Logo
|
Tuesday 26th November 2024
Logo

epaper

बाढी प्रभावित क्षेत्रमा शौचालय



बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिनका लागि सबल नेपाल नामक गैरसरकारी संस्थाले अस्थायी शौचालय निर्माण शुरु गरेको छ । सो संस्थाले बाढीबाट अति प्रभावित डलवा, मैनाकडेरी, रम्पुरा मल्हनिया, त्रिकौल, मधवापुर, सकरपुरालगायत क्षेत्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै अस्थायी शौचालय निर्माण थालेको सबल नेपालका फोकल पर्सन परमेश्वर झाले जानकारी दिनुभयो ।

जिल्ला खानेपानी सरसफाइ डिभिजन कार्यालय सप्तरी, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल (क्रियशन), युनिसेफ तथा आइडिईको सहयोगमा सबल नेपालले करिब ३० अस्थायी शौचालय निर्माण गर्दैछ ।

खासगरी बाढीबाट प्रभावित र विस्थापित भई विभिन्न स्थानमा पाल टाँगेर बसेका ठाउँमा सो शौचालय निर्माण गर्न लागिएको हो । पछिल्लो पटक बिहीबार र शुक्रबार गरी सप्तरीको दक्षिणी भेगका रम्पुरा मल्हनिया, सकरपुरा, डलुवालगायतका बाढीपीडित अहिले हनुमाननगर कंकालनी नगरपालिका–१४ स्थित कोशी नदीको बाँधमा पाल टाँगेर बसेका छन् ।

बाढी प्रभावित क्षेत्रमा सरसफाइका सामग्री, पानी शुद्धीकरणका चक्की, बाल्टिनलगायत सामग्रीसमेत सो संस्थाले वितरण गरेको छ । साथै खानेपानी कार्यालयका तर्फबाट पर्याप्त मात्रामा पानी शुद्धीकरण गर्ने औषधिसमेत वितरण गरिएको छ । जिल्लामा सरसफाइमा काम गर्ने निकाय युएनह्याबिट्याट, युनिसेफ, सेभ द चिल्ड्रेन, इनफोलगायतले प्रभावित क्षेत्रमा पानी शुद्धीकरण तथा साबुन पानीले सही तरिकाबाट हात धुनेबारे स्वास्थ्य शिक्षा प्रदान गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्