Logo
|
Monday 25th November 2024
Logo

epaper

गल्लीगल्लीमा प्याथोलोजीः कसलाई कसरी विश्वास गर्ने ?



रोग पहिचान र निदान गर्ने पहिलो खुट्किलोमै मनपरी

जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित एक ल्याबले बिरामीको रोग डायग्नोसिसमा लापरबाही गरेको उजुरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प¥यो । अनुगमनको क्रममा त्यहाँ सहायकस्तरको कर्मचारीले टेक्निसियन भनेर काम गरेको भेटियो । रिपोर्ट हेर्दा रिएजेन्स्हरुको मिति सकिएको थियो । घटना एक वर्ष अघिको हो । गुरुङ  थरका ब्यक्तिले त्याहाँ मिर्गौलाको कार्य जाँच गर्ने रहेछन्  । तर त्यहाँ गरिएको परीक्षणमा मिर्गौला ठिक भएको रिपोर्ट हुने गथ्र्यो । शुरुमा त उनी  ढुक्क थिए । तर समस्याले अलि च्याप्दै गएपछि थप परीक्षणका लागि त्रि.बि.शिक्षण अस्पताल पुगे । त्यहाँ जाँच गर्दा  उनको दुवै मिर्गौला फेल भइसकेको रिपोर्ट आयो । सम्बन्धित ल्याबलाई बन्द गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य मन्त्रालयमा सिफारिस पठाइयो । तर मन्त्रालयले कारबाही गर्न सक्दैन । उसले जिल्ला प्रशासन कार्यालयलाई कारबाहीका लागि सिफारिस गर्नुपर्छ । तर गुरुङले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।

यो एउटा उदाहरणमात्र हो । मानिसको जीवनसँग खेलवाड हुने यस्ता घटनाहरु अन्य ल्याबहरुबाट पनि भइरहेका होलान् । कुनै व्यक्ति अस्वस्थ भए भएपछि ऊ डाक्टरको भरोसामा अस्पताल जान्छ । डाक्टरको भरोस तीनै ल्याब हुन्, जहाँबाट विरामीको रोग पहिचान भएपछि मात्र उपचारको बिधी शुरु हुन्छ । जब ल्याबबाटै गलत रिपोर्ट पुग्छ भने डाक्टरले गर्ने उपचारको के अर्थ हुन्छ ? यो प्रश्न होइन अब जनस्वास्थ्यको हितमा बहस बन्नुपर्छ ।
जनस्वास्थ्यसँग गाँसिएको प्याथोलोजी सेवा अचेल व्यापारिकरण भइरहेको र झारा टार्ने हिसाबले समेत कतिपय ल्याबहरु चलिरहेको बिभिन्न अनुगमनका क्रममा पनि भेटिएका छन् । प्याथोलोजी सेवालाई ‘इजी मनी’ कमाउने व्यवसाय बनाउने क्रम रोक्न सम्बद्ध पक्षलेनै बढि पहलकदमी लिनुपर्ने देखिन्छ ।
सरकारले कानुन त बनाइदिएको छ तर यसको कार्यन्वयन पक्षमाथि प्रशस्त प्रश्नहरु उठिरहेका छन् । विरामी डाक्टर समक्ष पुगेपछि रोगको पहिचान, निदान, रोकथाम, उपचार, अनुसन्धान र सुझाव सबै प्याथोलोजी रिपोर्टबाट मात्र थाहा हुने भएकाले पनि यसलाई बढि जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने विज्ञहरुको सुझाव आउने गर्छ । सरकारले यिनै सुझावका आधारमा राष्ट्रिय प्रयोगशाला नीति २०६९ पारित गरे पनि कार्यन्वयन पूर्ण रुपमा अझै भएको छैन ।
अहिलेसम्म मुलुकभर दर्तामा आएका १४ सय र दर्ता नभएका ३ हजारभन्दा बढी निजी क्षेत्रका प्याथोलोजी ल्याबहरु भएको अनुमान गरिएको छ । हाल स्वास्थ्य मन्त्रालयअन्तर्गत २९८ वटा सरकारी प्रयोगशाला रहेका छन् । तिनीहरुले कसरी काम गरिरहेका छन् भन्ने प्रभावकारी अनुगमन भएन भने स्वास्थ्य क्षेत्रमा अराजकता बढ्ने र मानव जीवनमाथि खतरा थपिने देखिन्छ ।

