Logo
|
Thursday 21st October 2021
E-paper Magazine

दाम्पत्य : डा. पुकार र नविना



डा. पुकारचन्द्र श्रेष्ठ नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत भक्तपुरको सल्लाघारी स्थित  मानव अङ्ग प्रत्यारोपण केन्द्रमा ट्रान्सप्लान्ट सर्जन हुनुहुन्छ । उहाँ यस केन्द्रको कार्यकारी निर्देशक हुनुहुन्छ । डा. पुकारले नेपालमा ३ सय भन्दा बढी व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिसक्नुभएको छ । यसअघि उहाँले बेलायतमा ६ वर्ष काम गर्दा करिब ७ सय व्यीक्तको मिर्गौला, कलेजो तथा प्याँक्रियाज जस्ता अङ्ग निकाल्ने र प्रत्यारोपण गर्नुभएको थियो । मिर्गौला प्रत्यारोपणमा मुलुकलाई आत्मनिर्भर बनाउने अभियानका साथ काम गरिरहनुभएको छ उहाँले । बेलायतमा मिर्गाैला प्रत्यारोपणसम्बन्धि तालिम सम्पन्न गरेपश्चात् बेलायत सरकारले त्यहाँको कन्सल्टेन्ट सर्जन भएर जागिर खान गरेको अनुरोध नमानी नेपाली जनताको सेवा गर्ने उद्देश्य बोकेर नेपाल फिर्नुभएको थियो डा. पुकार । डा. पुकारकी धर्मपत्नी नविना श्रेष्ठ संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी) नेपालकी कार्यक्रम विश्लेषक (प्रोग्राम एनालाईसिस्ट) हुनुहुन्छ । उहाँ समाजसेवी तथा महिला शसक्तिकरणका अभियन्ता पनि हुनुहुन्छ । उहाँहरुको परिवारमा प्रकृती र प्रतिष्ठा नामका दुई छोरी छन् । उहाँहरुको सानो परिवार छ अनि सुखी र खुशी छ । यस अंकमा एउटा ट्रान्सप्लान्ट सर्जन र समाजसेवी बीच बिवाहको साइत कसरी जु¥यो ? र उहाँहरुको दाम्पत्य जीवन कस्तो छ ? भन्ने बारे हाम्रा जनस्वास्थ्य सरोकारका पाठकको जिज्ञासा मेटाउने प्रयास गरेका छौं ।
जीवनका हरेक मोडमा साथ दिने साहसी र क्षमतावान जीवन सङ्गीनीको खोजी गर्दै जाँदा आफ्नो जन्मस्थान बाग्लुङबाट स्कूले जीवन पूरा गरेका डा. पुकारले भेट्नुभयो काठमाडौंको नेवार परिवारकी नविनालाई । समाजका लागि केही गर्ने जोश, जाँगर र स्वाभिमान बोकेकी नबिनाको कार्यकुशलता देखेर डा. पुकार आकर्षित हुनुभयो । त्यो बेला नविना एमबीए गर्दै हुनुहुन्थ्यो । उहाँ धन सम्पत्ति भन्दा पनि इमान्दारी, व्यवसायिक र नारी प्रति सकारात्मक दृष्टिकोण राख्ने वरको खोजीमा हुनुहुन्थ्यो । उहाँले यस्तो गुण भएको व्यक्ति डा. पुकारमा देख्नुभयो र दुवै परिवारको सहमतिमा बिवाहको साइत जु¥यो । त्यतिखेर नेवारी सम्प्रदायमा छोरीलाई चाँडै विवाह गरिदिने प्रचलन थियो । तर नविनाको मामा र आमा छोरीलाई चाहे अनुसार पढाएपछि मात्र विवाह गर्नुपर्छ भन्ने सिद्धान्तमा अडिग हुनुहुन्थ्यो । उहाँहरु महात्मा गान्धीको महिला शसतिmकरणको अनुयाई पनि हो । त्यसैले नबिनालाई स्नातक अध्ययनका लागि भारतको चण्डिगढ पठाइयो ।

