विश्व मुटु दिवस २०१७—‘स्वस्थ्य जीवनशैलीका अनुभव बाँडौ’
यस वर्षको नाराले मुटु जोगाउन जीवनशैली परिवर्तन गर्नुपर्ने सन्देश दिएको छ । पहाडतिर दाउरा प्रयोग गरेर घरमा खाना पकाउँदा हुने प्रदूषण र शहरतिर किशोर किशोरीदेखि सबैले अत्यधिक धूम्रपान सेवन गर्ने भएकाले नेपालमा ब्रोन्काइटिसको समस्या बढिरहेको छ । यसले मुटुलाई समस्या गर्ने भएकाले स्वस्थ खानपानमा ध्यान दिने, शारीरिक व्यायाम गर्ने, मानसिक तनाव कम गर्नु बुद्धिमानी हुन्छ । यसबाट मुटु बचाउन सकिन्छ भने क्यान्सरजन्य रोगबाट पनि बच्न सकिन्छ । मधुमेह, मस्तिष्कघात, उच्चरक्तचाप न्यूनिकरण गर्न सकिन्छ र मानिसको आयु बढ्न मद्धत गर्छ । त्यसैले हामीले मुटुुलाई शक्ति दिन सकेमा यसले हाम्रो जीवनलाई शक्ति दिन्छ ।
मुटुरोगको निदान र उपचार धेरै खर्चिलो छ । यो हाम्रो देश नेपालले धान्न धौ धौ पर्छ । परिवारका सदस्यलाई मुटुरोग लागेमा आर्थिक अवस्था नै नाजुक बनाइदिन सक्छ । त्यसैले रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो ।
मुटुको कार्य
मुटु शरीरभित्र रहेको मांशपेशीय मुख्य अंग हो । मुटुले रगत पम्प गरेर शरीरका हरेक तन्तु र कोषमा अक्सिजन र पोषण तत्व पु¥याउँछ । यसैगरी मुटुमा पुगेको अशुद्ध रगत मुटुले पम्प गरेर फोक्सोको रगत सफा गर्ने क्यापिलरीमा पठाइदिन्छ । यहाँ अक्सिनेसन हुन्छ । रगतमा अक्सिजनको मात्रा बढ्छ । कार्वडाइअक्साइडको मात्रा फालिन्छ । रगत शुद्ध भएपछि आर्टरीले मुटुको देव्रेपटीको भागबाट एओर्टा नामक ठूलो नशाबाट पम्प गरेर शरीरभर रगत पठाउँछ । मुटुमा भएका अटोमेटिक सिस्टमले मुटु चल्छ । मुटुको आफ्नै अटोमेटिक सिस्टमले इलेक्ट्रिकल इम्पल्सन तयार गर्छ । मुटुको देव्रेपटीको माथिको भागमा पेशमेकर हुन्छ । त्यहाँ साइनस नोड हुन्छ । त्यहीबाट करेन्ट निस्कन्छ । त्यो करेन्ट तल सरेर आएपछि मुटु खुम्चिन्छ । यो कार्य निरन्तर भइरहन्छ । यसरी मुटुलाई खुम्च्याउने काम अटोमेटिक भइरहेको हुन्छ र शरीरमा रक्तसञ्चार आफ्नै गतिमा हुन्छ । त्यसैले मुटुको पम्प गर्ने क्षमता राम्रो चाहिन्छ । पम्प गर्न मांसपेशी बलियो हुनुपर्छ । मांसपेशी बलियो बनाउन आपूर्ति बलियो हुनु पर्छ । खुम्चने सिस्टोलिक र फूल्ने डायस्टोलिक हो । डायस्टोलिकमा मुटुले आफूले रगत लिन्छ र सिस्टोलिकमा अरुलाई पठाउँछ । माथिको सिस्टोलिक र तलको डायस्टोलिक रक्तचाप हो ।
रक्तचाप माथिको भन्दा तल बढेमा खतरा के अर्थमा मानिन्छ ?
