Logo
|
Saturday 20th April 2024
Logo

epaper

शव व्यवस्थापनमा लापरबाहीः मोदीवेणी दुर्गन्धित



 शवको उचित व्यवस्थापन हुन नसक्दा यहाँका एक प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल दुर्गन्धित बनेको छ ।

पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको कालीगण्डकी र मोदीखोलाको संगमस्थल प्रसिद्ध मोदीवेणी घाटमा शव नजलाइकन ढुंगाले पुरेर छाड्ने प्रचलनले दुर्गन्ध फैलन थालेको हो ।

पर्वत, बागलुङ र स्याङ्जाका बासिन्दाको अन्तिम दाहसंस्कार गर्ने उक्त स्थानमा केही समुदायका व्यक्तिले शव नजलाइकन ढुंगाको थुप्रोले छोपेर हिँड्ने प्रचलन रहेको छ ।

दैनिकजसो दुईदेखि पाँचवटासम्म शव अन्तिम दाहसंस्कारका लागि मोदीवेणीमा ल्याउने गरिन्छ । त्यहाँ ल्याइएका शव कतिपयले नजलाइकन ढुंगाले छोपेर छाड्ने गरेका कारण सो स्थानमा दुर्गन्ध फैलिएको हो ।

विशेष गरी दशनामी समुदायका व्यक्तिको शव आगोले नजलाई ढुंगाले पुरेर छाड्ने गरेको पाइएको छ । त्यस्तै आर्थिक अभाव र जनशक्ति नभएकाहरुले पनि बेवारिसे अवस्थामा घाटसम्म लगेर त्यत्तिकै छाडिदिने गरेका छन् ।

पवित्र कालीगण्डकीको किनारमा शवको अधिकांश भाग देखिनेगरी ढुंगाले छोप्ने र विस्तारै कुहिँदै जाँदा दुर्गन्ध आउने गरेको दाहसंस्कारमा जाने मलामीको भनाइ छ ।

ब्राह्मण, क्षेत्री, दलित तथा जनजाति समुदायले शव जलाउने गरेको भए पनि दशनामी समुदायका शव भने त्यत्तिकै पुरेर छाड्ने गरिएको छ । राम्रोसँग नपुर्दा र वर्षायाममा आएको बाढीले छोपिएको शवलाई समेत बाहिर निकाल्दा दाहसंस्कारका लागि जानेहरुलाई दुर्गन्धका कारण समस्या पर्ने गरेको ठूलीपोखरीका ढाकाराम सापकोटाले गुनासो गर्नुभयो ।

नजलाउने प्रचलन भए पनि राम्रोसँग खाडल खनेर गाड्नुपर्छ अन्यथा यसबाट फैलिएको दुर्गन्धले विभिन्न रोग फैलन सक्छ उहाँले भन्नुभयो ।

त्यस्तै स्थानीय वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धाले नजलाइएका शव विस्तारै कुहिँदै जाँदा दुर्गन्ध फैलने गरेको बताएका छन् । आफूहरुले पटक पटक शवको उचित व्यवस्थापन गर्न आग्रह गरेको भए पनि कतिपयले अटेर गरेको एक वृद्धाले बताउनुभयो । टाढाटाढा त यो गन्ध पुग्दैन तर हामी घाट नजिकै बस्नेका लागि निकै समस्या भएको छ उहाँले भन्नुभयो यसका लागि सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्छ ।

यसबारे मोदीवेणी धाम संरक्षण समितिसमेत मौन बसेको छ । शवलाई व्यवस्थित तरिकाले खाडल खनेर पुर्न वा जलाउन आग्रह गरे पनि कतिपय समुदायले अटेर गरेको समितिको भनाइ छ । दैनिकजसो ल्याउने शवलाई जलाउने र नजलाउने छुट्याएर व्यवस्थित रुपले खाल्टोमा पुर्नका लागि पहल गरिने समितिका अध्यक्ष गोपालदास बैरागीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्