लगनको साइत
सन् १९९० तिर बङ्गलादेशबाट भर्खर एम.बी.बी.एस. सकेर पुकार नेपालमा ईन्टर्नसिप गर्दै हुनुहुन्थ्यो । नबिना थायल्याण्डको बैंककमा एम.बी.ए. अध्ययन सकाउँदै हुनुहुन्थ्यो । दुवैजनामा जवानीको पाउला मौलाउँदै थियो । दुवैको परिवारमा विवाह गरिदिने प्रसङ्गले चर्चा पाइरहेको थियो । पुकार चिकित्साशास्त्र भन्दा अरु नै विषय पढेको सक्षम, साहसी वधुको खोजीमा हुनुहुन्थ्यो । यत्तिकैमा नविनाको भाउजुसँग पुकारको दिदीले विवाहको प्रस्ताव राख्नुभयो । पुकार र नविनाबीच दाम्पत्य जीवन गाँसिदिने दुवै परिवारबीच सहमती भयो । डा. पुकार र नबिना पनि एकअर्काको विचारप्रति आकर्षित हुनुभयो र २०४८ साल वैशाख २४ गते बिवाहको लगनको साइत जु¥यो । राम्रो परिवारकी एक्ली छोरीको विवाहमा केटा पक्षबाट साधारण तरिकाले साईपाटा ल्याएको देखेर छिमेकी आफन्तले कुरासमेत काटेका थिए ।

रोजाई
नबिनाका लागि धनाढ्य पैसावाल परिवारबाट वैवाहिकसम्बन्धका लागि प्रस्ताव नआएका पनि होइनन् । तर सुखी पारिवारिक जीवनका लागि पैसाले कुनै मतलव नराख्ने नविनाको सोच थियो । विवाहपछि पढ्न र काम गर्न पाइने आभाश पाएपछि नविना पुकारप्रति आकर्षित हुनुभयो । नविनाले चाहेको जस्तो भलाद्मी, इमान्दार, दक्ष, कुलतमा नलागेको र राम्रो स्वभाव भएको व्यक्ति पुकारलाई देख्नुभयो र आफ्नो लागि योग्य वर पुकारलाई रोज्नुभयो । नविनालाई डा. पुकारको भौतिक सम्पतिले भन्दा पनि वौद्धिक सम्पत्तीले आकर्षित गरेको थियो । आर्थिक सम्पन्नताले मात्र परिवार खुशी र सुखी नहुने भएकाले उहाँको रोजाई इमान्दार र व्यवसायमा कटिवद्ध हुने व्यक्तिमा थियो । प्रायः समाजमा डाक्टर पढेकाले डाक्टर नै विवाह गर्ने भन्ने सोच छ । तर पुकारले डाक्टर रोज्नुभएन किनकी उहाँलाई दुवै जना डाक्टर भएमा व्यवसायिक व्यस्तताले परिवार चलाउन गाह«ो हुने र जीवन निरस हुने थाहा थियो । त्यसैले घर भित्रको पारिवारिक परिवेशलाई मिलाउँदै अघि बढ्ने सक्षम नारी नबिनालाई देख्नुभयो र उहाँलाई रोज्नुभयो । डा. पुकार भन्नुहुन्छ—‘हाम्रो समाजमा हुने लैंगिक असमानताप्रति मेरो विमति छ ।’

सादा जिवन उच्च विचार
डा. पुकारले मिर्गौला प्रत्यारोपणको क्षेत्रमा वेलायतको सरकारी जागिरको प्रस्ताव अस्विकार गरेर आम नेपालीको सेवामा दत्तचित्त भएर काम गर्ने सोच राख्नुभयो । नबिना भन्नुहुन्छ—‘यस्तो श्रीमान पाएकोमा म आफूलाई संसारकै भाग्यशाली नारी ठान्छु ।’ नेपालमा बसेर सेवा गर्ने रुची हुँदाहुँदै पनि परिवारको दवावका कारण कतिपय व्यक्तिलाई विदेशतिर बस्नुपर्ने बाद्यता हुन्छ । तर नविनाले डा.पुकारलाई नेपालमा फर्केर सेवा गर्ने साथ दिनुभयो । नबिनाको भनाइ छ—‘सफल चिकित्सककी जीवन सँगीनी हुन पाएकोमा निकै खुशी छु ।’
‘पहिला भेट हुँदा त उहाँ डाक्टर पनि भइसक्नुभएको थिएन । इन्टर्नसिप गर्दैहुन्थ्यो । म पनि स्नातकोत्तर गर्दै थिएँ । त्यस्तो साधारण, भलाद्मी व्यक्ति सफल चिकित्सक भएकोमा दङ्ग छु ।’—आफ्नो विगतको अनुभव सुनाउँदै नविना भन्नुहुन्छ—‘विवाह भएपछि डा. पुकार आफ्नो लक्ष्य प्राप्तिका लागि एकनास अध्ययन गरिरहनुहुन्थ्यो । शुरुमा वुटवल बस्दा राम्रो आम्दानी थियो । तर पुकारले अध्ययनलाई निरन्तरता दिन बेलायत जानुभयो । डा.पुकार भन्नुहुन्छ—‘पैसालाई भन्दा पढाईलाई महत्व दिने श्रीमतीको साथ र सहयोगप्रति म निकै खुशी छु ।’ ब्रान्डेड कपडा लगाएर होइन साधारण पहिरनमा रहेर उच्च काम गर्नुपर्ने सिद्धान्तबाट नबिना प्रभावित हुनुहुन्छ । डा.पुकार मिलनसार र नम्र स्वभावको हुनुहुन्छ । सकेसम्म अरुलाई सहयोग गर्न खोज्नुहुन्छ ।

