Logo
|
Saturday 22nd February 2025
Logo

epaper

क्यान्सर पीडित बालबालिकाहरूले निःशुल्क किमो औषधि पाउने

बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण



नेपाल हेल्थ न्युज काठमाडौँ । १४ वर्ष मुनिका क्यान्सर पीडित बालबालिकाहरूले निःशुल्क किमो औषधि पाउने भएका छन् । काठमाडौंको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट बालबालिकाहरुले निःशुल्क औषधि प्राप्त गर्नेछन् । औषधिको वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवस्थित गरिने जनाइएको छ ।


डब्ल्यूएचओ, युनिसेफ र सेन्ट जोर्श रिसर्च सेन्टरबाट औषधि प्राप्त भएको छ, त्यसले हाम्रो अभियानलाई सहज ढङ्गबाट सञ्चालन र कार्यान्वयन हुन स्थिति बनेको स्वास्थ्य तथा जसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदिप पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो-यो मानवीय र भावनासँग जोडिएको कुरा भएकाले यसलाई व्यवस्थित ढङ्गबाट लक्षित समूहसम्म पुर्‍याउने काम हुन्छ । त्यसैले बालबालिकाको उपचार क्यान्सरको उपचारमा मात्रै होइन अन्यत्र पनि राज्यले सहयोग पुर्‍याउने गरी प्रावधानको प्रबन्ध गरिनुपर्छ भनेर भनिरहेका छौँ । त्यसैले कति सक्छौँ । अरू पक्षहरूबाट पनि कोसिस गरिरहेका छौँ । अहिले यी चार वटा अस्पतालबाट व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने प्रक्रियामा अस्पतालका कार्यकारी निर्देशक र मन्त्रालयले समन्वय गर्ने र सहयोगी संस्थाहरूबाट निःशुल्क औषधि उपलब्ध गराउने स्थिति बन्यो भने व्यवस्थित किसिमले कार्यान्वयन गर्ने अवस्था हुन्छ ।’

क्यान्सर पीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन हुँदै आएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लगायत संस्थाहरूले औषधि उपलब्ध गराएपछि थप सहज भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सचिव हरिप्रसाद मैनालीले औषधि आवश्यकताका आधारमा सर्वसुलभ रूपमा वितरण गर्ने व्यवस्था मिलाउने बताउनुभयो । उहाँले भनसुनको भरमा औषधि वितरण गर्ने नभई सिस्टमको आधारमा सेवा प्रवाह हुने बताउनुभयो । उहाँले सहयोगी संस्थाले पाँच वर्षका लागि निःशुल्क औषधिको व्यवस्था गर्ने भएकाले दीगोपनका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अब हामीलाई केही जिम्मेवारी पनि थपिएको छ । यसको गुण मेन्टेन गर्ने, डिस्टिब्युसन, रेकर्ड म्यानेजमेन्ट यी सबै कुराहरूमा मेडिसिनहरू छ यसलाई प्रपर रूपमा डिस्टिब्यूसन गर्ने । जो आवश्यक छ बालबालिकाहरूलाई कसैले भनसुन नगरीकन सिस्टमबाट प्रवाह हुने व्यवस्था यहाँहरूले मिलाउनु हुनेछ त्यो हाम्रो जिम्मेवारी हो । हामी मन्त्रालय, विभागलगायत अस्पतालहरूले यो जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । त्यसै गरी अर्को महत्त्वपूर्ण पक्ष भनेको यसको दिगोपन पनि हो । ६ वटा राष्ट्रमध्ये नेपाल एउटा परेको छ,यो पाँच वर्षका लागि भनेको छ । त्यसपछि हामीले यसलाई कसरी सस्टेन गर्ने भन्ने विषयमा पनि हामीले अहिले देखिनै सोचविचार गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यो अनुसारको प्लानिङ पनि गएका छौँ ।’

ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन (जिपिएसिसिएम) ले आगामी पाँच वर्षका लागि ३५ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने भएको छ । संस्थाले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधिहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय औषधिको छनोटदेखि वितरणसम्मको प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण गरिएको हो ।

नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक ३ किसिमका औषधि पहिलो चरणमा प्राप्त गरेको थियो । बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधि खरिद गरेको हो । नेपाललाई सोऔषधि निःशुल्क उपलब्ध गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्