Logo
|
Friday 29th March 2024
Logo

epaper

क्यान्सर बिरामीको मर्म बुझौं



Dr sudeep
डा. सुदिप श्रेष्ठ वरिष्ठ मेडिकल अंकोलोजिष्ट÷अध्यक्ष नेपाल क्यान्सर अस्पताल

नेपालमा कुन कुन क्यान्सर धेरै देखिने गरेको छ ?
अहिले मुलुकमा मुख्य फोक्सोको क्यान्सरको समस्या धेरै देखिएको छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर दोस्रो स्थानमा रहेका छन् । यसबाहेक पेट (आमाशय) को क्यान्सर, मुख र नाक, कान घाँटीको क्यान्सर, छाला, रगत, हड्डी, आँखा, ठूलो आन्द्रा, मलद्धार, अण्डकोष आदिका बिरामी उपचारका लागि अस्पताल आउने गरेको पाइन्छ ।

नेपालमा क्यान्सर बढ्नुको कारण के हो ?
बढ्दो शहरीकरण, अस्वस्थकर जीवनशैली, प्रदूषण, कृत्रिम वस्तु र रसायनको अत्यधिक प्रयोग, अस्वस्थकर खानपिन आदिका कारण क्यान्सर रोगीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । प्राकृतिक तथा कृत्रिम दुवै तरिकाबाट रेडियोविकिरणको प्रयोग, भाइरल इन्फेक्सन आदिले पनि क्यान्सर गराउन सक्छ । विगतको तुलनामा क्यान्सर डायग्नोसिसको सुविधाले पनि क्यान्सरका बिरामी बढेको हुनसक्छ । कतिपयले क्यान्सरको वंशाणुगत समस्या लिएर आएका पनि हुन्छन् ।
क्यान्सर उपचार र रोकथामका लागि राज्यले उठाउनुपर्ने पहल कदमी के हुनसक्छ ?
अधिकाँश बिरामीहरु क्यान्सर अन्तिम अवस्थामा पुगिसकेपछि मात्र उपचारका आउने गरेका छन् । त्यसैले सरकारले क्यान्सर उपचार र रोकथामका लागि “राष्ट्रिय क्यान्सर नीति” ल्याउन जरुरी ठान्दछु । यसले समयमा क्यान्सर पहिचान, उपचार र रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसका साथै क्यान्सर रोकथाम र पहिचानका लागि जिल्ला जिल्लामा सुविधा हुनुपर्छ । स्थानीय तहमा उपचार संभव नभएका बिरामीको उपचारका लागि केन्द्रियस्तरमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न क्यान्सर अस्पताल हुन आवश्यक छ ।

अहिले सरकारले क्यान्सर उपचारका लागि एक लाख रुपियाँ सहुलियत दिइरहेको छ । क्यान्सर उपचारमा यसलाई कसरी प्रभावकारी बनाउन सकिएला ?
विश्व स्वास्थ्य संगठनले क्यान्सरका बिरामीहरुका लागि छुट्टै इसेन्सियल औषधिको गाइडलाइन बनाएको छ । यो गाइडलाइनको आधारमा शुवाती अवस्थाका क्यान्सरका बिरामीहरुको उपचार भएमा निकै प्रभावकारी हुनसक्छ । सहुलियत दिएको एक लाख रुपियाँको परिधिभित्र रहेर राज्यले इसेन्सियल औषधिलाई अबलम्बन गरेमा शुरुको अवस्थामा पहिचान भएका धेरै क्यान्सर बिरामीको ज्यान जोगिनसक्छ । राज्यले एक लाख रुपियाँमा क्यान्सर उपचार हुने पूर्ण प्याकेज ल्याउनुपर्छ ।

यहाँले लामो समयदेखि क्यान्सर उपचारमा संंलग्न रहँदै धेरै बिरामीहरुको दुःख र पीडा बुझिसक्नुभएको छ ? क्यान्सर उपचार र रोकथामका लागि कस्तो अवस्था बन्नुपर्ला ?
क्यान्सर नीति बन्न पोलिसी मेकरको कमेन्टमेन्ट आवश्यक देखिन्छ । यसमा एक्सपर्टिजहरु सिरिएस भएर लाग्नुपर्छ । यसका लागि सम्बन्धित क्षेत्रमा काम गरिरहेका चिकित्सकहरुको पनि राय लिनुपर्छ । हुनेखानेहरु विदेशमा गएर क्यान्सरको उपचार गराइरहेका छन् । गरिब र विपन्नहरु पीडा खपेर काल पर्खिरहेका छन् । त्यसैले नेपालमा अत्याधुनिक क्यान्सर उपचार सेवा दिने वातावरण राज्यले बनाइदिनुपर्छ । त्यो दर्द र पीडामा छटपटाइरहेको क्यान्सर बिरामीको मर्म बुझिदिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्