सुख दुःखको सहारा
श्रीमान श्रीमती ‘एक रथका दुई पांग्रा’ हुन् । करियर निर्माणमा एकअर्काको साथ र सहयोग चाहिन्छ । डा. पुकारले नविनाबाट थप अध्ययन र बिरामीको सेवामा धेरै साथ र सहयोग पाउनुभएको छ । दुवै जनाको एउटै सहमत छ—‘एकअर्काको साथ नभए कुनै पनि जोडीले आफ्नो करियर बनाउन सक्दैनन्’ । उहाँहरुबीच आपसी समझदारी छ । सुख दुखमा साथ र सहयोग हुने गर्छ । पुकारको सफलतामा आफू मात्र नभएर पुकारको बुबाआमा, दाजुहरु प्रा.राममनोहर श्रेष्ठ र पूर्व प्रधानन्यायधीस कल्याण श्रेष्ठको पनि साथ रहेको नबिनाको भनाइ छ । श्रीमानको आम्दानीमा मात्र भर नपरी आफ्नो जागिरको आम्दानीले छोरीहरुको अध्ययन र भरणपोषणम हुने गरेकाले डा.पुकारलाई सहज भएको नबिना बताउनुहुन्छ । नबिना भन्नुहुन्छ—‘ दाम्पत्य जीवन भनेकै दुःख सुखको सहारा हो । दाम्पत्य जीवनलाई राम्रो बनाउन सके हरेक क्षेत्रमा सफलता मिल्नसक्छ ।’ श्रीमतीका कारण जोश जाँगरका साथ काम गर्ने हैसियत पाएको भन्दै डा. पुकार आफुलाई भाग्यशाली ठान्नुहुन्छ । ‘मेडिकल साइन्स अध्ययन गरेर उपचार गर्नेबाहेक मेरो अरु सोच थिएन । समाजमा उत्रेर केहि गर्नुपर्छ भन्ने श्रीमतीको सोचका कारण हौसला बढेको हो’—डा. पुकार बताउनुहुन्छ ।

गुण र दोष
समयको ख्याल नगर्ने डा. पुकारको बानी नबिनालाई अलि मन पर्दैन । ‘फोन सम्पर्कमा रहनुहुन्न । आफैंले फोन सम्पर्क गर्नुपर्छ । घर आउन दिएको समयभन्दा ४—५ घण्टा ढिलो आइपुग्नुहुन्छ । यसले अलि खिन्न लाग्छ ।’—नबिना भन्नुहुन्छ—‘उहाँ घरका लागि कम समय दिनुहुन्छ ।’ श्रीमानको हरेक क्रियाकलापमा साथ र समर्थन रहेको जनाउँदै नबिना भन्नुहुन्छ—‘मिर्गौला प्रत्यारोपण हुने दिन म पनि बिरामीको सफललाको कामना गर्छु ।’
नबिनामा हिम्मत, आँट र सक्षमता भएको पुकारको भनाइ छ । पुकार भन्नुहुन्छ—‘नबिनाले दिएको हौसला र आँटले आफ्नो काममा धेरै सफलता मिलेको छ ।’ तर कामको व्यस्तताका बाबजुत् पनि नबिनालाई कारण खुलाई स्पष्टीकरण दिनुपर्ने बताउनुहुन्छ । नबिना अलि खरो स्वभावकी भएको डा. पुकारको भनाइ छ । ‘बेलायतको प्रतिष्ठित छात्रबृत्ति ‘चेभनिङ्ग’ र अमेरिकाको ‘प्यूवर्ट हम्फ्री’ फेलोसिप गरेकी नबिनाको व्यवसायिक जीवन धेरै माथि पुग्ने खालको भएपनि मेरो सफलताको लागि नबिनाले आफ्नो करियरलाई सम्झौता गरिन्’— डा. पुकार नबिनाप्रति ऋणी भएको महसुस गर्नुहुन्छ ।