रक्तचाप दुवै बढ्नु हुँदैन । माथिको १३०–१४० ननघाउनु भनिन्छ भने तलको ९० बढाउनु हुँदैन । तलको रक्तचाप बढ्दा शरीरलाई धेरै क्षति पुग्ने भएकाले तलको रक्तचाप बढेम खतरा मानिएको हो ।
जन्मजात मुटुरोग
जन्मदा मुटुमा समस्या लिएर आउने जन्मजात मुटु रोग हो । आमाको गर्भभित्र यस किसिमको समस्या हुन्छ । जन्मजात मुटुरोगमा सामान्यत भल्वमा प्वाल हुन्छन् । कोहीकोहीमा एक ठाउँबाट निस्कनुपर्ने आर्टरी अर्को ठाउँबाट निस्किएको हुन्छ । यसलाई अंग्रेजीमा कन्जनाइटल हार्ट डिजीज भनिन्छ । यस किसिमको अधिकांश समस्यामा शल्यक्रियाबाट समस्या समाधान गरिन्छ । धेरैलाई बचाउन सकिन्छ । कोहीकोहीलाई अफ्ठ्यारो पर्नसक्छ ।
बाथ मुटुरोग
घाँटीमा हुने साधारण संक्रमणले मुटुको भल्वलाई बन्द (ड्यामेज) गरिदिने समस्यालाई बाथ मुटुरोग (¥युम्याटिक हार्ट डिजिज) भनिन्छ । भल्भ बन्द भएपछि मुटु फेलिएरमा जाने, मुटुले पम्प गर्न नसक्ने जस्ता समस्या देखिनसक्छन् । बेलैमा घाँटीको संक्रमण नियन्त्रण गर्ने र पेनिसिलिन औषधि दिनसके समस्या न्यूनिकरण गर्न सकिन्छ । विकसित देशमा बाथ मुटुरोग पाइँदैन । निर्मूल भइसकेको छ । नेपालमा अहिले पनि यस किसिमको समस्या पाइन्छ ।
हृदयघात
मुटुमा रगत आपूर्ति गर्ने कोरोनरी आर्टरी विभिन्न कारणले बाक्लिने र रक्तसञ्चार कम हुँदै बन्द भएपछि हृदयघात हुन्छ । आर्टरीले रगत आपूर्ति गर्न नसकेर बन्द भएपछि रगत आपूर्ति हुन नसकेको मुटुको कुनै भाग मर्छ । यसलाई निक्रोसिस अर्थात् मायोकाली इन्फाक्सन भनिन्छ । रगत पठाउने मुख्य ठाउँ मरेमा व्यक्तिको तत्काल मृत्यु हुन्छ भने शाखामा भएमा अस्पताल पु¥याएर बचाउन सकिन्छ । यसको कुनै ठेगान हुँदैन । बाइपास वा एन्जियोप्लास्टीबाट तत्काल नसा खोलेर उपचार सेवा दिन सकेमा हृदयघात भएका बिरामी बचाउन सकिन्छ । यो मुटुको डरलाग्दो रोग हो । यसले एकछिनमा मानिसलाई मार्न सक्छ ।
धूम्रपानले चाँडै आर्टरी साँघुरिन सक्छ र बन्द हुने संभावना पनि बढ्छ । कार्वोहाइट्रेड पाइने खाना धेरै खाएर मोटाएमा आर्टरी बन्द हुनसक्छ । त्यसैले चिनी र भातको मात्रा कम गर्नुपर्छ । क्यालोरी भएका खानाले मोटाइन्छ । शारीरिक ब्यायामको कमी अएमा आर्टरी बन्द हुनसक्छ । नियमित व्यायाम गर्नाले खराब कोलेस्ट्रोल घट्छ र उपयोगी कोलेस्ट्रोल बढ्छ । आर्टरी बन्द गर्ने कोलेस्ट्रोल ब्यायामबाट कम गर्न सकिन्छ । धेरै रक्सी पिएमा मुटुलाई खराब बनाउन सक्छ । मानसिक तनावले पनि मुटुको समस्या बढाएको पाइएको छ ।
\
स्वस्थ्य स्कूल टिफिन
