Logo
|
Tuesday 26th November 2024
Logo

epaper

गुलरियाः जहाँ चिकित्सक भेटिन्न



यहाँ रातको समयमा उपचारका लागि अस्पताल आउने बिरामीलाई नेपालगन्ज पठाइने गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा बिरामीको संख्या बढ्दै गए पनि जिल्ला अस्पतालमा चौबीसै घण्टा चिकित्सक भेटिँदैनन् । प्रयोगशालासमेत खुला नहुँदा रातको समयमा उपचारका लागि नेपालगन्ज लैजानुपर्ने बाध्यता छ । बाढी प्रभावित क्षेत्रमा भाइरल ज्वरो, रुघाखोकीलगायत बिरामी बढ्दै गए पनि जिल्ला अस्पतालमा पर्याप्त चिकित्सक नहुँदा उपचारमा समस्या भइरहेको स्थानीयवासीको गुनासो छ ।

बाढीपछि बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा दैनिक १५० बढी बिरामी उपचारका लागि बहिरंग सेवामा आउने गरेको डा रञ्जन थपलियाले बताउनुभयो ।

पचास श्ययाको अस्पतालमा दैनिक ५० भन्दा बढी बिरामी आकष्मिक सेवामा उपचारका लागि आउने गरेका छन् । त्यहाँ खटिने स्वास्थ्यकर्मी पनि प्रायः नभेटिने गरेको गुनासो बिरामीको छ ।

अस्पतालमा एक वर्षदेखि एनालाइजर उपकरणको सुविधा भए पनि सेवा दिन सकिएकों छैन । एनालाइजर मेसिनमार्फत कलेजो, मिर्गाैला र मधुमेहलगायत रोगको रगत परीक्षण हुने भए पनि चौबीसै घण्टा सुविधा उपलब्ध नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालले चौबीसै घण्टा औषधालय सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको बताउँदै आएको छ ।

विशेषज्ञसहित १४ चिकित्सकको दरबन्दी भए पनि छ मात्र कार्यरत छन् । अस्पताल विकास समितिले दुई वर्षदेखि करारमा स्वास्थ्य सहायक, स्टाफ नर्स र प्रयोगशाला प्राविधिक गरी १८ जनालाई राखेको छ । समितिले करार सेवाका ती कर्मचारीलाई मासिक करिब रु दुई लाख तलबभत्ता दिँदै आएको छ ।

प्राविधिकतर्फका ती कर्मचारीलाई औषधालय र प्रयोगशालामा पालोअनुसार खटाउने भनिए पनि दुवै सेवा उपलब्ध नहुँदा बिरामीलाई सास्ती छ । विकास समिति अध्यक्ष दुर्गा सापकोटाले केही यन्त्र बिग्रिएकाले उपचारमा समस्या भएको स्वीकार गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्