प्रयोगशालाको इतिहास र वर्तमान

बि.सं. २०२१ (सन १९६५) सालदेखि नेपालमा प्रयोगशालाको शुरुवात् वीर अस्पतालको प्याथोलोजी विभागबाट भएको थियो । यसलाई वि.सं. २०३४ मा केन्द्रीय स्वास्थ्य प्रयोगशालामा स्तरोन्नति गरी प्रयोगशालाको विकासमा थप टेवा दिएको पाइन्छ । यसैलाई आधार मानी वि.सं. २०५० सालमा छुट्टै निकायको रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरी सोही अनुसार कार्य हुँदै आएको छ ।

विगतमा प्रयोगशाला सम्बन्धी छुट्टै नीति तर्जुमा भएको थिएन । नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्थापना गरी सेवा प्रदान गरेको थियो । यस बारे छुट्टै नीति निर्माण नभएको भए पनि राष्ट्रिय रक्त सञ्चार नीतिमा भएको व्यवस्था अन्तर्गत रही स्वास्थ्य प्रयोगशालाहरु सञ्चालनमा रहेका थिए ।

प्याथोलोजी सेवामा प्रयाप्त अनुसन्धान हुनसकेको छैन । प्याथोलोजी सेवालाई प्रभावकारी बनाउन स्तरीय मेसिनको महत्वपूर्ण भूमका रहन्छ । हाल सरकारीस्तरमा रहेका ४० जना ल्याब टेक्निकल मेनपावरले यसलाई धान्न सक्ने अवस्था छैन । अहिले कन्ट्र्याक्टमा लिएका गरी ६० जना रहेका छन् । जनशक्तिका लागि ओएमएन सर्बे गरेको भएपनि अहिलेसम्म मन्त्रिपरिषदले यसलाई पारित गरेको छैन ।

गाइडलाइनको अभाव
प्याथोलोजी सेवा सन्चालनका सन्दर्भमा स्पष्ट नीति निर्देशन तथा गाइडलाइनको अभाव देखिएको सम्बद्ध क्षेत्रमा कार्यरतहरु बताउछन् । विभिन्न औषधि पसलहरुमा नमूना लिएर अरु प्याथोलोजीमा लगेर टेष्ट गर्ने परिपाटीमाथि पटक पटक प्रश्न उठिसकेको छ । यो नियम हटाउन नसक्ने हो भने प्याथोलोजी सेवा बद्नाम हुन सक्छ । एउटा माइक्रोस्कोपसमेत नभएको ठाउँमा ल्याब परीक्षण गर्ने भनेर बोर्ड झुण्डाउने प्रवृतिको अन्त्य गर्न जरुरी देखिएको छ ।
डाक्टरले उपचार ढिलो ग¥यो वा कहिले कहिँ डाक्टरको प्रेस्क्रिप्सन गलत भयो भने पनि बरु विरामी बाँच्न सक्ला तर ल्याबबाटै गल रिपोर्ट आयो भने जे पनि हुन सक्छ । दुवै मृगौला फेल भइसकेको व्यक्तिलाई एक वर्षसम्म पटक पटक परीक्षण गर्दा पनि ठिक  छ भनेर रिपोर्ट दिने ल्याबले ती व्यक्तिको जीवनमाथि खेलवाड गरेको हो कि होइन ? त्यस्तामाथि कडा कारवाही गर्न सरकार र सम्बद्ध पक्षको सक्रियता आवश्यक छ ।
प्याथोलोजीहरुको गुणस्तरीय र विश्वनियताका लागि सम्बद्ध विषयका विज्ञ र दक्ष जनशक्ति पहिलो शर्त हुन् ।अनुभवहिनलाई प्याथोलोजी जस्तो संवेनदशील ठाउको जिम्मा दिदा विरामीको ज्यान खतरामा पर्न सक्छ । कुनै पनि रोगको पहिचान गर्ने सन्दर्भमा जुनसुकै ल्याबमा टेष्ट गरे पनि रिपोर्टमा एकरुपता हुनुपर्छ । यसमा कहिँ कतै सम्झौता गर्न हुदैन ।