बलियो सम्बन्ध
सम्बन्धमा आपसी समझदारीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसैमा एकअर्काप्रतिको विश्वास अडेको हुन्छ । ‘यो हामीमा छ । त्यसैले हाम्रो दाम्पत्य सम्बन्ध बलियो छ ।’—नबिना भन्नुहुन्छ—‘तर अहिलेका दम्पत्तिहरुमा आपसी समझदारीको कमी देखेको छु । त्यसैले त धेरै सम्बन्ध विच्छेद भइरहेका छन् । त्यसैले आधुनिक जोडीमा सकारात्मक सोचको निकै खाँचो छ । ’
नमुना केन्द्र बनाउने सोच
डा. पुकारले चिकित्सकीय पेशामा बढी समय खर्चिनुहुन्छ । तर घरलाई थोरै समय दिनुहुन्छ । दिनभरको कामबाट थाकेर आएपछि डा. पुकार परिवारसँग रमेर बस्न रुचाउनुहुन्छ । बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कार्यालयमा नै पुकारको समय बित्छ । मानव अंग प्रत्यारोपण केन्द्रलाई अन्तराष्ट्रियस्तरको नमुना केन्द्र बनाउनुपर्ने उहाँको सोच छ । डा. पुकारको सक्रियतामा भर्खरै संसारकै नमुनाको रुपमा नेपालमा प्रत्यारोपण ऐन पारित भएको छ । अहिले जोसुकै नाता पर्नेले पनि अंगदान गर्नसक्छन् । नेपालमा व्यक्तिको मस्तिष्कको मृत्यूपछि अंगदान सम्भव भएको छ । यस अभियानमा डा. पुकारले अनिछोइङ्ग डोल्मा, मह जोडी लगायतका व्यक्तिहरुसँग मिलेर गै¥ह« नाफामुलक सामाजिक संस्था आरोग्य प्रतिष्ठान स्थापना गर्नुभयो । यसले गर्दा अङ्गदान र अङ्ग प्रत्यारोपणका लागि अत्याधुनिक एच.एल. ल्याब जस्तो भौतिक पूर्वाधारको स्थापनाका साथै देशव्यापी जनचेतना अभियान सम्भव भएको छ ।

सफलताको देन
जीवन अगाडी बढाउन आपसी समझदारी जरुरी हुन्छ । विवाहअघि उहाँहरुबीच सक्दो पढाइ र काम गर्ने समझदारी भएको थियो । यही समझदारीका कारण दुवैले सफलताको चुचुरो चुमीरहनुभएको छ । समय मिलाएर सँगै घुम्न जाने, विवाह, भोज पार्टीमा सँगै जाने गर्नुहुन्छ । डा. पुकार श्रीमतीको हरेक क्रियाकलाप र समझदारीपनको प्रशंसा गर्नुहुन्छ । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको केन्द्रिय कार्यालयको प्रतिष्ठित जागिर जागिर छोडेर आफूसँग नेपाल आएको बताउँदै डा. पुरकार सक्षम श्रीमतीले आफ्ना लागि गरेको त्याग खेर जान नदिने बताउनुहुन्छ । बेलायतमा श्रीमतीले काम गरेर आफूलाई पढ्न मद्दत गरेकाले अहिले यो स्थानसम्म आइपुग्न सफल भएको डा. पुकारको भनाइ छ ।

सफल दाम्पत्यको उपलब्धी
हरेक दम्पत्तिबीच आत्मियता हुनुपर्छ । एक अर्कामा आपसी सहयोग र समझदारी हुनुपर्छ । एक अर्कामा समर्पितको भावना हुनुपर्छ । सुख दुःखमा आत्तिन हुँदैन । यसले दाम्पत्य जीवन सफल हुने उहाँहरुको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्