Logo
|
Tuesday 16th April 2024
Logo

epaper

निःशुल्क पाइने औषधिको अभाव



नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको बिरामीका लागि अति आवश्यक औषधि नुुवाकोटको स्वास्थ्य संस्थामा अभाव भएको छ ।

स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य कार्यालयबाट गएको वर्ष मागअनुसारको बजेट र औषधि नपठाएको र यस वर्ष पनि ढिलाइ गरेपछि बिरामीलाई निःशुल्क उपलब्ध गराइने औषधि विभिन्न स्वास्थ्य चौकीमा अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो ।

“मौजुदा औषधि सकिएकाले वितरणमा समस्या आएको छ ।” उहाँले भन्नुभयो, “तत्कालका लागि भिटामिन ‘बी’, ग्यास्ट्रिकविरुद्धको औषधि, विभिन्न रोगविरुद्धका एन्टिबायोटिक, टाइफाइडविरुद्धको सिप्रोलगायतका औषधि अभाव देखिएको हो ।”

औषधि उपलब्ध गराउन नसकिएपछि जिल्लाको त्रिशूली अस्पतालसहित तीन प्राथमिक स्वास्थ्य केन्द्र र ७१ स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध गराउने १५ भन्दा बढी प्रकारका औषधि अभाव भएको हो । मन्त्रालयले बजेट वा औषधि समयमा नपठाउँदा धेरै माग हुने सिटामोल, झाडापखालाविरुद्धको जीवनजल, निमोनिया बिरामीका लागि आवश्यक पर्ने औषधि पनि सीमित रहेकाले अति आवश्यक परेमा मात्र वितरण गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

“आवश्यक पर्ने औषधि अभाब भएकाले क्षेत्रीय कार्यालयमार्फत केन्द्रमा माग गरेका छाँै ।” स्वास्थ्य अधिकृत अधिकारीले भन्नुभयो, “कार्यालय सञ्चालनको लागि उपलब्ध बजेटबाट अति आवश्यक औषधि खरिदको तयारी गरेका छौँ ।”

सरकारले सर्वसाधारणका लागि अति आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेअनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ६७, प्रसूति गृहसहितका स्वास्थ्य चौकीमा ३८ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि उपलब्ध गराउँदै आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्