जंक फूडको सेवनले बालबालिकाहरुमा भविष्यमा मुटु रोग हुने सम्भावना धेरै बढाइरहेको छ । मुटुरोग बच्चादेखि नै रक्तनलीमा कोलेस्ट्रोल जम्मा भएर देखिने समस्या हो । त्यसैले अभिभावकले बालबालिकालाई टिफिन (दिउँसोको खाजा) घरमा बनाएको साग र सुख्खा रोटी पठाउन सके त्यो भन्दा राम्रो स्वच्छ खाजा अरु हुन सक्दैन । त्यसैले अभिभावकले पनि जंक फूड नखाने, चिल्लो मासु धेरै प्रयोग गर्नुहुँदैन ।सागपात सेवनमा बढी जोड दिनुपर्छ ।
कोरोनरी हार्ट डिजीज
विभिन्न कारणले मुटुमा रगत जाने आर्टरी साँघुरिएर वा बन्द हुने समस्यालाई कोरोनरी हार्ट डिजिज भनिन्छ । आर्टरी बन्द भएर मुटुमा रगत आपूर्ति नभएपछि मुटुको निश्चित भागको मासु मर्छ । कोरोनरी भित्र रगत प्लाक बनेर आर्टरी तत्काल थुनिन पनि सक्छ ।
भल्भुवल हार्ट डिजीज
यसलाई ¥युम्याटिक हार्ट डिजीज पनि भनिन्छ । घाँटीको संक्रमणले मुटुका भल्भ बिग्रन्छ ।
कन्जनाइटल हार्ट डिजीज
यो जन्मजात मुटु रोग हो । यसलाई शल्यक्रिया भन्दा अर्को विकल्प हुँदैन ।
इन्फ्लामेटरी हार्ट डिजीज
यो मुटुको मांशपेशीमा हुने समस्या हो । यस किसिमको समस्या ब्याक्टेरिया आदिका कारण हुन्छ । नेपालमा क्षयरोगका कारण इनफ्लामेटरी हार्ट डिजीज हुने गरेको पाइएको छ । क्षयरोगको किटाण्ुले मुटुको बाहिरी मांसपेशी पेरिकार्डियामलाई प्रभाव गरिदिन्छ र त्यसमा पानी जम्छ । यसलाई एन्टिबायोटिकले निको पार्न सकिन्छ ।
डायलेटेड कार्डियोमायोप्याथी
यो विभिन्न कारणले मुटु सुन्निने समस्या हो । यो मुटु को अन्तिम अवस्था हो । धेरै रक्सी पिउनेमा यस किसिमको समस्या देखिनसक्छ । रक्सीले मुटुमा सोझै असर पार्छ र मुटु सुन्निन थाल्छ । यसका साथै भाल्भुलर हार्ट डिजीजका कारण भल्भहरुले काम गर्न नसक्ने, औषधिले काम नगर्ने, अवस्थामा मुटु सुन्निदै जान्छ र मुटु डाइलेटेड कार्डियोमायोप्याथीमा पुग्छ । एकपटक हृृदयघात भएर एन्जियोप्लास्टी गरेर औषधि दिइरहेको अवस्थामा रक्तसञ्चार हुन नसकेमा मुटु डायलेटेड कार्डियोमायोप्याथीमा पुग्नसक्छ । यस्तो अवस्थामा मुटु प्रत्यारोपणको विकल्प हुँदैन ।
हाइपट्रोफिक हार्ट डिजीज
यो मुटुभित्रको मांसपेशी सुन्निने समस्या हो । ब्लडप्रेशर नियन्त्रण नहुँदा मुटुले जोडले काम गर्छ र मुटु भित्रको माुंसपेशी फूलेर आउँछ । मुटुको देब्रेपटीको सबै भन्दा ठूलो रगत पठाउने पम्प एओर्टाको मुख खुम्चिएमा मुटुले रगत पठाउन जोड गर्नुपर्छ अनि मुटु सुन्निछ । इडियोप्याथिक हाइपट्रोफिक मायोप्याथीको कारण थाहा हुँदैन ।
रिस्ट्रिक्टिभ हार्ट डिजीज
मुटुको खुम्चिने र फुक्ने प्रक्रियामा मुटुको फुक्न सक्ने क्षमता कम हुनुलाई रिस्ट्रिक्टिभ हार्ट डिजीज भनिन्छ । मुटुको बाहिरबाट केही चिजले थिचेको जस्तो हुने र मुटु सामान्य गतिमा फुक्न नसक्ने अवस्था रिस्ट्रिक्टिभ हार्ट डिजीज हो । यो मुटु खुम्चिएर बसेको अवस्था हो । मुटुको बाहिरी मांसपेशी पेरीकार्डियाममा रोग लागेमा यस किसिमको समस्या हुनसक्छ ।