Logo
|
Thursday 28th March 2024
Logo

epaper

उपचार अभावमा १९ वर्षीया सुत्केरीको निधन



बागलुङ जिल्लाको गल्कोट नगरपालिका ८ काँडेबास झारमौरामा एक सुत्केरी महिलाको मृत्यु भएको छ। घरमै सुत्केरी भएकी १९ बर्षिया मुना छन्त्याल दर्लामीको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको आफन्तले बताएका छन्। दर्लामीको मृत्युपछि काँडेबास शोकमग्न बनेको छ।
शनिबार साँझ देखी व्यथा लागे पनि बिहान दुई बजे मात्र छन्त्याल सुत्केरी हुनुभएको थियो। सुत्केरी भए पश्चात पनि तत्काल बुहारीको स्वास्थ्यमा ठुलो समस्या देखिएको थिएन, मृतक छन्त्यालका ससुरा भीमबहादुर दर्लामीले भन्नुभयो, ‘सुत्केरी भएपछि सालनाल पनि राम्रै सँगै गएको थियो, खाना पनि खाएको थिइन्। तर, पछाडी बिहान ३ बजे तिर मुटु दुख्यो भनेर एक्कासी भूइँमा लडेपछि समस्या बढेको थियो।’
घर नजिकै रहेको स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो। चौकीमा रहेका स्वास्थ्यकर्मीले रक्तश्राव रोक्ने औषधि दिएर ठिक हुने बताए पनि रक्तश्राव रोकिएन। रक्तश्राव नरोकिएपछि दुई घण्टापछि मात्र गलकोटको अस्पताल पुर्‍याइएको थियो।                       सुत्केरीपछि अल्पायुमै निधन भएका १९ वर्षीया मुना दर्लामी। फाइल तस्बिर

अस्पताल पुर्‍याउदा साथ छन्त्यालको निधन भएको डाक्टरले बताए पछि परिवारका सदस्य र आफन्त स्तब्ध बनेका थिए।छन्त्यालको गर्भबाट जन्मिएका शिशु ९छोरा० भने सकुशल छन्। उनको तौल साढे तीन केजीको छ। ‘स्वास्थ्य चौकीमा औषधि खुवाएपछि ठिक हुन्छ भनेर भन्नुभयो, हामीले प्रतिक्षा गर्‍यौ, तर रक्तश्राव रोकिएन,’ छन्त्यालका आफन्त रामबहादुर सारुले भन्नुभयो, ‘रक्तश्राव निरन्तर भएर स्वास्थ्य अवस्था थप गम्भीर बने पछि अस्पताल लैजाने निधोमा त पुग्यौ, स्वास्थ्य चौकीबाट अस्पताल लैजाने निर्णय गर्दा ढिलाई भइसकेको रहेछ, अन्ततः बहिनीको ज्यानै गुमाउन पुग्यौँ।’

सुत्केरी भएर केही घण्टा पश्चात दुखाई बढ्दै गए पछि मुनाले जन्मिएको छोरालाई राम्रो सम्म हुर्काउनु, हेरचाह गर्नु पनि भनेको सारुले बताउनुभयो। ‘हुन त बहिनीलाई मुटुको पहिला पनि केही समस्या थियो, ब्लडको कमी थियो,’ उहाँले भन्नुभयो, ‘तर गाउँघरमा अझै पनि गर्भवती, प्रसुतिको संवेदनशीलता बुझ्ने बुझाउने अवस्था कमजोर देखियो, ज्यानै जाने यस्ता घटनाबाट अब स्थानीय र सम्बद्ध कार्यालय, सघं संस्था पनि गम्भीर बन्नुपर्छ।’
जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले भने मृत्युको घटनामा रक्तश्राव मात्र कारण नरहेको बताएको छ। कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले काँडेबासमा भएको घटना यो बर्षकै पहिलोब घटना भएको उल्लेख गर्दै महिलाको मृत्यु हुनुमा रक्तश्राव मात्र कारण नभएको बताउनुभयो।
‘रक्तश्रावकै कारण भन्ने अवस्था रहेन, किन भने सुत्केरी भएपछि धेरै रगत बगेको पनि पाइएन, तिवारीले भन्नुभयो,’ प्रसुति हुने महिलालाई मुटुको समस्या रहेछ, यस्तो अवस्थामा सम्बन्धित व्यक्ति र परिवारले पूर्व सजगता अपनाउन जरुरी हुन्छ, प्रर्याप्त सजगता र जनचेतनाको अभावले भएको ज्यानै गुमाउने घटनाले हामीलाई पनि दुखित तुल्याएको छ। ‘मुटुको समस्या हुनेले गर्भवती हुने कि नहुने विषयमा चिकित्सक सँग परामर्श गरेर मात्र गर्नुपर्छ, भई हाले सुविधा सम्पन्न प्रसुती गृहसहितको अस्पतालमा सुत्केरी हुने व्यवस्था गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘यदि गर्भवती भएको अवस्थामा पनि आफ्नो समस्याबारे श्रीमान, परिवारसँग समस्या शेयर गरेर नियमित गर्भवती जाँच गर्नुपर्छ।’- अन्नपूर्णपोस्टबाट

प्रतिक्रिया दिनुहोस्