बिरामीले ल्याब रिपोर्टमाथि प्रश्न उठाउन पाउँछन्
बिरामीको रोग पहिचान गर्ने प्रारम्भिक माध्यम ल्याब हो । तर नेपालमा पछिल्लो समय ल्याबको गुणस्तर र यसको विश्वसनीयतामाथिनै प्रश्न उठेको छ । मुलुकमा गुणस्तरीय ल्याबोरेटरी सेवा अत्यावश्यक छ । हरेक ल्याबोरेटोरीले डायग्नोसिसमा गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ । नेपालमा क्लिनिसियन चिकित्सकहरुको अध्ययन, योग्यता र क्षमता निकै राम्रो छ । तर ल्याबसँग तालमेल हुननसक्दा नेपालमा संभव भएका रगतका नमूनाहरु भारतलगायतका तेस्रो मुलुकमा गइरहेका छन् । डा. समिरमणि दिक्षितज्यूले भन्नुभएजस्तै मोलिक्युलर टेष्टहरु मार्फत हाम्रो जेनेटिक्स इन्फरमेसन्सहरु पनि बाहिर गइरहेको छ । करिब ७० प्रतिशत रोगको पहिचान डायग्नोसिसमा आधारित छ । पछिल्लो समयमा नेपालमा गुणस्तरीय ल्याबोरेटोरी सेवाको पनि विकास हुन थालेपछि आशाको किरण पलाएको छ । आज युवा पुस्ताका चिकित्सकहरु निकै लागिपरेका छन् । यसैमध्येका एक हुनुहुन्छ डा. केयूर गौतम । उहाँलगायतको टिमले हालै शुरु गरेको सम्यक डायग्नोस्टिक प्रा.लि. निकै स्तरीय प्रयोगशालको रुपमा स्थापित हुँदैछ । यसले प्रत्यक्ष प्याथोलोजिष्ट डाक्टरको काउन्सिलिङसहितको रिपोर्ट दिइरहेको छ । यसै सेरोफेरोमा रहेर सम्यक डायग्नोस्टिकका अध्यक्षसमेत रहनुभएका युवा प्याथोलोजिष्ट गौतमसँग जनस्वास्थ्य सरोकारले गरेको भलाकुसारी ।
उपभोक्तालाई कसरी सन्तुष्टी दिलाउन सकिन्छ ?
ल्याबमा भएका परीक्षण गुणस्तरीय भए नभएको पहिचान गर्नुपर्छ, त्यसपछि रिपोर्ट बाहिर ल्याउनुपर्छ । रिपोर्ट दिनु मात्र हाम्रो जिम्मेवारी हुँदैन । सम्बन्धित ल्याब चिकित्सकले रोगका बारे बिरामीसँग राम्रोसँग काउन्सिलिङ गर्नुपर्छ । टेष्टका बारे बिरामी र चिकित्सकलाई भरपर्दो सुझाब र सल्लाह दिनसक्नुपर्छ ।
यहाँले डायग्नोसिस सेवामा करियर बनाउनुको मुख्य कारण के हो ?
व्याच्लर अफ साइन्स इन मेडिकल ल्याबोरेटोरी टेक्नोलोजी पढेकाले ल्याब के हो ? यो कसरी चल्छ र ल्याबभित्र के के हुन्छ ? जस्ता कुरामा राम्रो अनुभव लिएको थिएँ । त्यसपछि एमबीबीएस गरियो र प्याथोलोजीमा एमडी गर्ने इच्छा जाग्यो । प्याथोलोजी बेसिक साइन्स र क्लिनिकल बीचको लिंक हो । रोग के हो र कसरी लाग्छ भन्ने कुरा थाहा पाएर नै धेरै रोगको उपचार संभव भएको छ । प्याथोलोजी रिपोर्टकै आधारमा उपचार हुने गर्छ । त्यसैले यस क्षेत्रमा राम्रो योगदान गर्नसक्छु भनेर यो पेशामा पाइला अघि बढाएको छु ।
रोग पहिचानमा ल्याब उपकरणको भूमिका कस्तो हुन्छ ?
पहिला पहिला म्यानुअल्ली (हातले गर्ने) टेष्ट हुने गर्दथ्यो । जस्तो—एउटा मधुमेहको रिपोर्ट निकाल्न ३—४ घण्टा लाग्दथ्यो । तर अहिले १०—१५ मिनेटभित्र नै ल्याब रिपोर्ट प्राप्त गर्न सकिन्छ । प्रबिधिले पहिलाको भन्दा निकै सजिलो गराएको छ । तर त्यसमा कठिनाइहरु पनि सँगै जोडिएर आएको हुन्छ । उपकरणमा ल्याब रिपोर्ट निर्भर हुने भएकाले उपकरणका बारेमा अध्ययन गर्नुपर्छ । कुनैबेला मेसिन बिग्रिएर समस्या पनि आउनसक्छ । त्यसैले यसबारे अध्ययन हुन पनि जरुरी छ । मेसिनले रिजल्ट दिनुअगाडि Calibration, Quality Control अनुसार रिजल्ट आएको छ कि छैन भन्ने कुरा अनुगमन गर्न आवश्यक छ । हामीसँग अटोमेटेड मेसिन भएको कारणले गर्दा नै धेरै नमूनाहरुको केही घण्टामै रिजल्ट दिन सफल भएका छौं । गुणस्तरीय सेवा अहिलेको आवश्यकता हो । त्यही अनुरुप हामी सेवा दिन चाहन्छौं र दिइरहेका छौं । गुणस्तर हुँदैमा सेवा शुल्क महँगो हुनुपर्छ भन्ने छैन । विदेशिने टेष्टहरु हामीले अति न्यून शुल्कमा स्वेदशमा उपलब्ध गराइरहेका छौं ।
हाल बजारमा भित्रिएका प्रविधिको उपभोगमा सर्वसाधारणको पहुँच हुन सक्ला त ?
