Logo
|
Saturday 18th May 2024
Logo

epaper

स्क्रब टाइफसबाट गयो ज्यान, १ सय ३३ संक्रमित



चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले बुधबार जानकारी दिए अनुसार नवलपरासी घर भई चितवनको भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचारका क्रममा २१ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको हो ।

उक्त अस्पतालबाट प्राप्त प्रतिवेदनबारे जानकारी दिँदै कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन ९ गते उपचारका लागि अस्पताल ल्याइएकी उनको भदौ १० गते मृत्यु भएको जानकारी गराउनुभयो ।

योसँगै जिल्लामा साउन यता स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुवै मृतक नवलपरासी घर भई चितवनमा उपचार गरिएका महिला हुन् ।

यसअघि नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको साउन २२ गते उपचार कै क्रममा नारायणी सामुदायिक अस्पतालमा मृत्यु भएको थियो ।

जिल्लामा चालु आवमा ४९७ जनाको परीक्षणमा १३३ जनामा स्क्रब टाइफस रोग पाइएको जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ ।

भरतपुर अस्पतालमा ४०, बकुलहर रत्ननगर अस्पतालमा चार, चितवन मेडिकल कलेजमा ३१, नारायणी सामुदायिक अस्पतालमा ४२, मनकामना अस्पतालमा दुई, सेन्ट्रल अस्पतालमा एक तथा निजी ल्याबमा १३ जनामा टाइफस रोग देखिएको कार्यालयले जनाएको छ । तीमध्ये दुईजनाको मृत्यु भएको छ ।

माइट नामको एक प्रकारको सुक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ ।

यसरी ज्वरो आउने बित्तिकै चिकित्सकको निगरानीमा औषधि लिन चिकित्सकले आग्रह गरेका छन् । जिल्लामा परीक्षणका लागि सरकारबाट कीटसमेत आइसकेको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्