५ वटा अन्तर्राष्ट्रिय कम्पनीका डायलाईसिस मेसिन आपूर्ति भइरहेका छन् । तर त्यसमा प्रयोग हुने डाइलाइजर, फिस्टुला ट्युबको प्रयोगमा लापरवाही भएको पाइन्छ । जस्तोः जापानिज डायलाईजरको मूल्य एक हजार पर्छ । तर चाइनिज डायलाईजर ४ सय रुपियाँमा आउँछ । तर ति मध्ये कुन गुणस्तरीय हो भन्ने जानकारी लिन नेपालमा गुणस्तर मापन गर्ने संयन्त्र छैन । नेपालमा सस्तोलाई प्राथमिकता दिने सरकारको नीति छ । गुणस्तरीय सामान महँगो पर्छ । सस्तोलाई नदिई महँगोलाई दिएमा सञ्चार माध्यममा आउने समाचारले पनि समस्या पार्छ । सञ्चार माध्यमलाई गुणस्तरबारे थाहा नै हुँदैन ।

तर डायलाईसिस सेन्टरहरुमा बिरामीहरुको अवस्था देख्दा व्यापार नै नगरौँ जस्तो हुन्छ । अधिकांश निजी स्वास्थ्य संस्थाहरुले डायलाईजर मल्टि युज गरिरहेका छन् । खासमा यो डिस्पोजेवल चिज हो । एकभन्दा बढी पटक प्रयोग गर्न पूर्ण रुपमा मनाही गरिएको हुन्छ । तर धोएर ८—९ पटकसम्म प्रयोग गरेको पाइन्छ । यसैले इन्फेक्सन गराउँछ र बिरामीको मृत्यु हुन्छ । सामान्य त डायलाईसिसमा बसेका बिरामीहरु कम्तिमा पनि २५—३० वर्ष भन्दा बढी समयसम्म बाँचेको अन्तर्राष्ट्रिय अभ्यासहरुले देखाउँछन् । नेपालमा डायलाईसिस गर्ने रिभर अस्मोसिस (आरो) मा पानीको गुणस्तर नहँुदा पनि बिरामीको आयु छोट्याइरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, स्वास्थ्य संस्थाहरुमा असुरक्षित स्वास्थ्य हेरचाहका कारण १० जनामध्ये १ जनालाई हानी पुगिरहेको छ । असुरक्षित हेरचाहले विश्वमा वर्षेनी ३० लाखभन्दा बढीको मृत्यु हुुने गरेको छ । कम तथा मध्यम आय भएका देशहरुमा १०० जना मध्ये ४ जनाको असुरक्षित स्वास्थ्य हेरचाहका कारण मृत्यु हुने गरेको छ ।


डायलाइसिस गर्ने संस्थाले प्रति सेसन २ हजार ५ सय रुपियाँ अनुदान पाउँछन् । सरकारले डायलाइजरका लागि एक हजार मापन गरेको छ । एक सेसन डायलाइसिस गर्दा नयाँ डायलाइजरसहित लाग्ने खर्च अधिकतम १ हजार ५ देखि १ हजार ७ सय रुपियाँ हो । कतिपय सेन्टरले त ट्युविङ (व्लड पाइप) पनि धोएर प्रयोग गरिरहेका छन् । बिरामीले डायलाईसिसको लागि पालो कुर्नुपर्छ । तर कतिपय सरकारी अस्पतालले डायलाइसिस मेसिन जडान गरेपनि सञ्चालन गरेका छैनन् । कतिले ठाउँ अभावको बहाना बनाएर सेवालाई ओझेलमा पारेका छन् ।


औषधिको त्रुटी, असुरक्षित शल्यक्रिया, हेल्थकेयर सम्बन्धित संक्रमण, डायग्नोष्टिक इरर, गलत निदान, असुरक्षित ब्लड ट्रान्सफ्युजन र भेनस थ्रोम्बोइम्बोलिज्ममा ध्यान दिएमा सम्बन्धित खतराबाट जोगिन सकिने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

त्यसैले हाम्रो देश नेपालमा सम्बन्धित निकायमा दर्ता भएका सामान मात्र सम्बन्धित निकायमा राख्ने परिपाटीको विकास हुन जरुरी छ । सरकारले डायलाईसिस सेन्टरहरुको नियमित अनुगमन गर्नुपर्छ । आर्थिक क्षमता कमजोर भएकाहरुको सिफारिस ल्याउन सम्बन्धित निकायमा धाउँदा धाउँदै ज्यान जान सक्ने भएकाले वडा कार्यालयको सिफारिस लिएर तुरुन्तै सेवा शुरु गर्ने व्यवस्था लागू गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्