नयाँ प्रविधिले समयमा रिपोर्ट दिने, एक्युरेसी बढाउने र रिलायवल रिपोर्ट दिने भएकाले व्यक्तिको पहुँचभित्र हुने गर्छ । यसलाई सहज रुपमा लिनुपर्छ ।
बजारमा के कस्तो तरिकाले ल्याब टेष्ट गर्ने प्रचलन छ ?
पछिल्लो समयमा फूल्ली अटोमेटेड मेसिनहरु भित्रिएका छन् । यसअघि म्यानुअल (हातले केमिकल मात्रा मिलाएर टेष्ट गर्ने), सेमिअटोमेटेड (हरेक केमिकलको मात्रा मिलाएर केही हातले र केही मेसिनले गर्ने ) प्रचलन थियो ।
फूल्ली अटोमेटेड मेसिनले चाँही धोका दिँदैन ?
फूल्ली अटामेटेड मेसिनमा पनि समस्या आउनसक्छ । तर मेसिनको धोकालाई अनुगमन गरिहनुपर्छ । यो हाम्रो जिम्मेवारी हुन्छ । मेसिन र यसमा प्रयोग गरिने केमिकल एवं रिएजेन्ट्सको अवस्थाबारे आन्तरिक र बाह्य क्वालिटी कन्ट्रोलबाट अनुगमन गरिरहनुपर्छ । सही रिपोर्टका लागि हरेक दिन क्वालिटी कन्ट्रोल गर्नुपर्छ । मेसिनको क्यालिब्रेसन (मेसिनले राम्रोसँग काम गरेनगरेको थाहा पाउने) गर्नुपर्छ । यद्यपी समस्या आएमा पहिचान गरेर समाधान गर्नुपर्छ ।
ल्याब रिपोर्ट लिनअघि सर्वसाधारणले के बुझ्न जरुरी हुन्छ ?
जाँचको रिपोर्ट, धेरै कुरामा निर्भर गर्छ । जस्तैः रगत दिने समय, रगत संचय गर्ने, ट्यूब इत्यादि । त्यो बाहेक सबै जनाले बुझ्नैपर्ने कुरा के हो भने मेरो रगतको जाँच कहाँ, कसरी र कुन प्रविधिबाट भइरहेको छ भन्ने कुरा थाहा पाउन जरुरी छ । आम उपभोक्तामा यो बारे चेतना अपरिहार्य छ ।
तर सेवा प्रदायकले त सही कुरा बताउँदैनन् भन्ने गुनासो सर्वसाधारणको आउने गरेको छ नि ?
सेवा प्रदायकले सही कुरा बताउनै पर्छ । यसका लागि हरेक ल्याबोरेटोरीमा पारदर्शीता हुनुपर्छ । आफ्नो ल्याबको अवस्थाबारे सर्वसाधारणलाई बताउनु ल्याब सञ्चालकको कर्तव्य हो भने जानकारी माग्ने सेवाग्राहीको अधिकार हो ।
यहाँको ल्याबोरेटोरीमा के कस्ता नयाँ सेवाहरु दिँदै आउनुभएको छ ?
मिर्गौला र मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरुका लागि ट्याक्रोलिमस लेवल र साइक्लोस्पोरिन लेबल नेपालमा शुरु गर्न सफल भएका छौं । यो निकै सस्तोमा उपलब्ध हुने गर्छ । किड्नीका बिरामीहरुका लागि सिअंका, पिअंका, टेष्ट गरिन्छ । अत्याधुनिक फूल्ली अटोमेटेड मेसिनबाट अटोइम्युन डिजिज, ड्रग लेबलको टेष्ट गरिन्छ । मिल्क इन टोलरेन्स पत्ता लगाउने, क्रोन्स डिजिज, अटोइम्युन हेपाटाइटिसका लागि अति सस्तोमा मार्करको सुविधा छ । रेनिन लेबल, भिएमए, फूल्ली अटोमेटेड इलेक्ट्रोफोरेसिस, फूल्ली अटोमेटेड कोगुलेसन एवं हर्मोनजस्ता सयौं टेष्टहरुको सुविधा दिँदै आएका छौं । यसका साथै एएनए, डिएस डिएनए indirect immunofluorescence method बाट महिलाहरुको लागि गराइने Antimullerian Hormone, गर्भती अवस्थामा हुने संक्रमणको लागि Antimullerian Hormone । यसैगरी मधुमेह बिरामीहरुले तीन तीन महिनामा गराउनुपर्ने HBA1C जाँच हामीकहाँ अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक मेसिनको मद्धतबाट गरिन्छ ।