विश्वसनीयतामा प्रश्न
नेपालका कुनै पनि ल्याबमा गरिएको परीक्षणको रिपोर्टको विश्वसनीयता अन्तर्राष्ट्रि मापदण्डसँग मेल खाने भयो भने मात्र हाम्रो राष्ट्रिय जनस्वास्थ्य नीति विश्व मापदण्डको हुनेछ । सरकारले प्रयोगशाला सेवा भएका हरेक स्वास्थ्य संस्थामा गुणस्तर चाँच गर्ने निकायको व्यवस्था गर्नुपर्ने सुझाव विज्ञहरुले दिइरहेका छन् । सरकारले अनुगमन, नियमन र गुणस्तर जाँचमा कडाइ गर्ने हो भने गल्लि गल्लिमा खुलेका प्याथोलोजी ल्याबहरु कि त नियम अनुसार गर्न बाध्य हून्छन् कि बन्द हुन्छन् ।
अहिले नेपालमा गल्लि गल्लिमा प्याथोलोजी ल्याव खुलिरहेका छन् । तर यिनीहरुले दिने सेवाको गुणस्तर र विश्वसनीयतामाथि पर्याप्त बहस भएको छैन । पर्याप्त अनुगमन पनि भएको छैन । यसको मारमा पर्छन् सर्वसाधारण । सेवा दिने भन्दा पनि झारा टारेर पैसा असुल्ने काम त भइरहेको छैन ? यसतर्फ सम्बद्ध निकायहरुको ध्यान पुग्नैपर्छ । किनकी प्याथालोजी सेवानै रोगन पहिचान र निदानको पहिलो माध्यम हो । यहिँबाट गडबडी भयो भने मान्छेजीका जीवनमै गडबडी हुन्छ ।
प्याथोलोजी सेवामा गुणस्तरीय उपकरणको महत्वपूर्ण भूमिका रहन्छ । यसलाई चलाउन सक्ने दक्ष प्राविधिक अर्को महत्वपूर्ण भाग हो । प्याथोलोजी सेवा दिँदा उपकरणले ठीक काम गरे नगरेको निगरानी राख्नुपर्छ । अन्यथा परीक्षण रिपोर्ट ठीक नआउन सक्छ । यसबाट ल्याव सेवा लिन व्यक्तिले गरेको लगानी बालुवामा पानी हालेजस्तै हुन सक्छ । यति मात्र होइन आवश्यक उपचारको अभावमा व्यक्तिको ज्यान जानसक्ने खतरासमेत रहन्छ । त्यसैले प्रयोगशाला सम्बन्धी राष्ट्रिय नीति बिना सम्झौता लागु गर्न सरकार निर्मम बन्नैपर्छ र सम्बद्ध पक्षले सरकारलाई सघाउनुपर्छ । यसैबीच ल्याबमा इमान्दारिता र लगनशीलताको खाँचो औंल्याउनुहुन्छ  सिद्धि प्याथ ल्याबका वरिष्ठ प्याथोलोजिष्ट डा. इश्वरलाल श्रेष्ठ । उहाँका अनुसार,रोग पहिचानका लागि भरपर्दो ल्याव रिपोर्ट हुनुपर्छ । यसैको आधारमा बिरामीको ठीक उपचार सम्भव छ । अन्यथा बिरामीको आवश्यक उपचार हुन सक्दैन । गुणस्तरीय प्याथोलोजी सेवाका लागि लगनशीलता र इमान्दारिताको आवश्यकता पर्छ । कम्पनिले तोकिदिएको मापदण्डको आधारमा रिपोर्ट आए नआएको दिनप्रतिदिन अवलोकन र अनुगमन गरिरहनुपर्छ । आन्तरिक र बाह्य रिपोर्टमा अन्तर आउन हुँदैन । यसरी विभिन्न ठाउँमा परीक्षण गरिएको नमूनाको रिपोर्टमा एकरुपता देखिएपछि मात्र त्यो रिपोर्ट भरपर्दो हुन्छ । संकलन गरिएको नमूनाको भरपर्दो रिपोर्टका लागि स्तरीय मेशिन, टेष्टका लागि राखिने स्तरीय रि–रिएजेन्ट, औषधि र दक्ष प्राविधिकको आवश्यकता हुन्छ । रिपोर्टमा प्रिन्टिङ मिस्टेक हुनुहुँदैन । यस्ता कुरामा निकै धेरै ख्याल गर्नुपर्छ ।

वरिष्ठ जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षित अनुसन्धान पछिको उपचार प्रभावकारी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “हचुवाको भरमा औषधि दिनुहुँदैन । अनुसन्धान गरेर मात्र उपचार गर्नुपर्छ । । अनुसन्धान नहुँदा अज्ञात रोग भनेर धेरैको ज्यान जानसक्छ ।”

प्रतिक्रिया दिनुहोस्